ताजा अपडेट »

अन्तिम इच्छा !

आइतबार, १४ बैशाख २०७७

( वैदेशिक रोजगारमा पोर्चुगल पुगेका एक नेपालीको कारुणिक पीडा)

माथिल्लो तलमा बसेका डाक्टरसँग स्वास्थ्य परीक्षण गर्न पुगें । त्यतिञ्जेल खासै केही लागेको थिएन । एक्कासी डाक्टरले मेरो रिपोर्ट हेरेर भने–यस्तो अवस्थामा तिमी हिडेरै यहाँ आउन सक्यौ ? त्यसपछि मेरो हंशले ठाउँ नै छोड्यो । म टाउको समाएर थचक्क भूइँमा बसें । मेरो स्वास्थ्य अवस्था देखेर डाक्टरले भर्ना हुने भने । धेरैपछि व्यूँतिदा म अस्पतालको बेड मै थिएँ । कताकता मृत्युले छोडेर गएको जस्तो भो मलाई । म परदेश पुगेको एक वर्षपछि मलाई रोगले समातेको थियो । डाक्टरको रिपोर्टपछि त मैले मेरा अघि पृथ्वी घुमे जस्तै मानेको थिएँ ।

म अहिले पोर्चुगल छु । लकडाउनका कारण यहाँ पनि विकराल समस्या छ । परदेश आएको मान्छे कमाइ गरी खानुपर्ने बाध्यता छ । भाइ र गाउँले आफन्तीहरु त छन् यहाँ तर अर्काको देशमा कहाँ नेपालमा जस्तो हुँदो रहेछ र ? विरामीका लागि कोरोना झन खतरानाक हुन्छ । मेरा लागि यो झन् संकटको अवस्था छ । पहिलो संकट आफूभित्रै भएको रोग र दोस्रो भनेको विश्वभरि फैलिएको महामारी कोरोना ।

यतिबेला मलाई अति नै पीडा भएको छ । सामाजिक सञ्जालमा आउन पनि मन लागेको छैन । एकोहोरो रोगले क्षीण बनाइरहेको छ । नेपालमा रहेका घरपरिवार सम्झिएको छु । आफन्ती सम्झिएको छु । आफ्नै रोगको कारण आँसु र एकान्त मन पर्छ अचेल । बाथरुममा बसेर कोशी र कर्णाली बगाएको छु ।यतिबेला मेरै प्यारो देश सम्झिएको छु । आफ्नै गाउँबस्ती डुलेका यादहरु आँखामा नाचिरहेका छन् । गाउँकै सामुदायिक विद्यालयबाट एसएलसी पास गर्दाका क्षण,सर,मेडम, साथीहरु झलझलि सम्झिरहेको छु । एसएलसी पास भएपछि बुटवल झरेको थिएँ । गाउँको मान्छे सहरमा पढ्न त्यति सजिलो थिएन । तैपनि जेनतेन आइए पहिलो वर्षसम्म बुटवल बहुमुखी क्याम्पसमा पढें ।

साथीहरुसँगै रमाइलो गर्दै पढ्दाका कुरा सम्झिदा भक्कानो छोडेर रुन मन लाग्छ । सिद्धबाबाको पहिरोलोलाई नै भत्काइ दिउँ कि झैं लाग्छ चिच्चाएर रुँदै । गाउँका साथीहरुसँग सहरमा पढदाका सुख/दुख गाउँकै घट्ट घुमे झैं मनमा फनन घुमिरहेका छन् । आइए पहिलो वर्षसम्म पढ्दाको सम्झना किन किन धेरै आउँछ । आइए पहिलो वर्षको रिजल्ट आउँदा आफ्ना साथीहरु पास हुँदा र म फेल हुँदाको क्षण अझै धेरै सम्झना आउँछ । आर्थिक अभावको कारण आइए दोस्रो वर्षको पढाई पूरा गर्न सकिन ।

त्योबेलाको एउटा रमाईलो प्रसंग कहाँ बिर्सेको छु र ? भ्यालेन्टाइन डेको दिन एउटी साथीले मलाई गुलावको फूल दिएको अनि मैले अस्वीकार गरिदिएको कुरा ? अहिले त्यो मेरो व्यवहार आफैलाई तीतो लाग्छ । मैले कति मन दुखाएँ उनको । त्यस्तै मेरो मन शरीरभित्रको रोगले दुखाएको छ । न मलाई ती महिला साथीले र मृत्युले अहिले दिन सक्छन् क्षमा ? खासमा मैले उनी सहरिया नानीको गुलाव स्वीकार नगुर्नको कारण मप्रतिको गाउँले ह्याङ्ग र गाउँकै महिला साथीसँगको अघोषित एकतफी प्रेम नै थियो ।

