२२ अप्रिललाई सम्झना दिवसभन्दा पनि सिर्जनशील दिन ठान्नुपर्छ । प्रवासमा रहेर नेपाली माटोलाई माया गर्नेहरुले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेको दिन थियो १९४९ अप्रील २२ तारेख । पुष्पलाल (जो शहीद गंगालालका दाजु थिए ।) जो संस्थापक महासचिव भए । उनीसँग नरबहादुर कर्माचार्य,निरञ्जन गोविन्द बैद्य,नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ(जो अनुपस्थित थिए । ) को नाममा पार्टी गठन भएको थियो भारतमा ।
कम्युनिष्ट पार्टी गठनको ७१ वर्षको दौरानमा नेपाली जनताले पहिलो पटक कम्युनिष्ट पार्टीकै नेतृत्वमा स्थायी एवम् बहुमतको सरकार पाएको छ । यो सफलता पाउनु कुनै चानेचुने कुरा होइन । यो आन्दोलनमा शहीद हुनेहरुका लिष्ट लामो छ । उनीहरुका त्याग,बलिदान र आहुति कुनै खेलाँची विषय हुनै सक्दैन । उनीहरुको बलिदानीको जगमा उभिएको सरकार हो यो ।
सरकार कुन व्यक्तिले नेतृत्व गरेको छ त्यो गौण कुरा हो । त्योभन्दा महत्वपूर्ण विषय त सरकारको नेतृत्व कुन पार्टीले गरेको छ भन्ने हुँदो रहेछ । नागरिकका मन जितेर मतपत्रलाई आफ्नो पक्षमा ढालेर सरकार बनाउन सक्ने कम्युनिष्ट पार्टीको सरकार बन्नुमा ती संस्थापकहरुका योगदान अतुलनीय रहेकोमा गौरव गर्नुपर्दछ । सत्ता र सरकार फरक हुन् । यतिबेला कम्युनिष्ट पार्टीको सरकार छ तर सत्ता छैन । सरकारले चाहेको गर्न सक्ने क्षमता नहुन पनि सक्छ । सत्ता भएको भए आफ्नो नीति,योजना तथा कार्यक्रम आफ्नै तरिकाले लागू गर्न सकिथ्यो भन्ने कम्युनिष्ट पार्टीका नेताहरु छन्।
नेपालमा कम्युनिष्ट पार्टीकै सत्ता सञ्चालन गर्न सकिन्छ भन्ने उच्च मनोबल लिएर तत्कालीन नेकपा(माओवादी)ले २०५२ को फागुन १ गतेदेखि फौजी कार्वाही सुरु गरेता पनि २०६३ को मंसीर ५ गते शान्ति सम्झौतामा आएर टुंगिएको इतिहास छ । ब्यालेटबाट होइन बन्दूक र बमबाट राज्यसत्ता ल्याउन सकिन्छ भन्ने सोचले नेपालमा कम्युनिष्ट पार्टीहरु लागेकै हुन् र लाग्दैछन् अहिले पनि ।
अप्रिल २२ तारेखका दिन नेपालमा रहेका सबै कम्युनिष्ट पार्टीका नेता,कार्यकर्ता र शुभचिन्तकहरुका लागि स्थापनाको सम्झनाका दिवस बनेका छन् तर यसलाई सिर्जनशील दिन बनाउन सकिन्छ कि नाइँ ? नेपालीलाई २००७ सालको प्रजातन्त्रको आगमनले रैतिबाट प्रजा बनायो । २०४६ सालको आन्दोलनबाट पुनःप्राप्ति भएको बहुदलले प्रजालाई जनता बनायो । २०६२ / २०६३ को आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रापले आजसम्म हामी जनताबाट नागरिक बन्न सक्यौं ? हो यक्ष प्रश्न यहींनिर छ । हामी नेपालीहरु कालखण्ड अनुसार रैती,प्रजा,जनता भयौं तर नागरिक हुन सकेनौं !
