ताजा अपडेट »

कोरोना अपडेट : विश्वभरीमा ११ हजार ३८७ को मृत्यु (कहाँ कति ?)

शनिबार, ०८ चैत्र २०७६

काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण शुक्रबारसम्म ११ हजार ३८७ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरण अनुसार संसारभरी दुई लाख ७४ हजार ७०७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्।

सङ्क्रमित व्यक्तिहरुमा ८८ हजार ४८३ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ४७ हजार ६४६ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण हालसम्म १८५ देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २४८ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार २७९ जना सङ्क्रमित रहेका छन् । हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यसको सङ्क्रमणका कारण ४ हजार ३२ व्यक्तिको मृत्यु भएको छ । हाल ४७ हजार २१ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार चार हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ४३३ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ६४४ जना सङक्रमित रहेका छन् । ६ हजार ७४५ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ। स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण १ हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ५७१ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार एक हजार ५८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ४४ व्यक्तिको मृत्यु भएको छ । हाल १५ हजार ३२० जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार ११५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण २१७ व्यक्तिको मृत्यु भएको छ । हाल १४ हजार ३६५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १२५ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ३७२ व्यक्तिको मृत्यु भएको छ । हाल १० हजार ९९५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १ हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ६५२ सङ्क्रमित भएका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार २ हजार २३३ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विजरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ४३ व्यक्तिको मृत्यु भएको छ । चार हजार २२२ सङ्क्रमित भएका छन् । यसैबीच १५ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण १४४ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २६९ सङ्क्रमित भएका छन् । यसैबीच ६५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।भारतमा हालसम्म कम्तीमा २०१ वटा कोरोना भाइरस सङ्क्रमणका घटना देखापरेका छन् । देशभर सयौँको सङ्ख्यामा मानिसलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टाइन’ केन्द्रमा राखिएको छ । शुक्रबारसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५ व्यक्तिको मृत्यु भएको छ । देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर विज्ञले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

श्रीलङ्कामा ६०, अफगानिस्तानमा २२, बङ्गलादेशमा १४, माल्दिभ्समा १३ वटा सङक्रमण हालसम्म देखापरेको छ ।