मलाई लाहुरे हुने मन अति नै थियो । खास मलाई ब्रिटिसको लाहुरे हुने हुटहुटी थियो । लाहुरे हुन कहाँ पुगिन छाती नाप्न ? कहाँ गइन् दौडिन ? कहीं पुगेर पनि लाहुरे हुन सकिन । भाग्यमा लाहुरे हुन रैन्छ भनेर प्रेम विहे गरें । विहे गरेपनि देशमा बस्ने अवस्था रहेन । परिवारको सुखलाई कतारको सेकुरिटी गार्ड बनेर १० वर्षसम्म धानें । तैपनि लाहुरे हुने सपना मनमा छँदैथियो । नेपालमा हामी जस्तालाई बस्न खाने र परिवार पाल्ने कुनै रोजगारी हुन्थ्यो भने विदेशमा यति धेरै दुःख गर्न को पो आउँथ्यो होला र ? यहाँ त पैसाको कुनै रुख भेटिन मैले । दुःखको महासागरमा जीवनको पौडी खेली रहेको छु ।

त्यसपछि पोर्चुगलको भीजामा काम गर्न गएपछि फ्रेन्च आर्मीमा भर्ति हुन पाइन्छ भनेर ऋणधन गरेर आठ लाख खर्चिएँ । तर पोल्याण्डहुँदै पोर्चुगल आइपुगें । महिनामा ७० हजारजति कमाइ हुन्छ । फूलबारीमा गोडमेल गर्ने काम पाइयो । फूलबारीमा फुलेका फूलहरु देखेर भएपनि मन भुलाउँछु । यहाँको सरकारले बीमाका कारण सबैको स्वास्थ्यमा ध्यान पुराउँछ । आम्दानीभन्दा खर्च गर्न अनुमति छैन । सरकारलाई ट्याक्स नियमित तिर्नुपर्छ र सरकारसँग सबै नागरिकको तथ्यांक हुने गर्छ ।

सन् २०१९ अगष्टतिर नेपालमा आएको थिएँ तर उपचारका सम्भव भएन । उपचारका क्रममा नेपालमा छ महिना जति बसें । सम्भव नभएपछि सन् २०२० को जनवरीमा परिवारको सल्लाहमा फेरि यहीं पोर्चुगल आइपुगेको हुँ । म अब मेरो आन्तरिक रोगको कारण धेरै बाँच्दिन होला । सन्तानका अनुहार आँखामा नाचिरहन्छन् ,हाँसिरहन्छन् । बाबाआमालाई स्याहार सुसार गर्ने बेलामा यो संसारमा म हुन्न हुँला ? श्रीमती र सन्तानले मेरो श्वास र लास पाउन मुस्किल हुन्छ कि लाग्छ ?

तैपनि मेरो एउटै रहर छ अब मेरै देशमा मर्ने र तिलोत्तमा नपा र बुटवलको सीमामा रहेको मगरघाटमा जल्ने । खोई ! लकडाउन नखुलेकै कारण कुनैपनि किसिमका उडान हुन सकेका छैनन् । उडान बन्दै रहयो भने मेरो त्यो मेरो इच्छा पूरा हुने छैन । अब त त्यो इच्छा पूरा नहुने मानेको छु । लकडाउन खोलुञ्जेलसम्म त म पनि यो संसार छाडिसकेको हुन्छु होला । मेरा बाबाआमाले र जहान केटाकेटीले मेरो लासबाट उडेको धूँवा देख्ने छैनन् । मेरो लासमा घोप्टो परेर कोही रुने छैनन् । शंख बज्ने छैन एकोहोरो ।

बाँच्ने जीजीवीषामा अहिले नियमित स्वास्थ्य परीक्षण र उपचारमा छु । सुरुमा साप्रा,घाँटीहुँदै अहिले हातबाट सूई घुसाएर मेरो डायलासीस हुँदैछ । सायद अन्तिम चरणको हुन सक्छ भन्दैछन् डाक्टरहरु । कसैले मिर्गौला दिन्छन् कि भन्ने लाग्छ तर दिदैंनन् । संसार स्वार्थीको हो जस्तो लाग्छ घरिघरि ! मिर्गौला दिने भनेका साथीहरुका पनि मिर्गौला नमिलेर समस्या परेको छ । मिर्गौला दिने भनेकाले समेत पछिल्लो समयमा खोइ ! किन दिन रुचाएनन् ? ओरालो लागेको मृगलाई त बाच्छाले समेत खेद्छ भन्थे हो रहेछ झैं लाग्छ ! उमेरले ३३ पुगें तर आफ्नै जिन्दगी अहिले आफैलाई बोझ लाग्दैछ । जति बाँच्छु हाँसेरै बाँच्छु र खुसीले बाँच्छु भन्छु तर मन त हो कहाँ मान्छ र ? आँखामा अतीत तस्वीर बनेर आउँछ र मृत्युले आफैलाई गिजाए जस्तै लाग्छ ।

यहाँ पोर्चुगलमा मिर्गौला डोनेसन सामान्य मानिन्छ तर नेपालमा सारै दुःख हुँदो रहेछ कागाजात नै मिलाउन । बाबाले मिर्गौला दिने भनेतापनि उच्च रक्तचापको कारण सम्भव भएन । त्यही कारणले यहाँ व्यवस्थापन गरिएको मिर्गौला समेत नेपालमा जाँदा गुम्यो । मैले नपाएपनि मजस्ताले नै पाए नि भनेर चित्त बुझाएँ । मिल्ने मिर्गौला नै पाइएला जस्तो लाग्दैन तर मिल्ने खालको पाएमा आफू सक्दो रकम खर्चिने थिएँ । -पूर्ण सिंजापति,हाल पोर्चुगल