नागरिक हुन सक्नु र नागरिक हुनुमा हामीले प्रशस्त अधिकार प्राप्त गर्न सक्ने थियौं । नेपालीहरुले नागरिकको अधिकार,नागरिकको दायित्व र नागरिकले सरकार वा सत्ताबाट पाउने सेवा र सुविधाका बारेमा थाहै भएको विषय हो । आज हामी सरकारको शिक्षा र स्वास्थ्य सेवाको अवस्थामा कहाँनिर उभिएका छौं ? त्यो ग्राफ हेरेपछि थाहा पाउन सक्दछौं । सायद हामी नागरिक बन्न सकेनौं कि ? यसो भनिरहँदा सरकारको आलोचक हुन सकिन्छ । हामी सबैको आलोचक बन्न सक्नु पर्छ तर निन्दक होइन । कम्युनिष्टहरु आलोचना र आत्मालोचना गर्न रुचाउँछन् । तर अहिले नेपालका कम्युनिष्ट पार्टीहरुमा आलोचना र आत्मालोचना गर्ने विषयले बैठकहरुमा स्थान पाउन छाडेका छन् ।
हामी नागरिक बन्न नसक्नुमा सरकार वा सत्ता कसको दोष हो ? देशमा रहेका कम्युनिष्ट पार्टीले सत्ताको स्वाद चखाएको छ कि सरकारको ? नागरिक बनाएको छ कि प्रजा वा जनता ? जनता हो भनिरहेका छन् अझ्ै पनि ? हामी २१ शताब्दीका नेतृत्वदायी अनि सक्षम नागरिक हौं भन्न किन सकिरहेका छैनौं ? के कम्युनिष्ट पार्टीहरुले नागरिक बनाउन सक्दैन ? नागरिक बनाउनका लागि नेतृत्व गर्न सक्दैन ? नागरिकका लागि खाँचो पर्ने आधारभूत ज्ञान दिन सक्दैन ? सायद पुष्पलालहरुले सरकार बनाउनका लागि मात्र कम्युनिष्ट पार्टी गठन गरेका थिएनन् त्यतिबेलाको विषम परिस्थितिमा । व्यवस्था परिवर्तन गर्नु अल्पकालीन उद्देश्य भएता पनि दीर्घकालीन लक्ष्य भनेकै रैतिसरह रहेका नेपालीहरुलाई नेपाली नागरिक बनाउनका निम्ति गरिएको अभ्यास,प्रयत्न र अठोट थियो ।
नेपालमा कम्युनिष्ट पार्टीहरु जुट्ने र फुट्ने कुनै नयाँ र उल्लेखनीय विषय नै होइन । भन्नेहरुले कम्युनिष्ट पार्टीहरुलाई सिल्टी समेत भनेका छन् । सिल्टीको विशेष गुण भनेकै छिटो तात्ने र छिट्टै सेलाउने नै हो । कम्युनिष्टहरु जुट्नका लागि छिट्टै तात्छन् र फुट्नका लागि उस्तै छिट्टै सेलाउँछन् पनि । पछिल्लो पटक २०७५ को जेठ ३ गते मदन आश्रितको स्मृति दिवस पारेर तत्कालीन नेकपा(एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकीकरण भएको थियो । यो एकीकरणका सन्दर्भमा धेरै विश्लेषण र तर्कहरु समेत छन् । धेरै राजनीतिक विश्लेषकहरुले यी दुई पार्टीहरुका मिलन वा एकतालाई पँर्धेनीहरुका गफ समेत भनेका छन् । त्यो कुराको जवाफ त भविष्यमा उनीहरुको विश्वास र व्यवहारले देखाउला ।
नेपालमा अझै छरिएर रहेका कम्युनिष्ट पार्टीहरु छन् । नेकपा(माले),नेकपा(मसाल,चुनावी मोर्चा राजमो),नेकपा(कट्टेल समुह),नेकपा( माक्र्सवादी),नेकपा (विप्लव),नेकपा (क्रान्तिकारी माओवादी) र आफूलाई कम्युनिष्ट पार्टी ठान्ने तर नाममा भने कम्युनिष्ट नलेख्ने नेमकिपा लगायतका कम्युनिष्ट पार्टीहरु यहीं छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा फूट कोरोनाभन्दा खतरनाक रोगका रुपमा रही आएको र रहीरहेको महामारी रोग हो । २२ अप्रिल १९४९ मा रोपिएको एउटा कम्युनिष्ट पार्टीमा यति धेरै हाँगा लाग्नुलाई के भन्ने ? फूटले शक्ति पैदा हुन्छ भन्ने सोचको विकासलाई माक्र्सवादी दृष्टिकोणबाट कसरी हेर्ने ? अमिवा जति चुँडियो उत्ति बंशज विकास हुन्छ भन्नेहरु यहीं छन् । यो विचार अग्रगामी वा पश्चयगामी के हुन सक्छ पार्टीहरुका सवालमा ?
