यतिबेला कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त छ । विश्वका तीन चौथाई देशहरु लकडाउनमा छन् । यो महामारीले आजसम्म एक लाख ७० हजार बढी मानिसको ज्यान लिसकेको छ ।लकडाउन बेला आकासमा जहाजहरु उडेका छैनन् । जमिनमा गाडीहरु गुडेका छैनन् । खुल्ला आकासमूनि बन्द छन् सहरहरु । प्रकृतिका सुरम्य संगीत माझ सुनसान छन् गाउँहरु ।
अस्पतालहरुमा छिन्छिन्मा लासहरुका खात लाग्ने क्रम जारी छ । यस्तो लाग्छ, कोरोना वधशाला हो धरतीकै । यस्तो भयभीत वातावरणमा ज्यानको बाजी लगाएर कोरोना भाइरसबाट संक्रमितहरुका प्राणको रक्षा गर्न प्रयासरत छन् स्वास्थ्यकर्मीहरु । अहिले उनीहरुकै जीवन चरम जोखिममा देखिन्छ । कतिले महिनौदेखि आफ्ना परिवारसँग भेट्न पाएका छैनन् । निःशस्त्र महायुद्धमा धेरैले गुमनाम मृत्यु स्वीकार गरिसकेका छन् । टाढैबाट आफ्ना प्रियजनलाई अन्तिमपटक दर्शन गरेर प्राण त्यागेका खबरहरु भेटिन्छन । मिडियाहरुबाट प्रसारित यस्तो खबरहरु हेर्दा,सुन्दा र पढ्दा छियाछिया हुन्छ मन ।
विश्वका शक्तिशाली मानिएका मुलुकहरु यतिबेला आँखाले देख्न नसकिने कोरोना भाइरसको सामू निरीह सावित भएका छन् । संसारले कोरोनाको अत्यासिलो कहर झेलिरहेको छ । समग्रमा विश्व बदल्ने विज्ञानलाई चुनौती दिएको छ प्रकृतिले । दुईसय १३ वटा देशको भ्रमण गर्न भ्याइसकेको छ कोरोनाले । यसलाई कुनै मुलुकमा प्रवेश गर्न कुनै राहदानी कै जरुरत पर्छ न त भिसाको । जहाँ मन लाग्छ, सुटुक्क पसिदिन्छ । उसलाई जो मन पर्छ, चुपचाप उसैसँग बसीदिन्छ र सल्काउदै जान्छ मृत्युको डढेलो ।
कोरोनाको सन्त्रासले साँच्चै दर्दनात्मक र सनसनीपूर्ण बनेको छ सञ्चार माध्यमहरु । राजधानीमै छुटेकी छ छोरी । यस्तो लाग्छ कि कलेजो आधा भाग उतै छुटेको छ । दिनहुँ भिडियो कल गरेर सोध्छु अनि पटकपटक सुरक्षित रहन सुझाउँछु । केहीबेर ढुक्क हुन्छ मन । परदेशमा भएका बृद्धा बाबाआमा ,सासुससुरा,भाइबहिनीहरु र आफन्तहरुलाई पालैपालो फोन गरेर हालखबर बुझ्ने रुटिङ्ग बनेको छ । कतिबेला के हुन्छ, नजाती समाचार सुन्न पर्छ कि भनेर हरपल त्रसित रहन्छु । वर्षाैदेिख सम्पर्कमा नआएका साथीहरुका प्रोफाइल सर्च गर्दै हाल खबर सोध्ने र सुरक्षित रहन सुझाव दिनु र त्यहाँका स्थिति बुझ्ने क्रम जारी छ । घर बाहिरको काम बन्द भएर सधैँभन्दा केही फूर्सद भएपनि झनै बोझिलो भएको छ दैनिकी । दर्दनात्मक, त्रासदीपूर्ण र समाचारहरु सुन्दा पढाई,लेखाई तथा कुनै सिर्जनात्मक कामहरुमा ध्यान जाँदैन । न त मनोरञ्जन गर्ने रहर नै लाग्छ । पहिलेपहिले फूर्सद हुँदा कति न पढुँला लेखुँला सोच्थेँ । साेंचे जस्तो हुन्न जीवन गीतको याद आउँछ । परिस्थितिले फरक पारिदिंदो रहेछ मान्छेको मनस्थिति समेत ।
