ताजा अपडेट »

ध्यू कहाँ पोखियो !

विहीबार, ११ बैशाख २०७७

(लकडाउन,लोकतन्त्र र लोभी–पापी )


लकडाउन लागू भएको पनि आज ठ्याक्कै महिना दिन पुग्यो । सरकारले ११ चैत्र २०७६ मा लकडाउनको पहिलो चरण घोषणा गरेको थियो । अहिले हामी चौंथो चरणमा छौं । अझै कति लम्बिन्छ कुनै ज्षोतिषीले भन्न सकेका छैनन् । वैज्ञानिकहरु त यसै हावाकावा खाएका बेला उनीहरुले भन्ने कुरो भएन । लकडाउन हामीहरुका लागि नौलो सुनुवाइ भएपनि पहिले पहिले पनि नेपालका सीमित जिल्लामा महामारी फैलिदा लागेको थियो भनेर कायाकैरनले समाचारमा भनेपछि मैले थाहा पाएको हुँ ।

नेपाल त प्रयोग हुने थलो हो भन्ने लाग्छ । कहिले शब्दको प्रयोग,कहिले अवस्थाको प्रयोग,कहिले ओखती वा खोपको प्रयोग । व्यवस्थामा समेत प्रयोग भएको पाइन्छ । कहिले दरबार,कहिले राणा शासन,कहिले प्रजानन्त्र कहिले पञ्चायती व्यवस्था । कहिले बहुदल,कहिले शाही शासन कहिले लोकतन्त्र भने कहिले गणतन्त्र ? यी सबै व्यवस्थाका प्रयोग मान्न सकिन्छन् ।

# अहिले हामी चौंथो चरणमा छौं । अझै कति लम्बिन्छ कुनै ज्षोतिषीले भन्न सकेका छैनन् ।
# कहिले दरबार,कहिले राणा शासन,कहिले प्रजानन्त्र कहिले पञ्चायती व्यवस्था । कहिले बहुदल,कहिले शाही शासन कहिले लोकतन्त्र भने कहिले गणतन्त्र ?
# सागका मुठा बेचेर बजार बजार सोयाबिन खोज्दै हिडेका साथीहरु नभेटिएका होइनन् । # ध्यू बेचेर जिउ पाल्नेहरुका मुख्ख सुख्खा छन् रे भनेर खबर समेत पढियो ।
# अण्डा फुटालेर बाटोमा फाल्न नथालौ बरु अम्लेट बनाएर खाऔं । राहत प्याकेजका रुपमा बाँडौं । कुखुरालाई खाल्डो खनेर पुर्नका साटो छिमेकीहरुलाई उधारोमा मासु बाँडौं ।
# महामारीबाट सबैलाई बचाउनु नै संघीय लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने सरकारको मुख्य दायित्व र कर्तव्य हो ।

प्रयोगशाला नै हो जस्तो लाग्दैछ नेपाल । सानो मुलुक,शासन व्यवस्था अस्थीर भएकै कारण प्रयोगशाला बन्यो कि झैं लाग्छ तर गुदी कुरो के हो खोज अनुसन्धान गर्नुपर्ला ! लकडाउन भनेको नेपालीमा बन्दाबन्दी हो कि झैं लाग्छ । बन्दाबन्दी भन्न अप्ठ्यारो लाग्ने भएकोले गर्दा लकडाउन भनिएको होला । देशविदेशमा यही लकडाउन चल्यो अनि हाम्रो प्रयोगशालामा यही शब्द प्रयोग भयो !

जेहोस् हामी शालीन र सहयोगी नेपालीहरुले सरकारले जारी गरेको बन्दाबन्दीलाई लकडाउन भनेर मानेकै छौं । नमान्नेहरुले पछि आफैले कोरोना लागेमा जान्लान् तर हामीले आफ्नै स्थानमा बसेर कसैले पाथीमा कति हुँदो रहेछ मकै र चामलका गेडा भनेर गन्दैछौं । कसैले वाक्क दिक्क लाग्यो लकडाउन भनेर सुत्दै अनि उठ्दै भन्दैछौं । कसैले पढियो किताब भनेर देखाइएको छ । कतिले जानेका सीप प्रयोग गरेर भएजतिका परिकार बनाइएकै छ । स्वाद चाख्न फेसबुकमा राखिएकै छ । कसैले खेतबारीमा भएका बन्दा बेचेर घरधन्दा चलाएका खबर छन् । कसैका टमाटर बिकेन भनेर बेस्कन चिच्चाएका छौं । सागका मुठा बेचेर बजार बजार सोयाबिन खोज्दै हिडेका साथीहरु नभेटिएका होइनन् । ध्यू बेचेर जिउ पाल्नेहरुका मुख्ख सुख्खा छन् रे भनेर खबर समेत पढियो ।

