ताजा अपडेट »

कोभिड पछिको अर्थतन्त्र ‘कालो बादलमा चाँदीको घेरा’ बन्न सक्छ

शनिबार, ०६ बैशाख २०७७

कोरोना संक्रमणको कहरले विश्व प्रभावित भैरहेको छ । निराशा व्याप्त छ । अब के होला ? कसो होला ? भन्ने शंसय छ । विश्वको आर्थिक क्षेत्रमा ठूलो आर्थिक संकट आउने आँकलन भैरहेको छ । वैदेशिक सहयोग, ऋण, अनुदान र विप्रेषणमा आधारित हाम्रो अर्थतन्त्रमा दुरगामी असर पर्ने अड्कलबाजी भैरहेका छन् । भनिन्छ, हरेक बादलमा चाँदीको घेरा हुन्छ । नेपालको सन्दर्भमा पनि महामारीले सिर्जना गरेको कठिन परिस्थितीले विकासका लागि सुस्पष्ट मार्गनिर्देश गर्न सक्ने सम्भावना पनि छ । वैदेशिक रोजगारी गुमाएर फर्किनेहरुका लागि बाँझो रहेका जमिन सिञ्चित गर्ने अवसर छ । जनशक्तिलाई कृषि उद्यमतर्फ उन्मुख गर्न सकियो भने खाद्यान्नमा आत्मनिर्भर भएर व्यापारघाटा कम गर्न सकिन्छ । लाहुरे संस्कृति कम गरेर आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने अवसर देखिन्छ । विगतमा अंगिकार गरिएका विकास सम्बन्धि गलत अवधारणा सच्चाएर कोर्स करेक्सन गर्ने अवसर हुन सक्छ महामारी पछिको समय ।

कृषिको आधुनिकिकरण नभै औद्योगिक क्रान्ति हुँदैन भन्ने जगजाहेर कुरा हो । हाम्रोमा भने कृषि क्षेत्र नै ध्वस्त छ । कुल ग्रार्हस्थ उत्पादनमा ३२ प्रतिशतको योगदान दिने योे क्षेत्र उपेक्षित हुनु बिडम्बना हो । गाउँ रित्ता छन् । जमिन बाँझा छन । आशा गरौं अब माफियाहरु गाउँ गाउँमा पुगेर डोजर लगाएर प्लटिङ्ग गर्ने कुराको अन्त्य हुनेछ । अहिले देशमा ज्ञान र श्रमशक्तिको अभाव देखिएको छ । हामी शुन्य क्षमतामा रहेछौं भन्ने कुरा कोरोना कहरले देखाइदियो । हाम्रा विश्वविद्यालयहरुको भूमिका निरिह देखिदै छ । मेडिकल शिक्षा फगत व्यापार मात्र रहेछ । अनुशन्धान शुन्य । ठुला ब्यापारीहरु, राज्य सञ्चालकहरु मानविय संवेदनाको पनि ब्यापार र भ्राष्टाचार गरिरहेको भन्ने समाचारले चरम निराशा देखिदै छ ।

विगतमा हाम्रा शासकलाई कृषिको जगमा टेकेर समृद्धि हासिल हुन्छ भन्ने कुराको हेक्का भएन । डि.भि., बैदेशिक रोजगारी र पि. आर.को नाममा नेपाली युवालाई बिदेसिन बाध्य पारियो । नवउदारवादको अन्धानुकरण गरेर देशमा नै रोजगारी दिने उद्योग समाप्त पारिए । पछिल्ला २० वर्ष यताको बसाईं सराइको ट्रेण्ड हेर्दा विकास र सभ्यताको केन्द्र शहर मात्र हो जस्तो देखियो । श्रमबाट विमुख हुने प्रवृत्ति देखियो ।

शहरमा बसे पनि गाउँकै उत्पादनमा निर्भर हुनुपर्ने कस्तो बिडम्बना ? खसि, बोका, कुखुरा गाउँका तर खपत गर्ने उपभोक्ता तिनै शहरिया गाउँले । आफ्नो गाउँका उत्पादन महङ्गो रेष्टुरेण्टमा गएर चिकन फ्राइ, ममः, चाउमिन र सेकुवाको रुपमा खपतकर्ता गाउँकै मानिस । गुणस्तरिय शिक्षाका लागि शहरमा नै बस्नुपर्छ भन्ने छैन । आखिर शहरका नाम चलेका विद्यालयमा अध्यापन गर्ने जनशक्ति पनि त गाउँका नै हुन् । मोबाइल, इन्टरनेट, स्याटलाइट टेलिभिजन अहिले गाउँ गाउँमा पुगेको छ । सडक सञ्जालले प्रत्येक बस्ती जोडिएका छन् ।

