व्यक्ति व्यक्ति मिलेर परिवार बनेको हुन्छ । परिवारको साझा रुप नै समाज वा समुदाय हो । हाम्रो समाजको विकासक्रम लामो छ । हजारौं वर्षदेखि निरन्तरको अभ्यासबाट नै आजको समाज बनेको हो । २१ औं शताब्दीमा आइपुग्दा हामी प्रविधि र कम्प्युटरको जुगमा छौं । समयले मानिसलाई र मानिसले समयलाई बुझ्न सकेमा नै मानिस र समाजको उन्नति र प्रगति हुने गर्दछ । समाज विकासका निम्ति व्यक्ति एक्लैले सबै काम गर्न सक्दैन । समाज विकासका निम्ति त समाजमा रहेका समूह वा संस्थाहरुको महत्वपूर्ण भूमिका र दायित्व हुने गर्दछ । समाजको गतिशीलता भनेकै समाजमा रहेका सामाजिक संघसंस्थाहरुको क्रियाशीलता र योजनावद्ध अग्रगामी सोचसहितको दूरगामी दृष्टिकोण नै हो ।
हामी महिलाहरुले पछिल्लो पटक आफ्ना स्थानीय सरकारले गठन गरेका वा बनाएका सामाजिक एवम् टोल विकास संस्थाहरुमा रहेर आफ्ना क्षमता र दक्षता देखाउने अवसर प्राप्त गरेका छौं । यो हामीहरुका निम्ति सुनौलो अवसर समेत हो । अवसरले नै उन्नति हुन्छ भन्ने कुरालाई हामी महिलाहरुले अति नै मिहिन तरिकाले बुझेका छौं । म यतिबेला देशकै नमूना तिलोत्तमा नगरपालिकाको वडा नं. ४ मा बस्छु । मेरो वडामा १० वटा टोल विकास संस्थाहरु छन् । त्योमध्ये शान्ति टोल विकास संस्थामा म सचिवको हैसियतमा क्रियाशील छु । हाम्रो जस्तो टोल विकास संस्थामार्फत स्थानीय सरकारले आफ्ना सामाजिक,आर्थिक,भौतिक,पर्यटकीय एवम् सांस्कृतिक र नैतिक विकासका निम्ति सहयोग र साथको अपेक्षा गरेको हुन्छ ।
हाम्रो टोल विकास संस्थामा आवद्ध करिव पौने दुई सय घरधूरी छन् । पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्गजा र पर्वतबाट बसाइँ सरेर आएका हामीहरु यही टोलमा बस्दै आएका छौं । विशेष गरी ब्राह्मण,क्षेत्री र जनजातिको बसोबास रहेको हाम्रो समाजमा हिन्दू धर्म मान्नेहरुको पवित्र धार्मिक एवम् पर्यटकीय स्थल श्रृङ्गेश्वर धाम र अन्तर्राष्ट्रिय उदय परियति विहार समेत रहेकोले धार्मिक सहिष्णुताको संगम हो भन्न सकिन्छ ।
हामी टोल विकास संस्थामा रहेर हाम्रो लागिभन्दा पनि हाम्रै समाजका लागि क्रियाशील छौं । नगरपालिकाले राखेको दूरगामी योजना र कार्यक्रममा समेत हाम्रो सक्रिय सहभागिता रहेको छ । ग्रीन तिलोत्तमा, क्लििन तिलोत्तमालाई सार्थकरुपमा सफल बनाउन हामीले टोल विकास संस्था मार्फत सरसफाइमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छौं । तिलोत्तमा नगरले राखेको शून्य पोलिथिन कार्यक्रममा काँधमा काँध मिलाएर हिडेकै हौं । नगरपालिका मातहतको संस्था टोल विकास संस्था भएकै कारण आफ्नो नगरलाई सुन्दर र स्वच्छ बनाउनु हाम्रो दायित्व हो भन्ने कुरालाई हाम्रा टोलबासीहरुले आत्मसात् गरेका छौं ।
