मनुष्य जीवन एक संघर्ष हो यानिकि मानिसको जीवन संघर्षका जालाले जेलिएको हुन्छ । मानिस बाचुञ्जेल आफूूलाई संघर्षपूर्ण यात्रामा समाहित गर्दछ। संघर्ष जहिले पनि एकै प्रकृतिको हुँदैन । समय अनि परिस्थिति अनुसार संघर्षका रुप फेरिन्छन्।अहिले विश्वलाई नै आक्रान्त पार्ने गरी कोरोना भाइरसको महामारी फैलिएको कुरा त सर्वविदितै छ । यो परिस्थितिमा हामी अहिले आफू बाँच्न र अरुलाई पनि बचाउन कोरोना भाइरसको बिरुद्ध संघर्ष गरिरहेका छौं ।
कोरोनाको कारण अहिले पूरा विश्वनै लकडाउन अर्थात् बन्दाबन्दीको स्थितिमा छ भन्दा अन्यथा नहोला । जसलेगर्दा हामीले हाम्रा आफना काम गर्न असमर्थ छौं । यहाँ अहिले विद्यार्थी स्कूल कलेज गई पढ्न पाएका छैनन् । शिक्षकले पढाउन पाएका छैनन् । कर्मचारीले कार्यालयमा गई काम गर्न पाएका छैनन् । ब्यापारीले खुलेर व्यापार गर्न पाएका छैनन् । सबै व्यवसायहरु ठप्प प्रायः छन् । समग्रमा भन्नुपर्दा हामी सबै आ–आफ्ना क्रियाकलाप , पेशा व्यवसायलाई कोरोनाको कारणले बन्द गर्न बाध्य छौं । जसले गर्दा अहिले हामीलाई छोटो समयको लागि आफ्नो पेशा व्यवसाय गर्ने अवसर गुमेको छ
कोरोनाको कारण हामी तोकिएको सामाजिक दूरी कायम गर्दै सुरक्षित हुनको लागि घरमै बस्न बाध्य छौं । विश्व स्वास्थ्य संगठान तथा विज्ञका अनुसार कोरोनासँग बच्ने उत्तम उपाय यहिं नै हो । तत्काललाई काम गर्ने अवसर गुमाएका हामी समय अभावले गर्न नसकेका कामहरु गर्नुका साथै सिर्जनात्मक क्षमतालाई अभिवृद्धि गर्नेतर्फ केन्द्रित गरी यो विषम परिस्थितिमा बन्दाबन्दीको भरपूर मात्रामा सदूपयोग गर्नुपर्दछ ।
सन्–२०१९ को डिसेम्बर महिनामा चीनमा पहिलोपटक देखिएको कोरोना भाइरसले हालसम्म विश्वका २१० बढी देशमा आफ्नो साम्राज्य फैलाइसकेको छ । अहिले चीनमा केही मथ्थर देखिएको कोरोना अन्य देशमा द्रुत गतिमा फैलिएको छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित हुनेको संख्या बढेसँगै हाम्रो देश नेपालमा कोरोना संक्रमणको खतरा झन् बढ्दै गएको छ । यस्तो अवस्थामा आम नागरिक संयमित हुनु जरुरी हुन्छ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने , घरमै बस्ने , समय समयमा राम्रोसंग साबुन पानीले हात धुने , बाहिर निस्कनै पर्ने भयोभने मास्क लगाउने र स्यानीटाइजरको प्रयोग गर्ने भन्ने कुरा हामी सबैलाई अवगत छ । यो कुरा विश्व स्वास्थ संगठनले बारम्बार सम्झाइरहेको छ । हामीले पनि यहिँ उत्तम उपाय नै अबलम्बन गर्ने हो । यसको विकल्प छैन । सरकारले पनि घरमै सुरक्षित बसौं भन्दै सुरुमा चैत्र ११ गते एक हप्ताको लागि भनेर गरेको बन्दाबन्दी निरन्तर बढाउँदै आगामी बैशाख १५ सम्म पुराएको छ । संसारका शक्ति राष्ट्रहरु यो विषम परिस्थितिको सामना गर्न बन्दाबन्दी मार्ग पछ्याइरहेका बेला नेपालले अरु के नै पो गर्न सक्छ र ? हामी कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय अबलम्बन गरेकोले यो संकटको घडीलाई सकारात्मक सोँचका साथ सदुपयोग गर्न दृढ हुनु जरुरी छ । यो वर्तमान समयको माग हो ।
