ताजा अपडेट »

७७ वटै जिल्लामा आरडीटी परीक्षण

सोमबार, ०८ बैशाख २०७७

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६८ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको र तीमध्ये कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म विस्तृत परीक्षण अर्थात् पीसीआरमार्फत आठ हजार ८१ र दु्रत आरडीटीबाट २१ हजार ४८६ जनाको परीक्षण भएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७७ वटै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको जानकारी दिए । उनले हाल देशभर १०३ जना कोरोना सङ्क्रमणको आशङ्कामा आइसोलेसनमा रहेको स्पष्ट पारे । तीमध्ये काठमाडौंँमा पाँच र काठमाडौँ बाहिर ९८ जना रहेका छन् ।

प्रवक्ता देवकोटाले दिनहुँ परीक्षणको दायरा बढिरहेको स्पष्ट गर्दै परीक्षणमा सङ्क्रमण नदेखिएकाहरूलाई क्वारेन्टाइनबाट घर पठाइएको जानकारी दिए । देशभर पाँच हजार १८० जना क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए । कोरोनाबाट नआत्तिन आग्रह गर्दै उनले आत्मबलले कोरोनालाई जित्ने प्रमाणित भइसकेको बताए ।