थोपा थोपा मिलेर समुद्र बन्छ भने जस्तै हामी नागरिक नागरिक मिलेर परिवार र परिवार परिवार मिलेर टोल विकास संस्था बनेको हो । हामी टोलमा बसेर लकडाउनको बेलामा आफ्ना टोलबासीहरुलाई कोरोनाका बारेमा सुसूचित गराएका छौं । सरकारको आदेशलाई पालना गर्न अनुरोध गरेका छौं । स्थानीय टोलबासीहरु मिलेर लकडाउन उल्लघंन हुन नदिनका निम्ति सामाजिक दूरी कायम राख्दै दैनिक गस्ति बढाएका छौं । नयाँ मानिसहरुलाई टोलमा प्रवेश निशेष गरेका छौं । सुरुआत्को समयमा टोलमा आएका परिवारका सदस्यहरुको नामावली संकलन गरेर वडालाई बुझाएका थियौं । टोलमा रहेका ज्यालामज्दूरी गरी खाने निमुखाहरुको नाम टिपेर राहतका लागि वडालाई अनुरोध गरेका छौं ।
हामीले नगरको भौतिक विकास,सुशासन तथा मानव संसाधन विकासका कार्यक्रमहरुलाई सक्दो सहयोग गरेका छौं । टोल विकास संस्थामा रहेर हामीहरु एक आपसमा परिचित हुने अवसर प्राप्त भएको छ । टोलका सबै मिलेर सामाजिक,धार्मिक,आर्थिक एवम् सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरेका छौं । एकआपसमा एैचोपँचो गरेका छौं । मानवीय सेवाको भावनालाई उजागर गरेका छौं । टोलको विकासमा ऐक्यवद्धता जनाएका छौं । तेरो मेरो होइन बरु हामी र हाम्रो संस्कारलाई अघि बढाएका छौं । आफ्नो क्षमता र योग्यता अनुसारका कार्यहरु गर्न हामीलाई कुनै समस्या भएको छैन ।
समाजको विकास क्रममा विभिन्न समस्याहरु आउन सक्छन् । समस्या जहिले पनि देखिन्छ । समाधान लुक्छ । समस्या अघिअघि लाग्छ समाधान पछिपछि हुन्छ भन्ने कुरालाई हामी जस्ता सामजिक कार्यकर्ताहरुले बुझ्नुपर्छ । समस्याको समाधान सबै मिलेर नै गर्ने हो । समस्या समाधान गर्नकै लागि हामी टोल विकास संस्थाको डोरीमा माला बनेर उनिएका हौं । टोल विकास संस्था हाम्रो सिंगो माला हो । हामी टोलबासी त्यही मालाको थुङ्गे फूल हौं ।
अहिले हामीहरु कोरोनाबाट भयभीत छौं । यो संसारकै समस्याको रुपमा आएको छ । यसलाई समाधान गर्ने जिम्मेवारी हामी टोलबासीहरुको समेत हो । यो रोगको समाधान गर्नका लागि लकडाउनको पूर्णपालना गर्नुपर्छ । प्रातःकालीन तथा सन्ध्याकालीन भ्रमणका नाममा लखर लखर नडुलौं । आफ्ना टोलबस्तीहरुमा नयाँ अपरिचित मानिसहरुलाई प्रवेश गर्न नदिऔं । मास्कको प्रयोगमा जोड दिऔं । घरमा बस्दा तातोपानी पिऔं । आफूलाई कुनैपनि किसिमको स्वास्थ्य समस्या देखिएमा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जाऔं र त्यसका लागि टोल विकास संस्थाले सक्दो सहयोग गर्ने छ ।
आफ्नो टोलमा कसैलाई तुरुन्त राहत चाहिएको छ भने मिलेर सहयोग गरौं । लकडाउनको बेलामा टोलबस्तीमा चोरी हुन सक्छ गस्ति बढाऔं । विरामी,नियमित औषधी सेवनकर्ता र स्याहार सुसार चाहिने व्यक्तिहरुको स्वास्थ्यमा ख्याल राखौं । स्वास्थ्य नै धन हो भन्ने कुरालाई हामी टोलबासी साथीहरुले बुझेका छौं र बुझाउने कोशिस गर्ने छौं ।
प्रतिक्रिया