ताजा अपडेट »

कोरोनाले सिकायो : गरिखाने कि मरिजाने !

शुक्रबार, ०५ बैशाख २०७७

गोठभरि डिँगाबाच्छा हुन्थे । जग्गाजमिन बाँझो रहने त कुरै थिएन । कसैले खेती गर्न सकेन भने फलानोको खेतमा बुकी (एक किसिमको झार) उम्रने भो भनेर गाउँभरि चर्चा चल्थ्यो । खरबारीका खर समयमै काटेर गोठको टाँडमा थन्क्याईन्थ्यो । बारीका कान्लामा सबै चीज उब्जिन्थे, मानौँ ती सबै चीजवस्तुहरु परिवारको लागि वर्षदिनका आवश्यकता परिपूर्ति गर्न काफी छन् । बढी भएका सामग्रीहरु बेचिन्थे । नहुने केही थिएन । गहत, फापर (तीते,मिठे), पिँडालु, सिल्टुङ्ग (झिलङ्गी), अदुवा, हलेदो (बेसार) बारीका ढिक,कान्ला र छेउछाउँमा रोपिन्थे । यी अलिक दोश्रा दर्जाका खाद्यवस्तु मानिन्थे ।

पहिला दर्जाका वस्तुहरु धान, मकै, गहुँ, कोदो, जौ, तोरी आदि थिए । यी मूलखेतबारीमा खेती गरिन्थे । भैँसी सकभर लैना, बकेर्ना मिलाएर बाँध्ने चलन थियो । कुनै समयमा गोरसको कमी नहोस् । ठेकाभरि मोही, दही बार्है महिना नटुटोस् । हलगोरु गोठमा बाँधिन्थे । भलै वर्षमा चारदिन जोत्न पुग्ने मात्र बारी भएपनि । वर्षभरि दुःख गरेर गोरु पालिन्थ्यो । मलखात भरिको मलले कालै हुन्थे खेतबारीहरु । जहानहरु काम गर्थे । जसको घरमा बढी जहान छन् अर्थात श्रम गर्नसक्ने मानिसहरु छन् तिनीहरु छरछिमेकमा अर्मपर्म गरेर सहयोग पुर्याउँथे । एक किसिमको श्रम सहकारी थियो गाउँमा ।

‘जसका छोरा उसका धन, जसका भैँसी उसका वन’ यस्तो उखान गर्थे बुढाहरु (पाका पुस्ताहरु) । अर्थात् जसले पर्याप्त मात्रामा गाईवस्तुहरु पाल्छ उसले प्राकृतिक श्रोत अर्थात वनजङ्गलबाट घाँसपात, स्याउला आदि ब्यवस्थापन गरि फाईदा लिन सक्छ । वनजङ्गलको महत्व उसैले बुझेको हुन्छ । प्रशस्त छोराहरु भए भने बाहिरबाट धन सम्पत्ति कमाएर ल्याउँछन् भन्ने मान्यता थियो । जसरीपनि वर्षभरिलाई पुग्ने अन्नपातको जोहो हुन्थ्यो । धानले यति समय धान्ला, मकै, गहुँ, कोदो, जौ आदि यसरी प्रयोग गरौँला र बढी भए बिक्री गरौंला भनेर घरमूलीको आन्तरिक वार्षिक कार्ययोजना पहिले नै तय हुन्थ्यो ।

झेक्राँमा फल्ने काँक्रा, घिरम्ला, चिचिण्डा, लौकादेखि हिउँदे तरकारी मूला र केराउका बीऊबीजन समेत छानोमा घुसारिन्थ्यो । रोप्ने बेला खेजेर रोपिन्थ्यो । आधुनिक बीऊबीजन खोज्न सहर पस्नुपर्ने अवस्था नै थिएन । सिजन अनुसार फलेका तरकारी टिपेर छरछिमेकमा समेत बाँडिन्थ्यो । केरा, बेलौती (अम्बा), आँप, आरु जस्ता फलफूलहरु सिजन अनुसार फल्ने र पाक्नेक्रम चल्थे । सिजनमा पाकेका फल चाखिन्थ्यो । फलफूल किनेर खाने चलनै थिएन । कड्कुरो भरि वर्षदिनलाई पुग्ने दाउराको जोहो हिउँदमै गरिन्थ्यो । वर्षायाममा ओभानो दाउरा झिकेर बाल्ने हो । दाउरा खोज्ने टन्टै गर्न परेन ।