जसले जे भनेपनि सरकारले कोरोना विरुद्धको अभियानमा हामी सबैलाई लगाएकै हो । हामी पनि मर्नुभन्दा बहुलाउनै जाती भनेर लकडाउन मान्दैछौं । विदेशमा कोरोनाले मान्छेलाई खत्तम पारेकै छ । नेपालमा समेत संक्रमित छन् तर यो महामारीका कारण भने मरेका छैनन् नेपाली । लकडाउन कहिले खुल्छ वा खुल्दैन हामीले पटक्कै नसोधौं । सरकारले खोलेमा हिडौंला आआफ्ना काममा । सुतेर खान कसलाई पो रहर होला सधैं ?

आज लोकतन्त्र दिवस समेत हो । ११ वैसाख हो । २०६२/२०६३ को १९ दिने शान्तिपूर्ण आन्दोलन र १० वर्षे शस्त्रसंघर्ष(जनयुद्ध)ले लोकतन्त्र नेपालमा आयो भनेर चिच्चाउने हामी नै थियौं । देशमा रहेको गोलमाले सरकार वा तत्कालीन शाही सरकार ढल्यो । राजतन्त्र गुल्टियो । जनताहरुले खुसी मनाए । लोकतन्त्र दिवस घोषणा गरेको थियो सरकारले । छुट्टी समेत दिएको थियो केही वर्ष त । पछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेपछि भने सरकारले लोकतन्त्र दिवसका दिन बिदा दिन च्वाट्टै छोड्यो । तैपनि सम्झना मनैमा भने झैं हामी नेपालीहरुले लोकतन्त्र ल्याउनका लागि गरेको सानोतिनो भएपनि सहयोग बिर्सन सकिन्न ।

लोकतन्त्र ल्याउन लकडाउनमा जस्तो कोठामा बसेको होइन । गाउँगाउँ,टोलटोल, बस्तीबस्तीहरुमा गएर गाउँलेहरुलाई जम्मा गरेर रित्ता थाल ठट्टाईयो । सहरसम्म नारा जुलुस लगाएर आइयो । हातमा पार्टीका झण्डा उचालेर जिन्दाबाद र मूर्दाबाद गरियो । सिठ्ठी बजाइयो । कफ्र्यू तोडियो । ढुंगामुडा गरियो । घाम भनिएन चैते र बैसाखे । पैतालामा ठेला पारुञ्जेल कच्ची र पक्की बाटामा बुर्कुसी मारियो । नेताहरु डराएर पछिपछि हिड्दा अघि सरेर भाषण समेत ठोकियो । कम्ति ताली खाइएन । कविता भनियो लोकतन्त्रका लागि । नाराजुलूश लगाएर नपुगेको ठाउँ र गाउँ भएनन् ।

लोकतन्त्रले लामो श्वास फेर्न दियो । व्यक्तिगत फाइदा के भयो थाहा छैन तर देशमा लोकतन्त्र आयो । लेख्ने,बोल्ने स्वतन्त्रता आयो । छलफल कुराकानी गर्न डराउनु परेन । लोकतन्त्रको नाममा देशलाई लोकतान्त्रिक देशको दर्जामा राख्ने काम भयो । हुन त त्यतिबेला पशुपालकहरुले दूध घोप्टाका थिए तत्कालीन सरकारका विरुद्धमा तर अहिले कसका पक्ष र विक्षमा घोप्टाएका हुन् थाहा हुन सकेन ! लोकतान्त्रिक आन्दोलनको पछिल्ला दिनहरुमा त हामीले दूधको खीर बनाएर खाइयो र तत्कालीन सरकार विरुद्ध घोक्रो फुल्लाइयो बेस्सरी ।

