भनिन्छ,प्रत्येक मानिसले जन्मदै एउटा विशेष क्षमता लिएर आएको हुन्छ । जुन ब्यक्तिले आफ्नो क्षमता पहिचान गरेर त्यसमा निरन्तर लागिरहन्छ उसले सोँचेको सफलता हाँसिल गर्दछ । जीवनमा सफलता प्राप्त गर्नको लागि ब्यक्तिले आफ्नो खास क्षमता थाहा पाउनु पर्दछ । बालबालिकाले आफ्नो क्षमता आफै चिन्न सक्दैनन् । यदि बाबुआमा वा शिक्षकले उनीहरुको क्रियाकलाप राम्रोसँग नियाल्ने हो भने उनीहरुको वास्तविक जन्मसिद्ध क्षमताको पहिचान हुन्छ । त्यसैले बच्चामा अन्तर्र्नििहत क्षमता पहिचान गरी उनीहरुलाई अबगत गराउने काम बाबुआमा वा शिक्षकले गर्नुपर्दछ ।
केहि बच्चाहरुको एउटा समुहलाई बिभिन्न विधाका ज्ञानहरु सिकाउन खोज्यौं भने प्रत्येक बच्चामा सिक्न सक्ने क्षमता फरक फरक पाइन्छ । ती बच्चाहरु मध्ये कोहि गणित सजिलै सिक्छन् त कोहि बिज्ञान । कोहि नृत्य सजिलै सिक्छन् त कोहि गायन । कोहि कविता सजिलै लेख्न सक्छन् त कोहि चित्र कोर्न सजिलै सिक्छन् । बच्चा जुन क्षेत्रमा राम्रो हुन्छ त्यो क्षेत्रमा सफलता पाउनको लागि उसले अनवरत अभ्यास गर्नुपर्दछ । यसको लागि यथेष्ट समय चाहिन्छ । निरन्तर अभ्यासले बच्चाको सिर्जनात्मक शक्तिलाई बढाउँछ । जस्तो गणितमा राम्रो विद्यार्थीले उक्त बिषयमा उच्च अंक ल्याउनको लागि निरन्तर अभ्यास गर्नुपर्दछ । निरन्तर अभ्यासले बच्चाको सिर्जनात्मक क्षमता बृद्धि भई एउटा हिसाब समाधान गर्न उसले एक भन्दा धेरै विधि पत्ता लगाउन सक्छ । यसबाट के प्रष्ट हुन्छ भने आफुलाई सजिलो लाग्ने बिषयमा पनि कडा मेहनत बिना सफलता हाँसिल गर्न सकिदैंन । राम्रो नतिजा हाँसिल गर्न सकिदैंन ।
मानिस जुन घरपरिवारमा जन्मन्छ त्यो उसको लागि पहिलो पाठशाला हुन्छ । घरमा उसले खान , बोल्न , हिंड्न , हाँस्न , खेल्न आदि सिक्दछ । वर्तमान परिपेक्षमा नेपालको सन्दर्भलाई लिने हो भने सामान्यतया ढाई देखि तीन बर्षको बच्चालाई पढ्नको लागि विद्यालय पठाइन्छ । वास्तवमा यो उमेर समूहका बच्चा राम्रोसँग बोल्न , आफै खाना खान , शौचालय जान जानिसकेका हुँदैनन् । वास्तवमा यो उमेर पढ्न भनेर विद्यालय जाने उमेर होइन । यस्ता अबोध बालबालिकालाई पढ्नको लागि विद्यालय पठाउनु पक्कै पनि राम्रो होइन तर अब नेपालमा यस्तो भइसक्योकी कुनै पनि अभिभावक उमेर पुगेको छैन भनि बच्चालाई स्कूल नपठाई घरमा राख्न सक्दैनन् । सामाजिक दबाबले उनीहरुलाई यसो गर्न बाध्य पार्दछ । यति सानो उमेरको बच्चा स्कूल जाने मात्र होइन उसले त्यहाँ मन लागे पनि नलागे पनि पढ्नै पर्दछ ।
