ताजा अपडेट »

मृत्युको मिटर...

मंगलबार, ०९ बैशाख २०७७

मृत्युहुन्थ्यो, हुन्छ र भइरहन्छ । यो अनपेक्षित हुन्छ । मृत्यु कहिले, कसरी आउछ पत्तो हुँदैन । तथापि केही मृत्यु नचाहेर पनि अपेक्षित हुँदा रहेछन् । अनि यो मानव जगतले क्रिकेट प्रतियोगिताको रन झैँ बसेर गन्न र विभिन्न माध्यमबाट सम्प्रेषण गर्न बाध्य हुँदोरहेछ । त्यसैले त त्यस्ता मृत्युहरु सार्है क्रूर र पीडादायी हुँदा रहेछन् । जसले विश्व मानव समुदायलाई हायल–कायल बनाउँदो रहेछ । मृत्यु वास्तविकताहो । जीवन बिनाको मृत्युु र मृत्यु बिनाको जीवन कल्पना भन्दा बाहिरको कुरा हो। विज्ञानले पनि जीवन मात्र कल्पना गर्न सक्दैन । नत मृत्यु मात्र । जीवनमात्र रहनेहो भने पृथ्वीले पनि भार थेग्न सक्ने कुरा भएन ।

संसारको सृष्टिसँगै चेक एण्ड व्यालेन्सको सिद्धान्त जन्मेको हो । त्यसैले जीवन र मृत्युु एक सिक्काका दुई पाटा नै हुन् । प्राणी मात्र नभएर संसारका पहाड चट्टानहरु पनि सधैँ उही रुपमा रहन सक्दैनन् । सिर्जना हुने र नाश हुने चक्र सदा चलिरहन्छ । त्यसैले प्रकृतिको नियम अनुसार भइरहने सामान्य मृत्युलाई मानिसले सहजरुपमा स्वीकार गर्छ । आनाकानी, नाइनास्ति गर्दैन,गर्न सक्दैन । मर्नेले मृत्युलाई सहज रुपमा अँगालो मार्न पुग्छ । अन्यले पनि त्यसलाई स्वीकार्छन् । तर,अनायसै लाखौँले ज्यान गुमाउनुपर्ने नरसंहारको अवस्थालाई भने मानव जगतले कसरी सामान्य मृत्युको दर्जामा राख्न सक्ला र ?

कोभिड-१९ र यसले निम्त्याएको मृत्युका अपडेटले वास्तवमै संसारलाई चकित पारिरहेको छ । यो एक्काइसौँ सताब्दी हो । अहिले विश्वभर इन्टरनेटको पहुँच पुगेको छ । फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चलाउनेको संख्या मात्र लगभग तीन सय करोड रहेको श्रोतहरुले देखाउँछन् । त्यो बाहेक मानिसहरुले अन्य थुप्रै सोशल साइट, इमेल आदि प्रयोग गरिरहेका छन् । विशेषगरी सामाजिक संजाल प्रयोगकर्ता शिक्षित नै हुनुपर्छ भन्ने छैन । साक्षर मात्र भएपनि पुग्ने हुन्छ । अधिकतमको हात-हातमा मोवाइल र इन्टरनेटको समेत पहुँच पुगेकोले नचाहेर पनि कोभिड–१९ले निम्त्याएको संक्रमण र त्यसबाट मृत्यु भएकाहरुको मिटर हेर्र्न, गन्न र भन्न जोकोही बाध्य छन् ।

आज कोभिड-१९ को महामारीले हरेक पल आफ्नो देश, छिमेक र सारा संसारभर कति जनालाई शिकार बनायो भनेर सुन्न, सुनाउन मानिस विवश छ । निर्वाचनमा उम्मेदवारको मत गणनाको रेकर्ड अद्यावधिक गरेझैँ समय-समयमा मानिसहरु त्यही मृत्युको मिटर हेर्न बाध्य छन् । यो मृत्यु विश्वमा नव इतिहासकै कहिल्यै नमेटिने कलंकका रुपमा रहेको छ। ठूूला-ठूूला प्राकृतिक विपत्ति, बलिभन्दा अधिक संख्यामा मानिसहरुको असामयिक मरणले सबैलाई मर्महात बनाएको छ ।