उहिले खाद्यान्न अपुग भएर किन्नुपर्ने अवस्था (जस्लाइ बेसाहा किन्ने भनिन्थ्यो) निकै लाजमर्दो अवस्था मानिन्थ्योे । घरपरिवारलाई अपुग हुने अन्नको जोहो गर्नु परे मान्छेहरु लुकेर रातिमा जाने गर्थे । छोरीचेलिको विवाहका लागि खेतबारी कति छ, उत्पादन कति हुन्छ भनेर मुल्याङ्कन गरिन्थ्यो । अथवा कृषि हाम्रो मुल कर्म थियो । गौरव थियो । कहाँबाट शुरु भयो राम्रोसंग पढ् नभए हलो जोत्लास भन्ने भनाइ ? के आफ्नो धर्ति खनजोत गर्नु अभिषाप हो ? सोच बदल्ने बेला अब आएको छ । आखिर बहुसंख्यक नेपालीहरुले विदेशमा गर्ने कार्य पनि त थ्री डि अर्थात डर्टि (फोहोर), डेण्जर (जोखिमयुक्त) र डिफिकल्ट (जटिल/अप्ठ्यारो) न हो । अहिले छोराछोरी अस्ट्रेलिया, अमेरिका, बेलायत हुने नहुनेसंग परिवारको मान,शान र ईज्जत जोडिन्छ । तराइ वा ठुला शहरमा घर घडेरी हुनु अनिवार्य जस्तै भएको छ । नभए पहाड÷गाउँ जानुपर्ने अवस्थामा छोरी, चेलि नदिने प्रचलन छ ।

विकासको सामान्य परिभाषा हो ‘सकारात्मक परिवर्तन’ । पछिल्लो दुई दशकमा हामीले अबलम्बन/वकालत गर्ने गरेको विश्वकरण (ग्लोबलाइजेसन), उदारिकरण र नीजिकरणको बाटो अब करेक्सन गर्नुपर्ने उपयुक्त समय आएको छ अहिले । पुर्वाधार विकासका नाममा पहाडका गाउँ गाउँमा डोजर चलाउन बन्द गरिनुपर्छ अब । यातायातको सुविधा विस्तार भएसंगै अब गाउँका सामुदायिक विद्यालयहरु गाभेर सबैलाई पायक पर्ने ठाउँमा गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ । कनिकुथि अंग्रेजि बोल्नु । जानि नजानी टाई बाँधेर हिड्ने र शहरको एउटा कुनामा बसेर स्कुल बस चढेर विद्यालय जानुपर्ने विरोधाभाषको अन्त्य हुनुपर्छ । स्थानीय निकाय मातहतमा माध्यमिक तहसम्मको शिक्षा आइसकेपछि अब करोडौं लगानी भएका सामुदायिक/सरकारी विद्यालयबाट नै हामीले गुणस्तरिय शिक्षा प्रदान गर्न सक्छौं । माटोको माया गर्ने कर्णधार उत्पादन गर्न सक्छौं । सभ्यता र विकास शहरमा मात्र हुन्छ भन्ने परम्परागत बुझाइ गलत छ ।