शिक्षकले दिएको कक्षाकार्य , गृहकार्य पूरा गर्नैपर्दछ । शिक्षकले भने बमोजिम पाठ कण्ठ गर्नुपर्दछ । जसले गर्दा सानो उमेरदेखि नै बच्चाले स्वतन्त्र भएर पढ्न पाउंदैन । सिक्न पाउंदैन । यसको साथै नेपालको सन्दर्भमा भन्ने हो भने बच्चाले आफूूले इच्छा गरेको तथा मन पर्ने विषयमात्र पढ्न पाउँदैन । उसले विभिन्न विषयहरु पढ्नुपर्दछ । बच्चा स्कूल समयमा स्कूलमा पढ़दछ अनि घरमा शिक्षकले दिएको गृहकार्य गर्न व्यस्त हुँदा उसले खाली समय पाउँदैन । ऊ स्वतन्त्र भएर केहि कुरा सोँच्न पाउंदैन । यसले प्रत्येक बच्चामा अन्तर्नि्हित सिर्जनात्मक क्षमतालाई ओझेलमा पारेको छ किनकि सिर्जनात्मक कार्यको लागि समय चाहिन्छ । बच्चाले कुनै सिर्जनात्मक काम गर्न आफूलाई भित्रैदेखि मन लागेको विषयमा सोँच्न , अभ्यास गर्न , दिमाग मन्थन गर्नको लागि उसलाई मनग्गे समय चाहिन्छ । तर,बिडम्बना हाम्रा बच्चाले सिर्जनात्मक कार्यको लागि यथेष्ट समय पाउँदैनन् ।
सिर्जनात्मक कार्य भनेको व्यवहारिक शिक्षाको उपज हो जसको अभाव अहिले नेपाली समाजमा खड्किएको छ । यदि बच्चालाई सिर्जनात्मक कार्यको लागि यथेष्ट समय दिइयोभने उनीहरुले परिक्षामा राम्रो नम्बर ल्याउन सक्दैनन् । किनभने परिक्षामा सैद्धान्तिक ज्ञानलाई जोड दिएर प्रश्न सोधिन्छ । प्रश्नपत्रमा व्यवहारिक ज्ञानलाई उपेक्षा गरिन्छ । जुन बच्चाले परिक्षामा राम्रो नम्बर ल्याउन सक्दैन उसले विद्यालय , समाज तथा घरपरिवारबाट कमजोर विद्यार्थीको दर्जा पाउँदछ । जसले राम्रो नम्बर ल्याएर पास गर्छ ऊ अब्बल दर्जाको विद्यार्थी कहलिन्छ । उसैलाई सम्मान गरिन्छ । ऊ मात्र होइन उसको बाबुआमा पनि समाजमा गर्वको साथ छाती चौडा गराई हिंड्न सक्छन । तर , आफ्नो छोराछोरीले कुनै सिर्जनात्मक कार्यमा ( जस्तै : कविता लेखन , निबन्ध लेखन , चित्रकला , विज्ञान तथा प्रबिधि सम्बन्धी बिभिन्न प्रयोगात्मक क्रियाकलाप , नृत्य , गायन , बादबिबाद आदि ) सफलता हाँसिल गरेका छन् भने त्यो सफलतालाई उनीहरु रटेर अंक ल्याउने पढाइको तुलनामा गौण ठान्दछन् अनि भन्छन् यसमा राम्रो भएर के गर्नु पढाइमा राम्रो छैन , रिजल्ट राम्रो छैन , यसले भविष्यमा दुःख पाउँनेभयो भन्दै बच्चाको पढाइ प्रति मात्र चिन्तित हुन्छन् ।
पढाई प्रति ध्यान केन्द्रित गर्नको लागि बच्चालाई चौतर्फी दबाब दिन्छन् । बच्चाको रुची र क्षमताको बेवास्ता गर्दै अभिभावकहरु जसरी भए पनि आफ्ना छोराछोरीले राम्रो पढून , राम्रो नम्बर ल्याउन भन्ने चाहन्छन् । पढाइ राम्रो गर्नको लागि उनीहरु जति पैसा खर्च गर्न पनि तयार हुन्छन् । हाम्रो नेपाली समाजमा बाबुआमाले कमाएको पैसा शिक्षा र स्वास्थ्यमा बढी खर्च भएको देखिन्छ । यद्दपि सरकार भने शिक्षा तथा स्वास्थ्यलाई निःशुल्क गराउने अभियानमा डटेर लागिरहेको बताउँदछ । यो तितो यथार्थ हो ।