सके धेरै नसकेमा २/४ वटा बाख्रापाठा झुण्ड्याएमा यसबाट नूनतेल चल्छ भन्ने मान्यता थियो । बाख्रापाठा, कुखुरा–चल्ला आम्दानीका श्रोत थिए । खरिद गर्ने वस्तु नून, चिनी र मसला मात्र थिए । अरु कुरा घरमै पर्याप्त हुन्थ्यो । यसरी आत्मनिर्भर परिवारलाई समाजमा एकमानो खानपुग्ने परिवारको दर्जा दिईन्थ्यो । जुन आत्मनिर्भर परिवार हो । नेपाली ग्रामीण समाजमा वर्गीय विभाजन यहि नै थियो । कुनै दार्शनिक अथवा कार्लमाक्र्स, लेनीन आदिको सिद्धान्त अनुरुपको वर्ग विभाजन थिएनन् गाउँमा । वर्ग थियो त एक मानो खान पुग्ने र एक मानो खान नपुग्ने । कुरा घुमाउरो थिएन । जो आत्मनिर्भर थियो ऊ एक मानो खान पुग्ने वर्ग थियो भने जो आत्मनिर्भर हुन सकेको थिएन ऊ एकमानो खान पुग्ने वर्गमा पर्दैनथ्यो । यस्तैयस्तै परिवेशमा थियो नेपाली ग्रामीण समाज करीब दुईदशक अघिसम्म ।

श्रममा आधारित उत्पादन, ग्रामीण स्वच्छ पर्यावरण, अर्गानिक र स्वस्थ खानपिन, रैथाने स्थानीय बीऊबीजन, रासायनिक मल र विषादीको प्रयोगविना उब्जेका अन्न, फलफूल र तरकारीहरुको सेवनले मानिसहरु स्वस्थ थिए । औषधीको नाममा सिटामोल नखाई चौरासी पूजा गरेका ब्यक्तिहरु गाउँ समाजमा अझै देख्न र भेट्न पाईन्छ । यसोभन्दा अहिलेको पुस्तालाई अचम्म लाग्दो हो तर अहिले सारा विश्वलाई थर्कमान पार्ने गरि यमराज बनेर हाम्रो सामू कोरोना भाईरस तेर्सिएको छ । औषधीविज्ञानको सेखी झारेको छ । सिङ्गो मानव समुदाय र सभ्यता त्राहीमाम छन् । एकातर्फ हामीहरु रोगको शोकले भयभीत छौँ । अर्कोतर्फ हाम्रो बदलिँदो परिवेशको कारण सिर्जित समस्याले हामीलाई एकपटक फेरि सोच्न बाध्य बनाउँदैछ ।

सामाजिक परिवेशबाट हामी परिवर्तन भएको धेरै भएको छैन । त्यो समाज, त्यो परिवेश र त्यो ब्यवस्था एवम् सामाजिक वर्गीय विभाजनबाट हामी स्वावलम्बी र आत्मनिर्भर रहँदा रहँदै संसारको विकसित सभ्यताको प्रभावबाट हामी टाढा रहा सकेनौँ । हाम्रा आकांक्षाहरु थपिँदै गए । थपिनु पनि स्वभाविकै थियो । हामी जुन परिस्थितिमा निर्वाहमुखी जीवनपद्धति अँगाल्दै थियौँ । संसार दिनप्रतिदिन रंगीन बन्दै थियो,आधुनिक विकास र समृद्धिको गतिमा । हामीले हाम्रो जीवन ‘ब्लाक एण्ड व्हाईट’ ठान्यौँ । खान पुग्ने अन्नपात थियो । घरभरि जहान थिए । गोठभरि वस्तु थिए । जग्गाजमिन, घाँसपात प्रशस्त थियो । एक किसिमले नपुग्दो केही थिएन । त्यसबाट हाम्रो आकांक्षा पूरा नहुने केही थिएन ।