लकडाउनले हिजोसम्म सपना र भविष्य सोंच्ने मानिसहरु आज जीवन र वर्तमान सोच्ने भएका छन् । हिजोसम्म सुख/सुविधाका लागि संसार चहार्ने मान्छे आज स्वास्थ्य र प्राणको लागि कुनामा बन्दी भएका छन् । सोच्छु–समयको पखेटाहरुमा कस्ता कस्ता रङ भरिदिन्छ विद्याताले !फरक परिस्थिति र फेरिएको मनस्थितिबीच महिलाका स्थिति र अवस्था भने उस्तै छन् । घरभित्रै भएपनि उस्तै ब्यस्त, उत्तिकै विवश । उस्तै छ हालत मेरो पनि । धेरैजसो समय भान्सामा रुमल्लिएरै बित्छ । बिहान उठ्नु , नित्यकर्म सकेर,सबैका लागि कागती मह आदिका साथमा तातोपानी तयार पार्नु ,चिया खानेलाई चिया ,कफी खानेलाई कफी , हल्का नास्ता ,घर सरसफाइ अनि किचन यात्रा ।
बिहानको घरधन्दा सक्दा नसक्दै लगभग आधादिन बित्छ । स्याहार नपाएका कौशीबारी , गमलाका फूलहरुले केही स्याहार पाएका छन् । घरमा झुण्डेका पर्दाहरु सोफाका खोल टेवुलपोसहरु पालैपालो धुन्छु अनि सुकिला ती लुगाहरुले कोठै उज्याला बनाउँछन् । घरका कुना काप्चाका धूलो निकाल्छु । झ्यालका सिसाहरु पुस्छु , केहीबेर फेसबुक खोल्छु । चिया खाजाको समय हुन्छ । आराम गरेर उठेका घरका पुरुषहरु सकसकाउन थाल्छन् । भोक लागेर होला भित्र र बाहिर गर्छन् । उठेर खाजा तयार गर्छु र दिन्छु । केहीबेर बस्दा नबस्दै साँझ पर्न थाल्छ । शुरु हुन्छ बेलुकातिरको किचन यात्रा फेरि । मौका हेरेर किनमेल गर्न निस्किनु पर्छ । लकडाउनमा धेरै महिलाका दैनिकी यस्तै यस्तै छन् ।
हिजोमात्र अमेरिका निवासी साथीसँग कुरा भयो । फेसबुकबाटै चिनजान भएपनि नियमितको संवादले हामी एक अर्कालाई निकै नजिक महसुस् गर्छाै । अहिले कोरोनाको महामारी सुकेको जंगलमा डढेलो सल्केसरि फैलिदैछ,युरोप अमेरिकातिर । त्यसैले घरिघरि खबर बुझिरहन्छु । सुरक्षित हुन सम्झाइ रहन्छु साथी र बहिनीहरुलाई । महामारीका कारण होम क्वारेन्टाइनमा बसेकी साथीलाई सोधेँ –के गर्दैछ्यौ ? जवाफ आयो –इन्टरनेटबाटै अफिसको काम गर्दै भात पकाउँदैछु नि । मैले फेरि सोधेँ – श्रीमान नि ? उनको त कामबाट छुट्टी भएदेखि टिभी र पपजीमा बित्छ समय । खाना बनाउन सघाउनन् त ? के को सघाउनु ! चुरा बजेको भान्सा नै स्वादिलो भन्दै पन्छिने गर्छन् नि ! विद्रोह गरुँ भने भीजिटमा आउनुभाका सासुससुरा यतै थुनिनु भाको छ । कस्ती रैछे बुहारी भन्लान् , छोरालाई दबाएर राख्दिरैछे भन्लान् । खास कुरा त हुर्कदै गरेका नानीहरु छन् । उनीहरुलाई आमाबाबाका झगडाले नराम्रो असर पार्ला भन्ने सोच्छु र माइती मावलीको इज्जतको नि सवाल छ । त्यसैले चुपचाप घोटिन्छु