विद्यालयमा सैद्धान्तिक ज्ञानलाई जोड दिए पनि सिर्जनात्मक कार्यलाइ बढावा दिने खालका अतिरिक्त क्रियाकलाप नगराइएको स्थिति भने होइन । तर, प्राय धेरैजसो विद्यालयमा अभ्यास नै नगराई अतिरिक्त क्रियाकलापका विभिन्न विधामा विद्यार्थीलाई सिधै प्रतियोगितामा सामेल गरिन्छ । कुनै एक विधामा रुचि राख्ने विद्यार्थी वर्षको एक पटक आफ्नो क्षमता प्रस्तुत गर्न पाउँछ तर तयारीको लागि समय नै पाउँदैन भन्दा अतियुक्ति नहोला । त्यसपछि ऊ निरन्तर शिक्षक, घरपरिवारको इशारामा चाहेर नचाहेर शिक्षक तथा घरपरिवारलाई खुशी बनाउनको खातिर पढाई (सैदान्तिक ज्ञान) केन्द्रित क्रियाकलापमा व्यस्त हुनुपर्दछ । यो हाम्रो समाजले सिर्जना गरेको बाध्यात्मक परिस्थिति हो । विद्यालयमा पढाई र घरमा शिक्षकले दिएको गृहकार्य गर्दा बच्चालाई फुर्सद नै हुदैंन । गृहकार्य गर्दा किताबको हुबहु सार्ने , शिक्षकले दिएको नोटबाट लेख्ने , सहयोगी किताबबाट लेख्ने प्रवृत्ति बढ्दो छ । गृहकार्य धेरै हुँदा यस्तो बाध्यात्मक परिस्थिति सिर्जना भएको देखिन्छ । यसले उनीहरुको सिर्जनात्मक क्षमतालाई क्षिण बनाउंदै लगेको छ । गृहकार्य त सोंचेर गर्न नसक्ने स्थितिमा उसले आफुलाई चाहना भएको विधामा समय दिन पाउने कुरै भएन ।
वास्तवमा नेपालमा सैद्धान्तिक ज्ञानलाई बढी केन्द्रित गर्ने गरी हुने पढाई लेखाइले व्यवहारिक शिक्षा छाँयामा परेको छ । सृजनशीलता छाँयामा परेको छ । यो यथार्थ हो । हामीकहाँ जसले बढी घोक्नसक्यो , किताबको हुबहु भन्नसक्यो, लेख्नसक्यो परिक्षामा उसैको नतिजा राम्रो आउँछ । सैद्धान्तिक ज्ञानमा जो राम्रो छ प्रयोगात्मक मूल्यांकनमा पनि उसैलाई राम्रो अंक दिइन्छ । यसले विद्यार्थीलाई किताबी किरो बन्न प्रेरित गरेको छ । अहिलेको यो बिश्वब्यापिकरणको जमानामा प्रतिस्प्रधात्मक क्षमता भएका दक्ष जनशक्ति उत्पादन गर्न किताबी किरो बन्न प्रेरित गर्ने नेपालको शिक्षा बाधक भएको छ । अब हामीले विद्यार्थीको मुल्यांकन गर्ने पद्दति परिवर्तन गर्नुपर्दछ । सैद्धान्तिक ज्ञान संगसंगै व्यवहारिक ज्ञानलाई पनि ब्यवस्थित रुपले मूल्यांकनको आधार बनाउनुपर्दछ । यसो भयो भने हाम्रा विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि हुनेछ र देश राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरकै प्रतिष्प्रधी क्षमता भएका दक्ष जनशक्ति उत्पादन गर्न सफल हुनेछ ।
प्रतिक्रिया