आज बैशाख २ गते बिहानै जीवन संगिनीले बिस्तारामा नै “ह्याप्पी बर्थडे टु यू ” भनेर ब्युँझाइन् । पछि छोराहरुले हग (अंगालो )गरेर जन्मदिनको शुभकामना दिए ।चरण स्पर्श गरे । जन्मदिन मनाउने, केक काट्ने, मैनबत्ति निभाउने कुरा पटक्कै मन पर्दैन मलाई । लाग्छ जीवन छोटिदै गएको खुशियालीमा के उत्सव मनाउँनु ? दुई बिस उमेर पार गर्दै गर्दा अहिलेसम्मको जीवनयात्राको सिंहावलोकन गर्न मन लाग्यो । लकडाउनको समयको सदुपयोग भनेपनि हुन्छ ।
हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ पढेको सम्झना भयो । २०७० सालमा पढेर राखेको उक्त पुस्तक फेरि दोहोर्याएँ । पढ्दै जाँदा लाग्यो म पनि त चिना नभएको मान्छे हुँ नि । अनि लेख्न बसें यो संस्मरण । बन्दाबन्दीको यो समय मौन साधना गर्ने समय पनि रहेछ । एकपटक विगतलाई सम्झिन मन लाग्यो । मेरो नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति हो बैशाख २ गते । आमालाई सोध्दा अल्मलिनुहुन्छ । भन्नुहुन्छ ३ गते हो कि ? निरक्षर आमासँग त्यो बेलाको धुमिल सम्झना बाहेक अरु तथ्य केहि छैनन् । सायद अहिलेको पुस्ता जस्तो बर्थडे मनाउने चलन भएको भए आफ्नै जन्मदिनको तिथि–मिति थाहा नहुने विरोधाभाष हुन्थेन होला ।
पछि अलि बुझ्ने भएपछि सोधखोज गर्दा कुनैपनि प्रमाणित तथ्य भेटाउन सकिन । हिन्दु वैदिक परम्परामा सबैको जन्मकुण्डली अर्थात् चिना बनाउने चलन अहिले पनि छ । आमालाई मेरो चिना बारे जिज्ञासा राख्दा नबनाइएको बताउनुहुन्छ । पितासँग त कहिल्यै पनि दोहारो संवाद गर्ने अवसर जुटेन । सबैभन्दा डर पितासँग लाग्थ्यो । के को डर हो के को ? अंग्रेजीमा भनिने फियर अब अननोन भने जस्तो । कम्यूनिष्ट विचारबाट प्रभावित भएर राजनीति र समाजसेवा गर्ने पिता श्री खै किन हो ? हामी छोराछोरीसँग कहिल्यै नजिक हुनुभएन ।
बाबा असाध्यै अन्तर्मुखी स्वभावको हुनुहुन्थ्यो । माओवादी द्घन्दको चपेटामा परेर सेनाको नजरबन्दमा रहँदा जीवन जिउने जिजिविषा गुमाउनु भयो । अल्पायुमा (४९ वर्षको उमेरमा) नै उहाँको देहावसान भयो । उतारचढावपूर्ण जीवनको रोलरकोस्टरमा आँफै होमिन बाध्य भएँ । बहिनीहरुको अभिभावकत्व, आमाको हेरविचार, भर्खरै शुरु भएको वैवाहिक जीवनलाई अगाडि बढाउनुपर्ने जिम्मेवारी थपियो एकाएक । आफ्नो अध्ययन अघि बढाउँदै शिक्षण पेशा अंगाल्न पुगेँ १९ वर्षको उमेरदेखि नै ।
