ताजा अपडेट »

बेलदमारको लोभलाग्दो व्यवसायिक तरकारी खेती

बुधबार, १० बैशाख २०७७

बुटवल । केहीदिन अघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतीय तरकारीमा रोक लगायो । नगरले भारतीय तरकारीबाट कोरोना संक्रमण सर्नसक्ने समभावनाको जोखिमलाई मध्यनजर गर्दै सो निर्णय गरेको हो । तिलोत्तमामा मात्र होइन यतिबेला सबै तहले भारतीय तरकारी आयातमा रोक लगाउन आवश्यक छ । तर, कोरोना संक्रमणको डर र यस अवधीमा मात्र होइन । अब तरकारीमा सधैंभरी आत्मनिर्भर बन्नुपर्ने आवश्यकता छ । यस्तै आवश्यकता पूरा गर्न पछिल्लो समय तरकारी खेतीमा आकर्षण बढ्दो छ।


पाल्पाको तिनाउ गाउँपालिकामा पनि व्यवसायिक खेतिर्फ बढ्दो आकर्षण छ । विशेषगरी तिनाउ गाउँपालिकाको वार्ड नं.२,३ र ६ मा व्यवसायिक तरकारी खेती गर्नेहरुको संख्या बढी छ । ती व्यवसायिक तरकारी खेती गर्नेहरु मध्ये वार्ड नंं.२ बेलदमारका सूर्य बगाले एक हुन् । बगालेको ८ जनाको परिवार तरकारी खेतीमा सक्रिय छ । हाल उनले करिब ८ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गरेका छन् ।विगत १८ वर्षदेखि कृषि पेशा गर्दै आएका उनलाई तरकारी खेतीबारे राम्रो ज्ञान छ । निरन्तरको कृषि कर्म,विभिन्न तालिम र प्रोजेक्टमा सहभागि भएर उनले सो ज्ञान हासिल गरेका हुन् । हाल उनको ५ रोपनी जग्गामा टमाटर र ३ रोपनी जग्गामा काक्रो फलिरहेको छ । उनले लगाएको टमाटरका बोट निकै व्यवस्थित र आकर्षक देखिएका छन् । झनै ति बोटमा लटरम्म टमाटर फलेको दृश्य निकै आकर्षक र लोभ लाग्दो नै देखिन्छ । त्यसरी नै थाक्रोमा काक्रोको दृश्य पनि कम छैन ।

उमेरले ५ दशक नाघेका बगालेकी श्रीमती दुई छोरा र बुहारी गरी ६ जनाको मिहिनेतले उनको तरकारी बारी आकर्षक मात्र होइन निकै फलदायी पनि छ । अनुमानित ३ हजार बढी टमाटरको बोट भएको उनको तरकारी बारीमा यतिबेला लटरम्म टमाटर झुण्डिरहेका छन् । गत वर्ष माघ महिनाको तेस्रो साता विरुवा लगाएका बगाले परिवारले चैत्रदेखि निरन्तर फल टिप्दै बिक्री वितरण गर्दै आएका छन् । र, यो क्रम बैशाख र जेठसम्म रहने उनी बताउँछन् । उनका जेठा छोरा हरि बगाले तीन वर्ष मलेशिया काम गरेर आएका हुन् । वैदेशिक रोजगारको अनुभव भएका उनी पछिल्ला वर्षहरुमा बुवासँगै सहकार्य गरेका छन् । अब विदेश जाने सोँच पनि नरहेको उनी बताउँछन् । सरकारले किसानलाई प्रोत्साहन गरी स्वदेशमै हुने उनी बताउँछन् । सूर्यका अर्का कान्छा छोरा इश्वर बगालेपनि खेतीमै सहकार्य गर्दछन् ।

जैविक मलको प्रयोग गर्दै कुनैपनि विषादी प्रयोग नगरी तरकारी उत्पादन गर्दै आएको बगाले बताउँछन् । एक सिजनमा टमाटर र काक्रोको खेती गरेर ४देखि ५ लाख आम्दानी गर्ने उनले बताए । हाल फलेको टमाटर र काक्रोमा उनको ५० हजार मात्र लगानी रहेको छ । घरमै जनशक्ति भएको हुनाले बिऊ–विजन ,जैविक मल आदिमा मात्र लगानी लागेको उनले बताए । यस सिजनमा पनि करिब ५ लाखको कारोबार गर्ने उनको अनुमान छ । ‘अहिले टमाटर र काक्रोको मूूल्य राम्रो छ । टमाटर र काक्रो दुुबै रु ४० देखि ५० सम्ममा बिक्री गरेका छौं । कहीँ घरबाटै बिक्री हुन्छ भने केही बुटवलमा थोकमा वा आफै बसेर बिक्री गर्ने गरेका छौं ।’ उनले भने ।

