काठमाडौ । फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी १९ वर्षीय युवती पूर्णरुपमा स्वस्थ्य भएकी छिन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट आज डिस्चार्ज भएकी हुन् ।
संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो । गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी ती युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफूलाई निकै सचेत र सजग राखेकी यिनले घरमा पनि पूर्णत: क्वारेन्टाइनको अनुशासन निर्वाह गरेकी थिइन् । पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएलगत्तै अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन् ।
काठमाडौं घर भएकी ती युवती फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् । पछिल्लो समय नेपालमा संक्रमितको संख्या ३० पुग्दा २ निको भएका छन् ।
प्रतिक्रिया