पढ्ने, लेख्ने र अध्ययन गर्नमै दिन बितिरहेका छन् । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थी र अभिभावकहरुको न्यानो माया र सद्भाव छ । बाउबाजेको खानदानी विरासतमा गर्व गर्नुभन्दा पनि आफ्नै अस्तित्व र पहिचान स्थापित गरेर चिनिन मन छ । आधा आयु बाँचेको अहिलेसम्मको समयलाई फर्केर हेर्दा गुनासो गर्नुपर्छ जस्तो लागेको छैन् । जागिर अझ खास गरेर सरकारी जागिर त खानुहुँदैन भन्ने पिताजीको मार्गनिर्देशनको पालना गर्दै एकपटक पनि लोकसेवाको फाराम भरिएन । विदेश जाने लालसा कहिल्यै जागेन । डि.भि भर्ने जाँगर चलेन । वहाँको इच्छा अनुसार व्यवसायि वा उद्यमी बन्न पनि सकिएन । यद्यपि माष्टरी जीवन र श्रीमतीको जागिरबाट पनि सामान्य मध्यमस्तरिय जीवनयापन गर्न सकिने रहेछ । आशावादि र निरन्तर अविचलित क्रियाशिल हुने हो भने ।
पाल्पा जिल्लाको सुदुरपश्चिम विकट गाउँमा जन्मेको हुँ म । परिवारको एक्लो छोरो । पाँच बहिनीहरु । राजनीतिक चेत र शिक्षित पिताजीले म पछिकी बहिनी जन्मेपछि परिवार नियोजन गर्ने सोंच्नुभएको रहेछ । सल्लाह गर्न घर आउँदा हजुरआमाले हकार्नु भएछ । भन्नुभएछ ‘एकमाना खर्च र एक्लो छोराको भर पर्नुहुँदैन । नियतिको खेल त्यसपसछि लगालग २/२ वर्षको अन्तरालमा पाँच बहिनिहरु जन्मे । हजुरआमाको दोस्रो नाति देख्ने अभिलाषा पूरा हुन पाएन । छुवाछुत र जातीय भेदभावको चलन भएपनि मेरो बाल्यकालको हुर्काइ छिमेकी (कामी) दलितहरुको घरआँगनमा भयो । आमा घाँसपात र घरायसी काम सकेर लिन आउँदा रात परिसकेको हुन्थ्यो।
आप्mनो जन्ममिति/तिथि यकिन गर्न काठमाण्डौमा अध्ययन गर्नेबेला त्रि.वि को केन्द्रिय पुस्तकालय गएर आफू जन्मेको सालको बैशाख २ र ३ गतेको गोरखापत्र खोजेँ । तर ,उक्त मितिको गोरखापत्र पनि भेटिएन । मेरो ‘बर्थडे’ यकिन हुन सकेन । हुन त म भौतिकवादी दर्शनलाई आत्मसाथ गर्ने मान्छे हो । कर्मकाण्ड, मूर्तिपूजा र अलौकिक शक्तिमा त्यति विश्वास लाग्दैन।
हरिवंश आचार्य आफ्नो आत्मकथा चिना हराएको मान्छेमा लेख्छन्–‘मेरो मात्र होइन संसारमा जति मान्छे छन्, सबैको चिना हराएको छ । ज्योतिषीले बनाएको चिना भएर पनि भविष्य रहस्यमय छ । भोलि के हुन्छ ? कतिखेर को सँग विछोड हुन्छ, केही थाहा हुँदैन । यहाँ चिना हुने मान्छेहरुको पनि चिना हराएको छ ।’ मैले क, ख पढ्न सिकेको विद्यालय जोगवाणी हो । यो नामको अर्थ मलाई अझै थाहा छैन । त्यस्तै जन्मभुमि भुवनपोखरीको पनि । पुष १४ गते तत्कालिन राजा विरेन्द्रको जन्मदिनमा विद्यालयमा ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारा लगाउनुपथ्र्यो । पछि बुटवल आएपछि पनि धागो कारखाना अवलोकन गर्न आएका राजा रानीलाई स्वागत गर्न राजमार्गको छेउमा दिनभर बसेर जय–जयकार गरेको सम्झना ताजै छ ।
