काठमाडौ । कोरोना भाइरसको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक र पाराओलम्पिक अर्को वर्ष गर्न पनि कठिन हुने स्वास्थ्य वैज्ञानिकहरुले बताएका छन्।
प्राध्यापक देभी श्रीधरले प्रभावकारी र सबैको पहुँचमा हुने खालको खोप वा औषधिको विकासले मात्र ओलम्पिक र पाराओलम्पिक जस्ता ठूला खेल महोत्सव आयोजनामा सकारात्मक भूमिका निर्वाह गर्न सक्छन्। यसै वर्ष जापानमा हुनुपर्ने टोकियो ओलम्पिक २०२० र पाराओलम्पिक २०२० कोरोना भाइरसको महामारीका कारण एक वर्षलाई स्थगित गरिएको थियो। जापानी सरकार, स्थानीय आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले संयुक्त रुपमा स्वास्थ्य पहिलो प्राथमिकता भन्दै अर्को वर्ष जुलाई २३ देखि अगस्ट ८ को मिति तय गर्दै यो वर्षको ओलम्पिक र पाराओलम्पिक स्थगित गरेका थिए।
तर आइओसीको समन्वय कमिसनका प्रमुख जोन कोट्स खोप वा औषधि पत्ता नलागेसम्म अर्को वर्ष पनि ओलम्पिक आयोजना गर्न कठिन हुने प्राध्यापक श्रीधरको भनाइसँग सहमत छन्। ‘आइओसी विश्व स्वास्थ्य संगठनको सल्लाहअनुसार चल्नुपर्छ। त्यसैले अहिलेकै अवस्था कायम रहे अर्को वर्ष पनि ओलम्पिक र पाराओलम्पिक गर्ने निर्णय कार्यान्वयन हुन गाह्रो छ,’ उनले भने। इडिनब्राउ विश्वविद्यालयको विश्व स्वास्थ्य विभागकी प्रमुख प्राध्यापक श्रीधरले ओलम्पिक आयोजनाको विषय खोपको विकासमा भर पर्ने बताइन्।
‘खोप विकास गर्ने कुरा सम्भव छ। वैज्ञानिकहरु यसमा आशावादी छन्। यसका लागि एक वर्ष वा डेढ वर्ष पनि लाग्न सक्छ। तर यो डरलाग्दो भाइरसको खोप वा कुनै अरु प्रभावकारी औषधि पत्ता नलागेसम्म ओलम्पिक र पाराओलम्पिक जस्ता ठूला खेल महोत्सव आयोजना व्यावहारिक हुँदैन,’ श्रीधरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘उनीहरुले ओलम्पिक एक वर्षका लागि सारेर राम्रो काम गरेका हुन्। अब आशावादी हुने र वैज्ञानिक समुदायलाई सहयोग गर्ने बाहेक अरु कुनै विकल्प कसैसँग पनि छैन।’
प्रतिक्रिया