ताजा अपडेट »

भारतमा कोरोना संक्रमितको संख्या २९ हजार भन्दा बढी

मंगलबार, १६ बैशाख २०७७

काठमाडौ । भारतमा कोरोना संक्रमितको संख्या २९ हजार ४ सय ३५ पुगेको मंगलबार जनाइएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५ सय ४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

मंगलबार बिहानको तथ्यांकअनुसार कोरोना संक्रमितहरूको संख्या २९ हजार ४ सय ३५ पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घण्टायता मृत्यु हुनेको संख्या ६२ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९ सय ३४ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ६ हजार ८ सय ६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २१ हजार ६ सय ३२ कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उल्लेख गरेको छ । मंगलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ८ हजार ५ सय ९० जना पुगेको उक्त मन्त्रालय जनाएको छ । यसैबीच महाराष्ट्रमा ३ सय ६९ जनाको निधन भएको छ । संक्रमित मध्ये १ हजार २ सय ८२ जना भने निको भएका छन् ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको छ । मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार गुजरातमा ३ हजार ५ सय ४८ सक्रमित रहेका छन् । संक्रमित मध्ये २ सय ९४ जना निको भएका छन् भने १ सय ६२ जनाको भने मृत्यु भएको छ । त्यस्तैगरी दिल्लीमा ३ हजार १ सय ८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५४ को ज्यान गएको छ । यसैबीच ८ सय ७७ जना उपचारपछि घर फर्किएको समाचारमा जनाइएको छ ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ संक्रमित थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरी सकेको छ । -रासस/एएनआई