हाम्रा उत्पादनहरु आत्मनिर्भर बनाउनका लागि काफी थिए तर ती ब्यवसायिक उत्पादन थिएनन् । गाउँगाउँमा बाटो पुग्दा सक्नेले आफ्नै साधन चढ्न मन लाग्नु अस्वभाविक होईन । आफूले जीवनभर दुःख गरियो, छोराछोरीलाई सकेसम्म राम्रोसँग पढाउन, लेखाउन सके छोराछोरीहरु पुर्खाले गरेको कामबाट मुक्ति पाउलान् र यसबाट उनीहरुलाई मुक्ति दिनुपर्छ भन्ने मान्यता राखियो । रोगहरु बढ्दै गए । अस्पताल र उपचार महङ्गो भयो । सकेसम्म सहरको नजिक बस्न पाए औषधी, उपचार, आधुनिक शिक्षादीक्षा आदि सहज हुने, सुविधा सम्पन्न बसाई हुनसक्ने, रोजगारीका अवसरहरु सिर्जना हुन सक्ने, ब्यापार ब्यवसाय आदि वैकल्पिक पेसाहरुका माध्यमबाट सहज जीवनयापन गर्न सकिने अवसरहरु देखापर्न थाले । सहरबजार र सुगम स्थानहरुमा थोरै भएपनि घरघडेरी, जग्गा–जमिन जोड्ने महत्वाकांक्षी योजनाहरु हुनु अन्यथा होईन । थोरै पैसाले धेरै काम हुने अवस्थाको अन्त्य भईसकेको थियो ।

मानिसका हरेक आवश्यकताहरु पेैसाले मात्र पूरा गर्न थाल्यो । गाउँमा आत्मनिर्भर बनेर मात्र पुगेन । त्यसबाट खान लाउन बाहेक अन्य ती विभिन्न आवश्यकताहरु पूरा हुन सक्ने थिएनन् । छरछिमेकमा प्रतिस्प्रर्धा थियो । फलस्वरुप मानिसहरु गाउँबाट सहर, पहाडबाट तराईतिर बसाईसराई गर्ने अभियान नै सुरु भयो । अर्कोतर्फ कृषिमा आधारित हाम्रो देशको अर्थब्यवस्थामा रोजगारी र आयआर्जनका अवसरहरु शून्य देख्न थालेपछि उदाउँदै गरेको वैदेशिक रोजगारले युवाहरुलाई तान्यो । मेहनत र परिश्रममा आधारित हाम्रो समाजमा हुर्केका युवाहरु विदेशी भूमिमा आफ्नो श्रम बेचेर दुई दिनको जिन्दगीलाई सुखी बनाउने आशामा रातोदिन खटिन बाध्य हुन थाले । त्यो दोष हामी र हाम्रो समाजको होईन बरु बदलिँदो विश्व परिवेश र सभ्यताको हो ।

हामी यहिँनेर चुकेका हौँ । अरु मुलुकले जनशक्तिलाई सम्पत्ति ठाने । हामीले गन्दै गनेनौँ । हाम्रै देशका जनशक्तिको श्रम खरिद गरेर विश्व बजारमा चामत्कारिक विकास गर्ने मुलुकहरुबाट हामीले केही सिकेनौँ । त्यतिले नपुगेर जनशक्ति निर्यात गर्ने राष्ट्रको अध्यक्ष राष्ट्र हुनुमा गर्व ग¥यौं । हामीलाई सत्ता र राजनीतिक शक्ति नै प्यारो भयो । सधैभरि गरिवीमा पिल्सियर रहेको मुलुकमा कसको लागि सत्ता अभ्यास गर्दैछौँ हामीहरु ? के का शक्तिले बहादुरी देखाउँदैछौ हामीहरु ? हाम्रै माटोमा ती युवाका पसिना भिजाउनको लागि हाम्रो राजनीतिक चेतनाले खारिएको दिमागले कहिल्यै योजना बनाउन र कार्यान्वयन गर्न सकेन ! लाखौँलाख युवाहरुका पाखुरा अर्काको समृद्धिका लागि काम गर्दैछन् भने हाम्रो राजनीति के का लागि ?? यक्ष प्रश्न यही थियो ,छ र हुने छ ।