संसारका मजदूरहरु एक हौं भन्ने कम्युनिष्टहरु आज समेत किन फरक फरक चुल्होमा कसौंडी बसाली रहेका छन् ? २०१५ सालको फागुन ७ गते भएको पहिलो आमनिर्वाचनमा कम्युनिष्ट पार्टीले ४७ स्थानमा आफ्नो उम्मेदवार उठाएको थियो । जसमा चार स्थान ( रौतहटबाट दुई,पाल्पाबाट एक र ललितपुरबाट एक) बाट श्रेष्ठता हासिल गरेका थिए । त्यतिबेला सो पार्टीले एक लाख २९ हजार ४२ मत प्रात गरेका थियो । अर्थात् खसेको सदरमतको ७.२ प्रतिशत् प्राप्त गरेका थियो । ( डा.बिन्दा पाण्डेको समानताका पाइलाहरुबाट)
नेपालमा पहिलो पटक २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भयो । गणतन्त्र स्थापनासँगै पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वमा पहिलो गणतान्त्रिक कम्युनिष्ट सरकार बन्यो । त्यसपछि माधवकुमार नेपाल,झलनाथ खनाल,डा.बाबुराम भटट्राईको नेतृत्व,पुनःप्रचण्डको नेतृत्व र हाल फेरि केपी ओलीको नेतृत्वमा दुईतिहाई नजिकको स्थायी सरकार बनेको छ । डा.भट्टराई भने अहिले कम्युनिष्ट पार्टीमा छैनन् ।
कम्युनिष्ट पार्टीका नेताहरुले देशमा प्रधानमन्त्रीमात्र होइन राष्ट्रपति,उपराष्ट्रपति र सभामुख समेत पाइसकेका छन् । नेतृत्व जन्माउने कम्युनिष्ट पार्टीहरुले आआफ्नै पार्टीमा बसेर पार्टी हाँकिरहेकै छन् । नेतृत्वको विकास गरेकै छन् । तर आफ्ना कार्यकर्ता र शुभचिन्तकहरुलाई असल नागरिक बनाएकी बनाएनन् फेरि यही प्रश्न सोध्न मन लाग्छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७१ वर्षे इतिहासमा पटक पटक कम्युनिष्ट पार्टीहरु फुटिरहेका हुन् । त्यसो हुनुमा पार्टीमा साँघुरो विचार मौलाउनु,गुटबन्दी हावी हुनु,नेतृत्वबीचको असम्झदारी र अदूरदर्शी भावको विकास हुनु,पार्टीमा निरन्तर विचारहरु मन्थन नहुनु । प्रशिक्षणलाईभन्दा पदलाई महत्व दिनु,एक पद एक व्यक्ति सिद्धान्तमा हुनु तर व्यवहारमा नदेखिनु,पार्टीमा आलोचना र आत्मालोचना गर्ने पद्धति स्खलित हुँदै जानु,नेता बादशाह र कार्यकर्ताहरु नोकर जस्तो देखिने व्यवहारमात्र होइन पार्टीलाई समय,परिस्थिति र कार्यकर्ताको मनोभाव बुझ्ने खालको समेत बनाउन नसक्ने अनि पार्टीका नीति,योजना,कार्यक्रमहरुलाईभन्दा नेतृत्वमा कसरी पुग्न सकिन्छ भन्ने अल्पकालीन सोच नै पार्टी एकतावद्ध र एकीकृत हुन नसक्नुका कारणहरु हुन् । कालान्तरमा यी कारणहरु नै फुटका कारक तत्व हुन सक्छन् । ( युवराज ज्ञवाली,पार्टी कस्तो बनाउने ? पुस्तकबाट)
कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेर केही प्रगतिशील कामहरु नभएका होइनन् तर सोचजति हुन सकेन भन्ने गुनासो नेतृत्वले बुझ्नै पर्छ । सरकारमा रहेका पार्टीका नेताहरुले नेपालीहरुका अनुहारमा कसरी खुसी ल्याउन सकिन्छ ? दुःखका दिनहरुलाई कसरी कोशीमा बगाउन सकिएला पटक पटक सोच्नुपर्छ । समातामूलक समाज निर्माण गर्दै सिंगो नेपाल र नेपालीहरुको मनोबल,राष्ट्रियताप्रति सचेत र देशप्रेमी नागरिक बनाउन कम्युनिष्ट पार्टीले २२ अप्रिललाई पार्टी स्थापनाको सम्झना दिवस वा सिर्जनशील दिन बनाउने छ
नेता,कार्यकर्ताहरु सिर्जनशील हुने,पार्टी स्थापनाको औचित्य प्रमाणित गर्ने ,नेपालीहरुलाई असल नागरिक बनाउन र देशका निम्ति उनीहरुका खाँचो प्रमाणित गर्ने खालका कामहरुमा कसरी लगाउन सकिन्छ भनेर सिर्जनशील दिनका रुपमा अप्रिल २२ लाई लिन सकेमा वर्तमान समयमा नेपालका कम्युनिष्ट पार्टीहरुमा देखापरेका अप्रिल फुल मनाउने चलन हटेर जाने थियो कि !
प्रतिक्रिया