ताजा अपडेट »

कोभिड–१९ : युद्ध जस्तै भयानक

सोमबार, १५ बैशाख २०७७

संसारलाई तहस–नहस पार्ने कोरोना भाइरस (कोभिड–१९) लाई दोस्रो विश्वयुद्ध पछि भयानक भनिएको छ । यसले संसारभर डर,त्रास श्रृजना गरेको छ । मानिसहरुमा यसको आक्रमण र मृत्यु अहिले तीब्रगतीमा अगाडि बढेको छ । जुन युद्धको बेलामा हुने गरेको हुन्छ । यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका शक्ति राष्ट्रहरु पनि अलमलिएका छन् । उनीहरुका प्रतिरोधक इलेक्ट्रोनहरुलाई समेत कोभिड–१९ लाई परास्त गर्न गाह्रो भएको छ । यसको रोकथाम भनेको संकटकाल र लकडाउन मात्र उत्तम विकल्पको रुपमा परिभाषित गरिएको छ । केही देशले संकटकाल र केहीले लकडाउनलाई पालना गरेका छन्।

यो संक्रमण चीन हुँदै अहिले यूरोप र पछिल्लो आक्रमणको केन्द्र अमेरिका बनेको छ । शक्ति र आणविक तथा जैविक हतियारले उन्माद अमेरिका पनि कोभिड–१९ को आक्रमणले थिलो–थिलो परेको देखिन्छ । संसारका आर्थिक वृद्धि दर उच्च भएका इटली , स्पेन र फ्रान्स समेत अहिले कोभिड–१९ को मुख्य निशानामा परेका छन् । आफ्नो देशमा जनताको सुरक्षा गर्न नसकेका शक्ति राष्ट्रहरुका नेतृत्वहरुलाई अहिले आफै माथि पनि कोभिड–१९को आक्रमणले सिद्धाउने त होइन भन्ने चिन्ता बढेको छ । आफ्नै सुरक्षाको डर त्रासमा रहेका महाशक्ति राष्ट्रका राष्ट्र प्रमुखहरु जनताको सुरक्षामा त स्वास्थ्यकर्मीहरु र भगवान भरोसामा छोडेका छन् ।

अमेरिका अहिले सबैभन्दा बढी आक्रान्त कोभिड–१९ को आक्रमणबाट भएको छ । चीनबाट सिधै युरोप हँुदै अमेरिकासम्म तीब्र रुपमा फैलिएको कोभिड–१९ले एशियन मुलुकमा भने अहिलेसम्म कम क्षति पुर्याएको छ । यसको आंशिक नियन्त्रण भएको देखिन्छ । एसियन मुलुकहरुले संकटकाल र बन्दाबन्दीलाई पूर्ण रुपमा पालन गर्दा कोभिड–१९ को गति सुस्त भएको अनुमान गरिएको छ । यसको मार बढी वृद्ध तथा अन्य रोगबाट ग्रस्त भएका मानिसहरुमा बढी देखिएको छ । यसले विश्वलाई मनोवैज्ञानिक रुपमा असर पुराएको छ । अर्थतन्त्र तहस–नहस पारेको छ । स्वास्थ्य क्षेत्रमा भएका प्रगति यसले गर्दा चिन्तामय बनाएको छ ।

राज्यको व्यवस्थापनमा डर र भय श्रृजना पुर्याउँदा भने जस्तो प्रगति अहिलेसम्म चीन बाहेकका देशहरुले गर्न सकेका छैनन् । अहिले संसारभर बेरोजगार बढ्दो छ । शिक्षा तथा प्राविधिक क्षेत्र समेत ठप्प रहेको छ । उद्योग तथा कल–कारखानाहरु बन्द रहेका छन् । भनौ, एकप्रकारले विश्व अहिले चुप लागेर बसेको छ । डर,त्रास र शंकामा रहेका देश मानिसहरुलाई भित्र बस्न र भिडभाड नगर्न मात्र भन्न सकेका छन्। एक व्यक्तिबाट अर्को व्यक्तिमा तीब्ररुपमा फैलिने कोभिड–१९ को संक्रमण रोक्नका लागि कुनै प्रकारको औषधी अहिलेसम्म तयार हुन सकेको छैन। यसको असर प्रभाव तथा क्षति कहिलेसम्म मानव जगतले बेर्होनु पर्ने हो , त्यसको कुनै लेखा जोखा नै गर्न सकिएको छैन।

यस्तो महामारीको बेलामा विश्व स्वास्थ्य संगठन जस्तो स्वास्थ्य क्षेत्रमा विश्वसनीय संस्थालाई दोष थुपारेर अमेरिका अगाडि बढ्न खोज्दा झन् बढी क्षति उसले बेहोरिरहेको छ । नेपालमा पनि आफैले गर्छु भन्ने सोचको परित्याग गरी हामी सबै एक ठाउँमा आएर संकटको घडीमा अगाडि बढ्नु पर्दछ । चेतना भया । हामी नेपालीहरुको संकल्प पनि यही हो ।