नेपालमै भएकी अर्की साथीसँग लकडाउन बीचमै ४/५ चोटी संवाद भयो । कक्षा आठदेखि आइएसम्म सँगै पढेर छुट्टिएका हामी वर्षाैंपछि भेट भएको छ । प्रायः गफिरहन्छौं । प्राध्यापन पेसाका साथै साहित्यमा निकै राम्रो दख्खल भएकी उनी राजनीतिमा उत्तिकै सुझबुझ राख्छिन् । साहित्यिक गफ र छलफल मै धेरै रमाउँछौं । मेसेन्जरमा गफियौं । यता म खाना पकाउदै थिएँ । उता उनी भर्खर खाना खाइसकेर जुठाभाँडा त्यसै छाडेर एकछिन मोबाईल खोलेको भनिन्–घरमा भएका अरु तीनजना पुरुषहरु (दुई छोरा र श्रीमान ) फूर्सदमा हुँदा पनि थालमा हात चुठेर उठ्छन् । खै ! के गर्नु र हौ । छिमेकी साथीले गुनासो पोखिन्–दुई छोरा र बाउ गरी तीन जना लोग्ने मान्छे घरमा छन् । दूधधरि पसल गएर आफैले ल्याउनु पर्छ । ख्वाउँदा र भाडा माँझ्दा र घर सफा गर्दा नै थाकेर हैरान हुन्छु । उनीहरु बसेको ठाउँबाट उठ्ने होइनन् । छोरा मान्छे सार्है नबुझ्ने है ! कस्तो जूनी पाएका हाम्ले त ?
साँच्चै सोचमग्न बनाउँछ यी गुनासाहरुले तर गुनासा गर्नका लागि मात्र हुन्छ न कि त्यसको सुनवाईका निम्ति ? थाहा छैन, सुसुप्त रहेको यो विद्रोहले सशक्तरुप लिन कति जुग पर्खनु पर्ने हो ?अहिले घर बाहिरको कामबाट महिलाहरुले अनिश्चित समयसम्मका लागि मुक्ति पाएपनि फूर्सद महिलाहरु घरका अन्य काम मै भएपनि ब्यस्तै रहेका छन् । कोही घरका तखता र ¥याकहरुमा जम्मा भएका धूलो पुछ्दै गरेको भेटिए । कोही झ्यालमा जमेका लेग्रालेग्री लेउहरु सफा गरेको भेटिए । कसैले करेसाबारी गोडमेल गरे । सेलरोटी ,मिठाई ,मोमोका परिकारहरु बनाएर स्टोरीमा हाले ।
परिवारलाई ख्वाए अनि पुरुषहरु लकडाउनले दिलाएको फूर्सदमा मोबाइल टिभी हेरेर , मनोरञ्जनात्मक गेमहरु खेलेर पुस्तकहरु पढेर समय बिताएको कुराहरु सामाजिक सञ्जालहरुमा भेटिए । महिलालाई भान्छाका कामबाट पटक्क फूर्सद मिलेन । कथित शौभाग्यका रुपमा पाएका चुरा बजाउँदै उनीहरु नै भान्सामा खटिनु पर्याे । एक कप चियाका लागि आफै तात्तिनु पर्याे।देश लकडाउनमा हुँदा भान्सामा लकडाउन गर्नु भएन ! चुरा बजाउँदै भान्सामा महिला नै अघि सर्नु पर्याे।
पुरुष प्रधान समाजमा विवाह ,परिवार र नाता जस्ता संस्थाभित्रका आचार र व्यवहार कहिले कर्तव्यका नाममा , कहिले मायाको नाममा, कहिले नातासम्बन्धको नाममा त कहिले संस्कार, परम्परा र,प्रथा प्रचलनका साथै मर्यादाका नाममा महिला श्रम शोषण ,लैंगिक हिंसा आदि स्वभाविक र प्राकृतिक हो भन्दै परिभाषित गर्दै आएका छन् ।
पुरुषहरु लकडाउनमा फूर्सदिला देखिए । दिन काट्न मुस्किल परेका विषयमा जोकहरु भेटिए । पुस्तकहरुका अध्ययनमा तल्लीन भएका पोस्टहरु भेटिए । लेख÷रचनाहरु अनलाइन मिडियाहरुमा आए । कसैले फेसबुकको भित्तामा टाँगे । कोही मुभी हेर्नतिर ब्यस्त भए । कोही टिभी÷भिडियो गेममा अल्झिएका पाइए । कोही भने महिलाहरुप्रति भद्दा मजाक गरेर सृष्टिको सुन्दरताका हुर्मत लिन पछि परेनन् । तिनीहरुले यो बिर्से कि मेरा घरमा महिला सदस्यका रुपमा आमा,दिदीबहिनी र छोरीहरु समेत छन् । यो सोचेनन् कि आफू महिलाकै कोखबाट जन्मेको हुँ । यो महिला हिंसा कै प्रतिरुप हो र मानसिक हिंसा समेत ।
नेपालमा यौन र शारीरिक हिंसालाई स्वभाविक मान्नेहरूका लागि घरेलु हिंसाका अनेक प्रकृतिहरु आर्थिक, सामाजिक र मानसिक तवरले अर्थहीन रहेको छ । हाम्रा परिवार, धर्म, संस्कृति र राजनीतिमा घरेलु हिंसालाई स्वभाविक बनाउने संयन्त्रहरू सदिंयौंदेखि निरन्तर सक्रिय रहेका हुन्छन् । त्यस्ता हिंसाका घटनाहरु नियमित भइरहनु कुनै नौलो कुरै होइन । महिलामाथि हुने दमन,हिंसा र शोषणका दृष्टान्तहरु हेर्दा यो लाग्दैन कि अविकसित , अशिक्षा , अभाव र निम्नवर्गहरुका मात्र समस्या हुन् । यस्तो कपोलकल्पित मान्यतालाई कोरोना भाइरसको महामारीले भत्कायो ।
इटलीमा एकजना महिलाले लकडाउनको समयमा घरमा बसी कार्यालयको काम गरे कै निहुँमा प्रेमीबाट कुटिएर गम्भीर घाइते भएको समाचार सुन्दा र नेपालमै चैत्र १५ गते बीरगञ्ज ११ श्रीपुर निवासी डा. सचितानन्द यादवको कुटाईबाट पत्नी सुनिताको मृत्युको खबर सुन्दा लाग्छ परिवेश,प्रकृति,समाज ,देश फरक भएपनि शोषण दमन र हिंसा सहन बाध्य महिलाका अकल्पनीय जमात उस्तै रहेछन् । पुरुषलाई महिलामाथि ज्यादती र शोषण गर्न कुनै भाइरसले नछेक्ने रहेछ । लकडाउनको समयमा बैसाख २ गते बाँके बैजनाथ गाउँपालिका २ नौबस्ता पहाडीपुर निवासी दिलमाया मगरको लोग्नेको कुटाइबाट भएको मृत्यु र बीरगञ्ज १३ प्रसौनी निवासी अञ्जु देवीले लोग्नेकै कुटाईबाट गुमाएका ज्यान । यी त भए हिंसाका कुरा ।
भान्छाको काम छोरी मान्छेले नै गर्नुपर्छ भन्ने मान्यतालाई बहुभतेर , चुरा बजेको भान्छा र घरदेख जस्ता प्रथा र प्रचलनहरुले मलजल गर्दै ल्याएको हो हाम्रो समाजलाई । यस्तै सामाजिक परम्परा , मान्यताबाटै सिर्जना भएको हो महिला शोषणको सिलसिला । चुरा बजेको भान्सा सौन्दर्य लेपनयुक्त महिला श्रम/शोषण कै एउटा नमूना हो । सतिप्रथा, विधवा,कम्लरी, झुमा, देउकी प्रथा जस्ता सामाजिक कूप्रथाहरु महिला शोषण र दमनका कहाली लाग्दा पुलिन्दाहरु हुन् ।
चुरा बजेको भान्सा नामक महिला शोषणको दृष्टान्त सम्झिंदा दुःख लाग्छन् कति सिर्जनाहरु चुल्हाबाट पुतपुताएका धूँवासँगै बिलाए होलान् ! उनकै रागहरु तिहुनका झ्वाँईएँसँगै उडे होलान् ! चुल्हा/चौका र वर्तन टल्काउने ध्याउन्नमा कति जिन्दगीहरु पोतारी झाडू जस्तै खिइएर सकिए होलान् ! बगैँचा र कोठेबारी सिंचाउने धूनमा कति आमाहरुका जिन्दगी मधुरिए होलान् !
मझेरीदेखि चन्द्रमा पुग्नुसम्म पुरुषसँगै कदममा कदम मिलाउन सक्ने महिला जीवनका अनगिन्ती अक्करहरु पार गर्नुमा पुरुषलाई हातमा हात दिई काँधमा मिलाई हिम्मत र हौसला दिएका छन् । सागरको अनन्त गहिराईमा पसेर मोती टिप्नुदेखि सर्वाेच्व शिखर सगरमाथामा पाइला राख्नसम्म सफल भएका छन् । सृष्टि रोक्ने क्षमता छ नारीमा तर नारीलाई सँधै कमजोर र कोमल आँसुको खेतीमात्र गर्नेमा सावित गर्न कुनै कसर बाँकी राख्दैनन् पुरुष जाति !
शुक्रकीट उत्पादन गर्नुमा महिलाको पहुँच हुन्थ्यो भने पुरुषबिना बाँच्ने हिम्मत गर्न सक्थिन् महिलाले समेत । सदिंयौंदेखि अनेक बन्धनहरुले जक्डेर एउटा साँघुरो परिधिभित्र कैद गरियो महिलालाई । पितृसत्ताको भोग्या समाजले अनेक बहानामा दमन र शोषण गर्दै महिलालाई दोश्रो दर्जा मै राखियो । महिलाले गर्ने श्रमको (घरको काम ) मूल्य भएन । त्यसलाई श्रम नै मानिदैन । महिला र पुरुषलाई दिइने ज्याला विभेद गरियो । यसैले त जन्मायो विभिन्न चरण र मान्यताका फेमिनिजम् । महिला हकहित र अधिकारका कुराहरु लेखिएका संविधानका दस्तावेजहरु अभिलेखमा सीमित भएका छन् ।अविकसित मुलुकमा मात्र होइन विकसित र पूँजीपति मुलुकमा चलिरहेकै छ लैंगिक भेदभावको सिलसिला ।
ती विकसित राष्ट्रहरुका राष्ट्रिय राजनीतिदेखि समाज र परिवारमा समेत पुरुष निर्णय नै चल्छ र चलिरहेको छ । अझै कतिपय महिलाहरु विलाशिताका सामान , सुविधा , महँगा गहना र आलिशान घरहरुका प्राप्तिमा सुखका भ्रम पालेर पुरुषको दास र भोग्य सामग्रीका रुपमा बाँचिरहेका भेटिन्छन् । जुन उनीहरुका रहर नभएर विवशता हो भन्ने कुरा उनीहरु स्वयम्ले महसुस् गर्न सकेका छैनन् । बेट्टी फ्रिडानले लेखेको पुस्तक फेमिनिन् मिस्टिक ले पाएको ख्याती र यसले ल्याएको आन्दोलनको लहरबाट यो खुलासा हुन्छ– विकसित मुलुकका अधिकांश गृहिणीहरु साधनका रुपमा भ्रमको जिन्दगी बाँचिरहेका रहेछन्।
महिला हिंसा,शोषण र लैंगिक विभेदका श्रृंखलाहरु यहाँ हुने थिएनन् भने महिलाका समस्याहरु यसै सम्बोधन हुने थिए । बेट्टी फ्रिडान , सिमोन द बोउवार र कमला भाषिनहरुले अक्षरका आवाजबाट चरणबद्ध आन्दोलन गर्न जरुरी देखिदैनथ्यो । न त योगमायाहरुले लिनु पथ्र्यो उर्लदो अरुणको भेलमा अपूर्व जल समाधि ! – ईटहरी–६, सुनसरी
प्रतिक्रिया