बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोग परीक्षणका लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परीक्षणको गति तीब्र बनाउन निर्देशन दिएका छन् । उनले अब अझै कामको गति बढाउनुपर्ने र आपसी समन्वय बढाएर नतिजा निकाल्नुपर्ने बेला आएको बताए ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित प्रगति समिक्षा गर्न बसेको बैठकमा उनले भैरहवाको प्रयोगशालामा परिक्षणको गति बढाउन, दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । “अब अझै कामको गति बढाऔं्, तत्काल कामको नतिजा चाहिएको छ, अझ धेरै मिहिनेत गरेर अहिलेसम्मको कामको नतिजा निकालौं, परिक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मिहिनेत काम लाग्छ-उनले भने । प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा आइसियु सहितको कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको छ ।
कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र विरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए । बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट,निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम, समस्या र गर्नुपर्ने काम बारे जानकारीे गराएका थिए ।
प्रतिक्रिया