चार कक्षामा पढ्दा स्कुलको कोठाको दलिनमा झुण्डिरहेको बेला एकजना साथिले तलबाट खुट्टा समाइदिँदा लडेर कालोपाटिको बिटमा लागेर दाहिने हात को हड्डि कुहिनाबाट फुस्किएछ । गाउँमा उपचारको प्रबन्ध थिएन । हात सुन्नियो । अथाह पिडा भयो रातभरी । अर्कोदिन मिसन अस्पताल तानसेन लगियो मलाई । हार्थोक पुगेर गुल्मीबाट आएको ट्रकको पछिल्लो भागमा भेडाबाख्रा जस्तै खादिएर साँझ भुषाल डाँडा पुगियो । रातभरी असह्य पिडा भयो । तेस्रो दिन बल्ल भर्ना भएर उपचार सुरु भयो । बेहोस बनाउन सुँघाइएको औषधिको गन्ध अभैm सम्झना छ । बिउँझिदा अस्पतालको बेडमा हात भुण्डिइरहेको थियो । भुसालडाँडामा पहिलोपटक पाउरोटीको स्वाद चाखेको सम्झना छ । एउटा पाउरोटीको मूल्य एक रुपैयाँ थियो सायद ।
विद्यालयमा को आयो को आएन भनेर सोध–खोज गर्ने चलन थिएन त्यो बेला । कहिलेकाहीं स्कुल नगएर बिच बाटोबाट नै भागिन्थ्यो । कहिले मध्यान्तरको समयमा भागेर बन, जंगल चहारिन्थ्यो । बाबाको नामले गर्दा यत्तिकै पास भइन्थ्यो । म चञ्चल स्वभावको थिएँ । बाल्यकाल चञ्चलता र उद्यण्डतामा बित्यो । तर करुणाको गुण नभएको मान्छे सिर्जलशील हुनै सक्दैन । छ कक्षा पास भएर सातमा जाने बेलामा मलाइ अध्ययनको लागि बुटवल ल्याइयो । हुन त गन्तब्य अन्तै आफन्तकोमा थियो ।
बाबाका ब्यापारी साथी/साहुको सल्लाहमा उनीहरुका छोराछोरी पढ्ने विद्यालय (बोर्डिङ्ग स्कुलमा) भर्ना भएँ चार कक्षामा । ढाकाटोपी लगाएको देख्दा साथिहरु टोपा भनेर जिस्काउँथे । अंग्रेजी माध्यमको पढाइ निकै सकसपूर्ण भयो शुरुशुमा । तर कक्षा चारको वार्षिक परीक्षामा दोस्रो स्थान हासिल गर्न सफल भएँ । हौसला बढ्यो । चित्र कोर्न, चेस र क्यारमबोर्ड खेल्न सिकेँ । त्यसपछि विद्यालय तहमा कहिल्यैपनि दोश्रो हुन परेन । कक्षा पाँचमा विद्यालय प्रथम भएपछि एक कक्षा फड्को मारेर सातमा पुगेँ । सात कक्षामा पनि प्रथम भएर फेरि आठ नपढी नौ कक्षामा फड्को मारें ।
साँचो हो रहेछ डोर बहादुर बिष्टले ‘भाग्यवाद र विकास’ पुस्तकमा भनेको–“भाग्यवादमाथिको गहिरो विश्वासले मिहिनेत गरी खाने संस्कार र केही हासिल गर्ने उत्प्रेरणाको भावनालाई नष्ट पारिदियो…भाग्यवादले कुनै समस्याको उद्देश्यमूलक समाधान खोज्ने र लक्ष्यप्राप्तिलाई आफ्नो अभिष्ट बनाउने काममा ठूलो असर पार्दछ ।… -(२०७७ बैशाख २ गते, तिलोत्तमा–३, रुपन्देही)
प्रतिक्रिया