ताजा अपडेट »

कैलालीका २१ वर्षीय युवा कोरोना जितेर डिस्चार्ज

आइतबार, ०७ बैशाख २०७७

बुटवल । कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको आइतबार अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनी १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए।

भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिबारबाट कोरोना संक्रमणको पुष्टि भएको थियो।  दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।  कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज भएका हुन्।उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए।  

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएका बिरामीहरुको संख्या ४ पुगेको छ । यसअघि, काठमाडौँबाट २ जना तथा बाग्लुङबाट एक जना निको भएर घर फर्किसकेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ।