चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को महामारीले आज संसार आक्रान्त बनेको छ । कोभिड–१९ को कारणले विश्वभरबाट हालसम्म डेढ लाख भन्दा बढीको ज्यान गइसकेको छ भने करिब २४ लाखभन्दा बढी मानिस यसबाट प्रभावित भइसकेका छन् । विज्ञान र प्रविधिले युक्त विश्वका आर्थिक महाशक्ति भनाउँदा देशहरू समेत यो समस्याबाट आच्छु-आच्छु भइरहेको वर्तमान अवस्थामा नेपाल समेत यो महामारीबाट अछुतो रहन सक्ने कुरै भएन ।
विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि धाउनुपर्ने नेपालीहरूको बाध्यताका कारण यो महामारी नेपालमा दिनप्रतिदिन फैलिँदो अवस्थामा छ । महामारी रोकथामका लागि देशमा लकडाउन गरिएको छ । उद्योग, कलकारखाना, विद्यालय, कलेज र अन्य व्यापारिक केन्द्रहरू ठप्प छन् । यो महामारी सामाजिक र आर्थिक हिसाबले पनि निकै ठूलो समस्याको रूपमा देखा परेको छ । आज हामीले जे–जस्ता समस्याहरू भोगिरहेका छौँ त्यो भन्दा बढी विकराल र कल्पना गर्न नसकिने अवस्था यहाँ भोलि सिर्जना हुन सक्छ ।लकडाउनका कारण पछिल्लो रिपोर्ट अनुसार करिब दुई लाखभन्दा बढी निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू निर्माण स्थलमै फसेको अवस्था छ । पछिल्लो पटक दैनिक रूपमा काठमाडौँबाट बर्दियासम्म र पोखरादेखि झापासम्म १२/१५ दिनसम्म हिँडेर मानिसहरू आफ्नो घरमा पुगेको अवस्था छ ।
त्यस्तै निकै ठूलो संख्यामा भारतका विभिन्न स्थानबाट मौसमी श्रमिकको रूपमा कार्यरत विशेष गरी पश्चिम नेपालका नेपालीहरू नेपाल फर्कने क्रममा लकडाउनका कारण नेपाल भारत सीमामा रोकिएका छन् । उनीहरू लकडाउनपछि नेपाल फर्केर घरपरिवारलाई भेट्न पाइने आशामा नेपाल भारत सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका छन् । कति श्रमिक बीच बाटामै अलपत्र परेका छन् । कतिको काम छुटेको छ । यस्तो अवस्थामा भारतमा काम गर्न जाने श्रमिकको अवस्था अत्यन्तै नाजुक छ ।कामविहिन बनेका र घर फर्कन चाहेका लाखौँको संख्यामा रहेका यी नेपालीहरूलाई महामारीले पारेको प्रभाव कसले बुझ्ने? चाहे निर्माण क्षेत्रमा कार्यरत श्रमिक हुन् वा नेपाल भारतको सिमा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपाली नै किन नहुन्। अर्कोतर्फ नेपालभित्रका धर्तीपुत्र किसानहरूको अवस्था उस्तै छ । मौसम अनुसार समय मिलेमा कोही नेपालीहरू निर्माण लगाएतको क्षेत्रमा काम गर्छन् भने ठूलो संख्यामा नेपालीहरू भारतका विभिन्न सहर लगाएत विभिन्न क्षेत्रमा श्रमिकको रूपमा काम गर्छन् । जब आफ्नो गाउँ–ठाउँमा खेतीपातीको समय आउँछ तब गाउँ फर्किन्छन् र कृषि पेशामा सरिक हुन्छन् । यसरी रोजीरोटीका लागि मौका अनुसार देशविदेश धाउने नेपालीहरूका लागि कोरोना भाइरस जीवनको एउटा कठोर कहर बनेको छ ।