हालै मात्र उनको तरकारी खेती अवलोकन गरेका तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगर पनि आफू सो खेतीबाट प्रभावित भएको बताए । उनले भने ‘उहाँ यस टोलको अगुवा किसान,सार्है राम्रो खेती गर्नुभएको रहेछ । हामीले कृषि सम्बन्धी तालिम,योजना र सहयोग गर्दै आएका छौं । उहाँको व्यवसायिक र नमुना कृषिलाई प्रोत्साहन गर्न हामी थप सहयोग गर्नेछौं ।’त्यसैगरी वार्ड नं.२ का अध्यक्ष तथा तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ आफ्नो वडामा आकर्षक एवम् व्यवसायिक खेती भएकोमा आशावादी बनेको बताउँछन् । ‘अहिले यस क्षेत्रमा तरकारी खेतीप्रति आकर्षण बढेको छ । स्थानीय जनप्रतिनिधिको हैसियतले म निकै आशावादी र खुशी छु । यस टोल,वार्ड मात्र नभई समग्र तिनाउ गाउँपालिकामा व्यवसायिक खेती गरी आत्मनिर्भरसँगै आयआर्जनका लागि मुख्य पेशा बनाउने हाम्रो लक्ष्य छ ।’ उनले भने । वार्ड नं. २ का सदस्य बल बहादुर सारुले स्थानीयको तरकारी खेतीप्रति रुचि बढ्दो रहेको बताए ।

सूर्य बगालेको परिवारसँगै सो टोलमा अन्य १४ परिवार पनि व्यवसायिक खेतीतर्फ उन्मुुख छ । उनका छिमेकी कुलबहादुर अर्घालीले फर्सी खेती गरेका छन् । त्यसैगरी अर्का छिमेकी तुम बहादुर गाहाले पनि व्यवसायिक तरकारी खेती गरेका छन् । उनले ४ रोपनी जग्गामा काक्रा लगाएका छन् । उनको बारीमा पनि काक्रा झुण्डिएको दृश्य देख्न पाइन्छ । जम्मा २० हजार लगानी गरेका उनले २ लाख बढीको कारोबार हुने उनी बताउँछन् । राम्रो फलेपनि बीचमा रोग लागेको हुनाले अपेक्षित ४ लाख बढीको बिक्री नहुने उनको गुनासो छ । श्रीमती २ छोरासहित ४ जनको उनको परिवार तरकारी खेतीमै व्यस्त छन् । उनले आफ्ना साला हिरासिंह रानासँग सहकार्य गर्दै करिब १३ रोपनीमा टमाटर खेती गरेका छन् । लिजमा लिएर गरिएको सो टमाटर खेतीले पनि यतिबेला फल दिइरहेको छ । सो टमाटरबाट ५ लाख बढीको कारोबार हुने उनको अनुमान छ ।

पहिले–पहिले गुजाराका लागि मात्र खेती गर्ने अहिले तिनाउका विभिन्न स्थानमा अहिले व्यवसायिक खेती हुने गरेको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘ पहिले–पहिले घरमा खानाका लागि मात्र कृषि कर्म गर्नेहरुले अहिले बेचेर आम्दानी गर्नका लागि व्यवसायिक खेती गरेका छन् । गाउँपालिकाले उनीहरुलाई सहयोग गरेको छ ।’ कृषि उत्पादनलाई व्यवस्थित र कृषकको उत्पादनलाई उचित मूल्य प्रदान गर्न गाउँपालिकाले कृषि उपज तथा संकलन केन्द्र स्थापना गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले बताए । उनले भने ‘हामीले ६ वडालाई १०/१० लाख प्रदान गरेका छौं । अबदेखि नमुना कृषकलाई प्रोत्साहन सहयोग गर्नेपनि योजना बनाउँदै छौं । कृषिलाई प्राथमिकता दिँदै आगामी वर्ष कृषि उपज तथा संकलन केन्द्र सञ्चालनमा ल्याउने तयारीमा छौं ।’