अहिले सिंगो विश्व नै नोबेल कोरोना भाईरस (Covid-19) सँग पौँठेजोरी खेलिरहेको अवस्थामा हामी विषम परिस्थितिमा गुज्रिरेहका छौँ । लाखौँ नेपाली युवाहरु विदेशमा अन्यौलग्रस्त भविष्य सम्झेर बाँचिरहेका छन् । ढिलो चाँडो उनीहरु स्वदेश फर्किन छन् र फर्किने वातावरण मिलाउनु पर्छ । अर्कोतर्फ हाम्रोजस्तो विकासशील मुलुकमा भर्खर बामे सर्दै गरेका विकासका पूर्वाधारहरु, उद्योग र ब्यवसायहरु, वित्तीय क्षेत्रदेखि सम्पूर्ण आर्थिक क्रियाकलापहरु ठप्प भईसकेका छन् ।

ग्रामीण परम्परागत कृषि उत्पादन हराईसकेका छन् । हाम्रा ब्यवसायिक उत्पादन भाषण र योजनामै सीमित छन् । सबैकुरा उत्पादन हुने क्षमता राख्ने हाम्रो देशमा आफ्नो देशलाई आवश्यक पर्ने कोदो, फापर, गहत र कागतीसम्म विदेशबाट खरिद गर्ने हाम्रो मुलुक नूनदेखि लसुनसम्म सबैकुरा आयात गर्ने मुलुक हो । कोरोना भाईरस नियन्त्रण त हुन्छ नै । यद्यपि यसबाट जनजीवनका विभिन्न क्षेत्रहरुमा परिरेहका असरहरुबाट हामीले सोचेजस्तो छिटो निकास पाउन सक्दैनौँ । हाम्रो अर्थतन्त्र आयातमा आधारित बनिसकेको छ ।

विगतका राजनीतिक आन्दोलन र नेपाल बन्द जस्तो समस्या होईन । यो त विश्वब्यापी महामारीको प्रभाव हो । हामीले वितरण गर्ने राहतमा बास्मति चामल भएन भनेर झगडा गरेका कुरा सुनिन थालेका छन् । यो दुःखद् खबर हो । महामारीसँग जुध्नको लागि एकछाक खाएर सहयोग गर्नुपर्ने अवस्थामा हामी तयार रहनुपर्छ । कुनैदिन राज्यले यस्तो अनुरोध गर्न सक्छ । हामीले अवस्था बुझेर राज्यलाई सहयोग गर्नुपर्छ । युरोप, अमेरिका जस्ता शक्ति सम्पन्न राष्ट्रहरु यो महामारीसँग जुधिरहेका छन् । उनीहरुका अर्थतन्त्र ठप्प नै छन् । हामीभन्दा अझै खाद्य सङ्कटको बिषम घडीमा उनीहरु पुगिसकेका छन् । हाम्रो भविष्य झनै अन्यौलग्रस्त बन्न सक्छ । छिमेकी मुलुकबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरु आयात भईरहन सक्ने कुराको सुनिश्चिचता रहँदैन भने राष्ट्रिय अर्थतन्त्र ठप्प भईसकेपछि नागरिकहरु बजारमा प्राप्त सामग्रीहरु रोजेर खरिद गर्नसक्ने अवस्थामा रहँनैनन् ।

त्यसैले मुर्झाएको ग्रामीण अर्थतन्त्र ब्युझाउँने अवसर अहिले हामीलाई प्राप्त भएको छ । हामी ब्यक्ति ब्यक्तिहरु आत्मनिर्भर हुन सक्यौँ भने सङ्कटको घडीमा राष्ट्र नै आत्मनिर्भर हुन्छ । त्यसैले पहिलो काम आत्मनिर्भर बन्नका लागि काम गर्नु जरुरी छ । पहिला बाँच्नको लागि उत्पादन गरौँ । यो अल्पकालीन ब्यवस्थापन हो । हाम्रो दर्घिकालीन लक्ष्य ब्यवसायिक उत्पादन र यस मार्फत समृद्धि नै हो । औद्योगिक र ब्यवसायिक प्रवद्र्धनका कुराहरु पछिपछि सोच्दै गरौँला । राज्यले के भाषण गर्छ र के घोषणा गर्छ भनेर पर्खिनु जरुरी छैन । घोषणा–पत्र पढेकै हो । भाषण सुनेकै हो । खाँचोको बखत स्वस्तिक छाप ठोकेकै हो । अझै आशा र कोरा कल्पनामा रमाउने दीवास्वप्न नदेखौँ ।
जमिन खोस्रिन सुरु गरौँ ।