वास्तवमा दैनिक सामान्य मृत्यु वाहेक लगभग थप सात, आठ हजारको असामयिक मरण चान-चुन हैन । तथापि यो एक कटु यथार्थ हो । औषधि वा खोप पत्ता नलागेसम्म संक्रमक रोगसँग कस्को के नै लाग्ने रहेछ र ? एक्काइसौँ शाताब्दीको मेडिकल साइन्स,विज्ञान र प्रविधिनै कोभिड १९ सँग जुँध्न असफल सावित भइदियो ।त्यसैले मानिसहरु आज मृत्युको भयमा बाच्न र अन्ततोगत्वा मर्न वा मृत्युको साक्षी बन्न बाध्य छन् । लास गन्न बाध्य छन् । बाँचे भगवान भरोसा ।

एकजना अज्ञात लेखकले जीवन र मृत्युुका विषयमा एक रोचक प्रश्नोत्तर सिर्जना गरेका छन् । जीवनले मृत्युुलाई प्रश्न गरेछ कि मानिसहरु मलाई माया गर्छन तर, तिमी (मृत्युु)लाई किन घृणा ? त्यसको उत्तरमा मृत्युुले भनेछ कि तिमी(जीवन) सुन्दर झुट हौं भने म पीडादायी सत्य। वास्तविकता पनि यही हो । मानिसहरु वास्तविक सत्य वा मृत्युुलाई सकेसम्म टार्न खोज्छन् । तर,क्षणीक जीवनजो मृत्युुसम्म पुग्नै पर्छ, त्यसलाई सारै सम्मान भाव राख्छन् । हो वास्तवमा जीवन एक थ्रियटर नै रहेछ । हामी त्यसका पात्र । जब जीवनको पाटो सकिन्छ तब मृत्युले हामीलाई अंगाल्न पुग्छ । जसरी जीवनलाई हामीले माया गरेर अँगालेका हुन्छौँ भोलि मृत्युलाई पनि सोही रुपमा अँगाल्न हामी बाध्य हुन्छाँै ।

त्यसैगरी जीवन र मृत्युुका बारेमा अमेरिकन प्रख्यात उपन्यासकार, कवि सिल्भियाप्लाथले आफ्नो कविता ‘लेडी लजारस’मा सकारात्मक रुपमा बयान गरेकी छन् । उनी भन्छिन् ‘मर्नु अरु क्रियाकलाप गरेजस्तो एक कला हो। यसको अर्थ जीवनमा हुने विभिन्न क्रियाकलापहरु जस्तो जन्म, विवाह, भोक, तिर्खा जस्तै मृत्युु पनि एक क्रियाकलाप नै हो । जसलाई हामी आफ्नो कलाअनुसार प्रस्तुत गर्छौ । प्राणी मात्र नभएर संसारका पहाड चट्टानहरु पनि सधैँ उही रुपमा रहन सक्दैनन् । सिर्जना हुने र नाश हुने चक्र सदा चलिरहन्छ ।’ तथापि उनको यो भनाई सामान्य मृत्युका लागि मात्र सिमित रहन्छ । कोभिड-१९ले ल्याएको आम नरसंहारमा यो भावनाले प्रतिनिधित्व गर्न किमार्थ सक्दैन । यस रोगले उमेर पुगेको र रोगीलाई होइन जोकोहीलाई र जुनसुकै बेला सिकार बनाइरहेको छ ।

मृत्यु हुन्थ्यो, हुन्छ र भइरहन्छ तथापि मत्तासुर भएर कोभिड-१९ले निम्त्याएको विनाशलाई सहर्ष स्वीकार गर्नु र मृत्युको मिटरका अंकहरु गणना गर्नुको कुनै विकल्प रहेन । तर, आशाको दियो मरेको छैन । विश्वभर यस रोगको औषधीको बारेका दु्रतगतिमा अध्ययन, अनुसन्धान भइरहेका छन् । आशा गरौँ छिटै यो भाइरसलाई मानिसले अवश्य हराएरै छाड्ने छन्। त्यो दिन छिटै आउने अपेक्षा सहित हालसम्म मृत्यु भएका प्रतिहार्दिक श्रद्धाञ्जली । मृत आत्माले शान्ति पाउन् ।