हाल नेपालको राष्ट्रिय कूल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा कृषि क्षेत्रले ओगटेको छ । त्यसमा पनि हाम्रो कृषि प्रणाली निर्वाहमुखी र परम्परागत छ । उचित सिकाई र आधुनिक कृषि रणनीतिको अभावमा कृषि क्षेत्र बल्ल बल्ल चलेको छ । आधुनिक कृषि प्रविधि, उन्नत बीउ विजन र रासायनिक मलको व्यवस्था हुन सकेको छैन । त्यसमा पनि बिउ विजन र रासायनिक मलको लागि पूर्ण रूपमा विदेशीको भर पर्नुपर्ने अवस्था छ । यस्तो परिस्थितिमा यो महामारी लम्बिँदै गएको खण्डमा देशमा भयावह र डरलाग्दो स्थिति आउने कुरालाई नकार्न सकिन्न। विश्वव्यापी कोरोना भाइरसको महामारीको कारणले अहिले नेपालमा मात्र होइन सम्पूर्ण विश्वका उद्योगधन्दाहरू बन्दको अवस्थामा रहेका छन् । त्यस्तै यातायातको साधनबाट ढुवानी गर्न सक्ने अवस्था पनि तत्काल देखिँदैन। त्यसैले हाम्रा कृषि श्रमिकहरू कोही लकडाउनमा त कोही क्वारेन्टाइनमा रहेको अवस्था छ । बीउ बिजनको अभाव र आफ्नै देशमा रासायनिक मलको उत्पादन नभएको र भारतबाट ल्याउन ढुवानीको समस्याले हाम्रो कृषि क्षेत्रको उत्पादनमा ठूलो ह्रास आउने देखिन्छ ।
कोरोना महामारीको कारणले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव परिसकेको छ । रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरू विदेशमा कार्यरत छन् । नेपालीहरू कार्यरत देशहरू विशेषगरी मलेसिया, कोरिया, जापान र खाडीमुलुक लगायत अन्य देशहरूमा अहिले महामारीको प्रकोप छ । जसले गर्दा विदेशमा कार्यरत नेपालीहरूको भविष्य अन्योलग्रस्त बनेको छ भने २५ प्रतिशत भन्दा बढी कुल ग्राहस्थ उत्पादनमा योगदान गरेको रेमिटान्स आउन बन्द हुँदै गए देशमा गरिबी र राज्यको ऋण बढ्दै जाने कुरामा कुनै शङ्का छैन । पछिल्लो आधिकारीक तथ्यांकअनुसार भारत र अन्य मुलुक सहित करिब ७० लाखभन्दा बढी नेपालीहरू बाहिर रहेको अवस्था छ । कागजमा कृषि प्रधान देश भनिए पनि परम्परागत कृषि प्रणालीको कारण वार्षिक करिब २५ अरब सम्मको कृषि सामग्री बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । ठूलो संख्यामा नेपालीहरू मुलुक बाहिर रहँदा पनि यति धेरै रकमको कृषि उपज आयात गर्नुपर्छ भने सबै नेपाली देशमा फर्किएर यतै बस्न पर्ने अवस्था सिर्जना भए के होला ? यदि महामारीका कारण नेपालीहरू रोजगारीका लागि जाने देशहरूमा आर्थिक मन्दी छायो र नेपालीहरू रित्तो हात घर फर्कन बाध्य भए भने देशको अवस्था कस्तो होला ? हामी कल्पनासम्म गर्न सक्दैनौँ ।
जीवनमा सबैभन्दा ठूलो चूूनौती भनेको भोक हो । भोकको समाधान हुन नसके कोरोनाको महामारीभन्दा ठूलो सङ्कट देशले भोग्नुपर्छ । यस्तो परिस्थितिमा अहिले देशका विभिन्न स्थानमा फसेर रहेका कृषि श्रमिकहरूलाई सुरक्षित किसिमबाट आआफ्नै ठाउँमा र्पुयाएर कृषि कार्यमा लगाउनु बुद्धिमानी हुन्छ । यसको लागि गुल्मीको धुर्कोट गाउँपालिकाले दुई वर्ष भन्दा बढी समय बाँझो रहेका खेतीयोग्य जमिनमा खेती गर्ने किसानलाई रू ३ देखि ५ हजारसम्म आर्थिक अनुदान दिँदै छ भने रूपन्देहीको तिलोत्तमा नगरपालिकाले यस वर्ष किसानले उत्पादन गरेको सम्पूर्ण गहुँ प्रति क्वीन्टल रू ३ हजार दरले खरिदका लागि योजना बनाए जस्तै अन्य स्थानीय निकायले पनि यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।
अन्यथा भोलिको अवस्था हाम्रो कल्पना बाहिर जान पनि सक्छ । त्यसैले यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।यदि समय र परिस्थितिलाई नजरअन्दाज गरेमा अहिले हामी जसरी कोरोना भाइरसको महामारीबाट पीडित छौँ ,त्योभन्दा ठूलो महामारी भोलिका दिनमा भोकमरीको हुनेछ । सतर्क र सचेत बनौँ, कृषिमा आत्मनिर्भर बनौँ ।
प्रतिक्रिया