बढीमा ६ महिनामा त जुनसुकै बाली तयार भईसक्छ । हामीले खेतीपाती गर्न छाडेर वनजंगल र झाँडी बुट्यान बढेकोले नै वन्यजन्तुहरुले सताउन थालेका हुन् । हतारमा कतार गयौं हामी । झाँडी फाड्न खाडीबाट आउनेहरुलाई स्वागत गरौं । खोरिया छाडेर कोरिया पुग्नेहरुलाई समेत गाउँमै बोलाउनु पर्छ । गाउँमा मानिसहरुको बाक्लो उपस्थिति र सबैतिर उत्पादन हुन थालेपछि वन्यजन्तुको समस्या बिस्तारै समाधान हुँदै जान्छ । यो प्रमुख समस्या होईन । यसबाट नआत्तिऔँ । सागपात छर्न थालौँ । १५/२० दिनमा तयार भईसक्छ । १/२ महिनामा अन्य तरकारीहरु फल्न थाल्छन् । पिँडालु रोप्यौँ भनेपनि एक महिनामा भिटामिन र आईरनयुक्त गाभा तयार हुन्छ । खोलेसाग, जलुका, निउरो खोल्सी खोल्सीमा छन् । स्वास्थ्यवद्र्धक र पौष्टिक यी प्राकृतिक उत्पादनहरु टिपेर खाऔँ ।

भविष्यमा ब्यवसायिक प्रवद्र्धनका लागि सोँचौ । छिटो उत्पादन हुने जात रोज्यौँ भने २/३ महिनामा पोलेर खाने मकै तयार हुन्छन् । चैते धान असारमा पाक्छ । फर्सीका मुन्टा एक महिनामै तयार हुन सक्छन् । करेला र भिण्डी छिट्टै फल्छन् । धानको बीउ राख्ने तयारी गरौँ । बीउ छैन भने खोजौँ । राज्यले घरमा बीउ ल्याउँछ भनेर पर्खेर नबसौँ । खेत बाँझै रहला । डोकोमा बोकेर गाउँमा ग्याँसको सिलिण्डर पु¥याउन जरुरी छैन । ग्याँस पाईएन भने चिन्ता नगरौँ । धूवाँ नहुने चुलो निर्माण गरौँ र बर्खाभरिलाई पुग्ने दाउरा अहिले नै जोहो गरेर राखौँ । तरकारी र अन्नबालीको खेतीमा अहिले नै लागि हाल्यौँ भनेपनि यो वर्ष हामीलाई एकमानो खान दुःख हुने छैन ।

धेरै युवाहरु गाउँ फर्किसकेका छन् । बाँकी युवाहरु फर्किनेछन् । अल्पकालीन उत्पादन सुरु गर्दै दीगो र ब्यवसायिक उत्पादनमुखी योजनाको तयारी गरौँ । ब्यवसायिकरुपमा काम गरिरहेकाहरु कतै बहकिएका पो छौँ कि ? समाचारमा आए जस्तै सडकमा पोखिएका दुधबाट घ्यू, पनिर, छुर्पी र मिठाई बनाउन किन सकिएन ? खाडल खनेर गाड्ने कुखुरा र सडकमा पोख्ने दूध राहतमा वितरण गर्न किन सकिएन ?

त्यसैले भोलिका लागि योजना बनाउँदा विकल्पहरुका विश्लेषण गर्दै बहकाउबाट टाढा रहेर योजना बनाउन जरुरी छ । अब फर्किने युवाहरुले उत्पादन र उद्यमशीलतालाई मूलमन्त्र बनाउनुपर्छ । श्रमप्रति विश्वास गर्नुृपर्छ । प्रतिवद्धतासहितको योजनाबद्ध उत्पादनमा लाग्नुपर्छ । विदेशमा सिकेका ज्ञान,सीपहरु के–के छन् ? राज्यले नखोजेपनि दाजुभाइ बसेर समीक्षा गरौँ । कहाँ के गर्न सकिन्छ ? एकमानो खाने बाटो हामी आफैले बनाउन सक्छौँ । कोरोनाले हामीलाई कि गरिखान कि मरिजान सिकाएको छ ।