अहिले हामी घरमै छौं । हाम्रो दिनचर्यालाई घर वरिपरी सिमित पार्न हामी बाध्य छौं । प्राय सबैलाई दिन काट्न गाह्रो परेको छ । जिन्दगी उकुमुकस बनेको छ । चारैतिर छटपटाहटको स्थिति बढिरहेको छ । यद्धपि स्थानीय सरकार , प्रदेश सरकार , संघीय सरकार , आम सञ्चार माध्यमले यो विषम परिस्थितिको सामना गर्नको लागि सामाजिक दुरी कायम गरी संयमता अपनाई घरमै बस्न बारम्बार अनुरोध गरेको गरै छन् तर, पनि उकुस–मुकुस र छटपटाहट कायमै देखिन्छ ।यस्तो समयमा हामीले धैर्यताको बाँध फुटाउनु हुदैंन । शान्त भई अत्यन्तै संयमताका साथ म घरमै छु सुरक्षित छु भन्ने सकारात्मक सोंच मनमा राखी आफूूलाई घरमै बसेर गर्न सकिने बिभिन्न क्रियाकलापमा ब्यस्त राख्नु पर्दछ । घरभित्रै गर्न सकिने शारिरिक अभ्यास तथा योगाले मानिसलाई शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्न सहयोग गर्ने हुनाले यस्ता क्रियाकलापमा जोड दिनुपर्दछ ।
विद्यालय तहदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरुले पढ्ने लेख्ने कार्यमा निरन्तरता दिंदै घरमै बसी बसी गर्न सकिने आ–आफ्नो रुचि अनुसारका बिभिन्न कार्यहरुमा जस्तैः कविता लेखन , कथा लेखन , संगित , गायन , नृत्य,चित्र कोर्ने,घरभित्रै खेलिने खेल , पाठ्यपुस्तक भन्दा बाहिरका पुस्तकको अध्ययन आदिमा आफुलाई व्यस्त राख्नुपर्दछ । बिभिन्न पेसा तथा ब्यवसायमा संलग्न व्यक्तिहरुले आफ्नो ब्यक्तिगत क्षमता तथा दक्षता वृद्धि गर्न सम्बन्धित पुस्तक , लेख , अनुसन्धानात्मक प्रतिवेदन आदिको अध्ययन , अनलाइन अन्तरक्रिया जस्ता गतिविधिमा आफूूलाई ब्यस्त राख्नु पर्दछ । घरका सबै सदस्यहरु मिलि आफ्ना रुचि अनुसारका कार्यमा ब्यस्त रहने , बेला बेलामा मनोरन्जनात्मक क्रियाकलापमा रमाउने , परिवारका बिरामी , असहाय , बच्चा तथा जेष्ठ सदस्यको उचित रेखदेख गर्ने आदि कार्यमा ब्यस्त रहँदा मनमा नकारात्मक सोँच पैदा हुन पाउँदैन । उकुस–मुकुस र छटपटाहट पनि बिस्तारै घट्दै जान्छ ।
जुन अभिभावकहरु बच्चा संस्कारिक भएनन् , संस्कार सिकेनन् , नैतिकवान भएनन् भन्ने कुरामा चिन्तित हुनुहुन्छ ख्याल राख्नुहोस अहिलेको समय तपाँइको लागि बच्चालाई संस्कार सिकाएर संस्कारिक बनाई आफ्नो चिन्ता दुर गर्ने उचित समय हो । किनभने मूलतः बच्चाले संस्कार सिक्ने भनेको घरपरिवारबाटै हो ।अहिले हामीले बच्चालाई नैतिकवान र संस्कारिक बनाउन सक्यौभने भविष्यमा देशमा खासगरी प्रशासनिक तथा राजनीतिक तहमा नैतिकता र असल आचरण सहितको संस्कारमाथि प्रश्न चिन्ह खडा हुने छैन । भविष्यमा विकास र समृद्धिको रथ गुडाउने आजका बच्चा नै भएकोले त्यो समयमा देशले हरेक क्षेत्रमा संस्कारिक एवम् नैतिकवान सक्षम तथा दक्ष जनशक्ति पाउनेछ
अहिलेको यो बन्दाबन्दीको समयमा हामी जो जहाँ छौं जुन कार्यमा खटिएका छौं त्यहिँबाट सामाजिक दूरी कायम गर्दै, सुरक्षित हुँदै, कोरोना संक्रमितको उचित हेरचाह गरौँ , उनीहरुलाई हौसला प्रदान गरौँ । सरकारको आग्रहलाई सिरोधार्य गरी बन्दाबन्दीको पूर्ण पालना गरौँ कोरोना संक्रमित हुनबाट आफूू पनि बचौं र अरुलाई पनि बचाऔं । घरमै बसौं , सामाजिक दूरी कायम गरौँ र सुरक्षित रहौं । – लेखक प्राध्यापन पेशामा आवद्ध छन्।
प्रतिक्रिया