किसानहरुले तरकारी फालेका थिए ,दबाबका लागि । अहिले कसैले फालेका छैनन् । त्यतिबेला र यतिबेलाको परिदृश्य र परिवेश फरक हुन् । यतिबेला सत्ताको लडाइँ हुँदै होइन । यतिबेला कोराना भाइरसका बिरुद्धमा संसारभरका नागरिकहरु एकतावद्ध छौं । हामीले तरकारी फालेर अनि दूध पोखाएर कोरोनाले हामीलाई मृत्युबाट जोगाउने छैन बरु जोगाउने छ तिनै दूध भलभल्ती उमालेर तातोतातो खाएमा । केके थरिकाका पौष्टिक तत्वहरु पाइन्छन् । हाम्रो शरीरमा तागत थपिन्छ । कोरोनाका विरुद्ध शरीरमा प्रतिरक्षात्मक शक्ति बढेर जान्छ । नफालौं कुनैपनि किसिमका तरकारीहरु बरु ती तरकारी खाएर बलियो बनौं र कोरोनाका विरुद्ध फाइट गर्न सक्ने बनौं । आवेशमा आउने काम नगरौं । अण्डा फुटालेर बाटोमा फाल्न नथालौ बरु अम्लेट बनाएर खाऔं । राहत प्याकेजका रुपमा बाँडौं । कुखुरालाई खाल्डो खनेर पुर्नका साटो छिमेकीहरुलाई उधारोमा मासु बाँडौं । त्यसो गर्नु भनेको सेवा हो । छिमेकीले त बाँचे भने पैसा तिर्छन् । भन्छन् नि –ध्यू कहाँ पोखियो,भागमा !

मान्छे सबै निस्वार्थी छन् भनेर कसरी ठोकुवा गरौं ? यो संसार लोभी–पापीको समेत हो । लकडाउनका बेला मजदूरी गरेर खाने वा निमुखाहरुका लागि सरकार ,निजी क्षेत्र र सामाजिक संघसंस्थाहरुले राहत प्याकेज बाँडे । चाहिनेले लिने हो । खाँचो परेकाले पाउनु पर्छ । नसक्नेलाई सक्नेले दिने हो । फोटो खिचाएर फेसबुकमा बैतरणी तार्ने गरी एउटाले अर्कोलाई छोएर दिंदा राहत पाउनेहरुका मन खुसी होलान् वा राहत वितरण गर्नेहरुका मन उज्याला ! त्यसरी दान दिएर कोरोना सार्ने माध्यम नबनौं ।

कुहिएका खाद्य सामग्री बाँडेर अख्तियारमा हाजिर समेत लगाए रे कतिले राहत वितरण गरेका दोषमा ! खाद्यान्नमा परेका कीराले राहत बाँड्नेहरुका मनमा कीरा परेको भए जाती हुने थियो । कुहिएका खाने कुरा खुवाएर कोरोनालेभन्दा छिटो मार्ने दुष्ट विचार बोक्नेहरुलाई हो पहिला लानुपर्ने कोरोनाले भन्नुपनि हामी नेपालीहरुको मानवीयता गुम्छ ।

सज्जन बस्ने ठाउँमा दुष्टहरु समेत हुन्छन् । असल चरित्रका मानिसका बस्तीहरुमा खराब बानी लिएका मानिसहरु समेत बस्दछन् । सबैका मनमा राममात्र होइन हजुर रावणका चरित्र समेत हुने गर्छन् । सुनियो–चार÷पाँच तोलाको सुनको सिक्री भिरेर त्यही घाँटीमा हुल्ने चामल थाप्न पुगे रे कोही कोही ? त्यसो हुँदा केही पनि नभएकाहरुले के थापेर खाए होलान् ? सक्नेले,नसक्नेको भाग थापेपछि नसक्नेले कसको भकारी फोर्नु ?

ए ! हजूर । लकडाउनपछिको स्थिति कस्तो होला ? धेरैलाई यसैको चिन्ता छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा लकडाउनपछिको अवस्था कस्तो होला सोध्न मन लागिरहेको छ । सत्ताका हुन् वा सरकारका,विपक्ष हुन् वा प्रतिपक्षका ? सबैले लकडाउनका बारेमा जान्नै पर्ने देखिन्छ । बुझ्नै पर्ने हुन्छ । बुझाउनै पर्ने अवस्था छ । लोकतन्त्र त व्यवस्था हो । यसले नेपालीहरुको रक्षा गर्नुपर्छ । कोरोनाबाट मात्र होइन बरु आर्थिक,सामाजिक,सांस्कृतिक,मनोवैज्ञानिक र राजनीतिक सम्भावित महामारीबाट सबैलाई बचाउनु नै संघीय लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने सरकारको मुख्य दायित्व र कर्तव्य हो ।
लोभी–पापीहरु अध्यादेशका पक्ष र विपक्षमा कुरा गर्दै गरुन् । देशलाई उचित समयमा लकडाउनबाट मुक्त गरौं । लोकतान्त्रिक गणतन्त्र नेपालका हामी नेपालीहरुले कोरोनालाई संसारबाट परास्त गरौं । यसैमा भलो हुने छ ।