सामाजिक, आर्थिक, राजनीतिक जे सुकै कारण भएपनि अहिलेको संकटबाट हामीले कोर्ष करेक्सन गरेर सहि मार्ग समात्न सक्छौं । कृषि मात्र नभएर यसमा आधारित बिभिन्न खाले लघु उद्यम शुरु गर्न सक्छौं । महाविर पुन जस्ता व्यक्ति जो म्याग्दीका गाउँ गाउँमा प्रविधि मार्फत विकास उजागर गर्न सकिन्छ भनेर सामाजिक उद्यमशिलतामा लागेका छन् । राष्ट्रिय आविष्कार केन्द्र खोलेर कार्य गरिरहेका छन् । यसबाट प्रेरणा लिन सकिन्छ । खालि राज्यलाइ दोष दिने । राजनीति ठिक भएन भन्ने । नेताका बानि ब्यवहारलाइ लिएर टिकाटिप्पणी गर्ने । देश विदेशका गफ हाँक्ने । तेरो पार्टी र मेरो पार्टी भन्ने सङ्किर्ण मानसिकता र हनुमानगिरी गर्ने अहिलेको परिपाटी बदलेर नीति दर्शन र सिद्धान्तको आधारमा नेतृत्व छनोट गर्ने । विवेकको सच्चा प्रयोग गर्ने जस्तो लोकतन्त्रको सच्चा अभ्यास गर्न सक्यौं भने अर्को एक दशकमा हामी अर्कै गन्तब्यमा पुग्न सक्छौं । दोश्रो विश्वयुद्ध र आवधिक रुपमा आइरहने भुकम्प । सुनामी जस्ता प्राकृतिकप्रकोपका बिचबाट पनि जापान विश्वको दोश्रो/तेश्रो अर्थतन्त्रमा अविच्छिन्न रहिरहनु जापानीहरुको परिश्रम र श्रमप्रतिको सम्मानले नै हो ।

तत्काललाइ हामी कृषिमा मात्र पुर्णरुपमा आत्मनिर्भर हुन सक्यौं भने पनि पुग्छ । निर्यात गर्न नसकेपनि तत्काललाइ आयात प्रतिस्थापन हुँदा भुक्तानी सन्तुलन बिग्रिन पाउदैन । त्यसपछि क्रमैसंग हामी औद्योगिक विकासतर्फ पाइला चाल्न सक्छौं । लौ बर्बाद भयो । अब ६० लाख विदेशिएका युवा फर्के भने के होला ? विदेशी मुद्रा आर्जनको श्रोत सुक्ने भयो । सबै खत्तम भयो भने जसरी पनि कुराहरु आएका छन् । हो एकैछिन हाम्रो आम्दानिका श्रोत सुक्दा या घट्दा उपयोगमा मितव्ययिता अपनाउनपर्ने हुन सक्छ । दलाल, नोकरशाही र सुदखोर नवधनाढ्य पूँजीपती वर्गलाई अप्ठ्यारो पर्न सक्छ । महङ्गा मोबाइलको किनबेच, सुनको कारोबार, शेयर बजार सुस्ताउला । हामी छिट्टै बौरिने छौं ।

भनिन्छ आवश्यकता नै आविष्कारको जननि हो । भेन्टिलेटर, मेडिकल किट, स्यानिटाइजरर पि पि इ लगायतका सामाग्रि नेपालभित्रै उत्पादन हुनसक्ने रहेछन् । समृद्ध नेपाल, सुखी नेपाली बनाउँने हाम्रो सङ्कल्पमा एकैछिन विलम्ब होला । पुर्णविराम होइन । धुलो टक्टकाएर उठी विकास र निर्माणको लय छिटै पक्डिन सक्नेछौं । सकारात्मक दृष्टिकोण र सुनौलो भविष्यको कामना गरौं । भुकम्प पछिको दुख, जनयुद्धका पछिल्ला पाँच वर्षको अवधि, त्यसपछिको नाकाबन्दी जस्ता विषम परिस्थीतिको सामना गरे जस्तै अहिलेको यो १/२ महिनाको लक डाउनले सिर्जना गर्न सक्ने समस्यालाई हामीले पार लगाउने छौं ।

सरकार, राजनीतिक पार्टी र वडा अध्यक्ष सहित प्रदेश र संघीय संसदमा हामीले चुनेर पठाएका प्रतिनीधिहरुको मुल्यांकन आगामी निर्वाचन मार्फत अभिव्यक्त हुने नै छ । निर्वाचित वैधानिक निकायलाई शंकाको सुबिधा सहित मजाले काम गर्न दिउ । सजग बनौं । वाच डगको भुमिका निर्वाह गरौं । स्वस्थ आलोचना गरौं तर पक्ष/बिपक्षमा लागेर कुण्ठित नहोऔं । सबै मिलेर यस महाविपत्तिको सामना गरौं । आशावादी बनौं । घनघोर कालो बादलमा चाँदीको घेरा खोजौं । आँधि, बेहेरी र मुसलधारे वर्षामात्र होइन । यो समय चिन्ता होइन, चिन्तन गर्ने समय हो । महामारी, व्याधी, प्राकृतिक विपद् आइनै रहन्छन् । मानव सभ्यताको विकास यी सबैको सामना गर्दै अहिलेको समयसम्म आएको हो ।