ताजा अपडेट »

घोराहीमा एक जनामा कोरोनाको आशंका, आइसोलेसनमा राखेर उपचार हुँदै

शुक्रबार, ०७ चैत्र २०७६

घोराही । दाङको घोराहीमा नोवेल कोरोना भाइरस (कोभिड-१९) को आशंकामा एक किशोरमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । भारतबाट घोराही आएका एक किशोर शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेपछि उनको स्वास्थ्य अवस्थाले कोरोना भाइरसको संक्रमणको आशंका गरिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । अस्पताल प्रशासनले भन्यो, -“विरामीको स्वास्थ्य अवस्था र लक्षण हेर्दा कोरोनाको शंका गरिएको हो, तर यसको पुष्टि हुन नमूना लिएका छौं, केही दिन कुर्नुपर्छ ।'

घोराही निवासी १७ वर्षीय ती किशोर भारतबाट आएका हुन् । उनको निजी हस्पिटलमा उपचार सम्भव नभएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो । ती किशोरलाई विगत १८ दिनदेखि ज्वरो आइरहेको भएपनि उनी केही दिनअघि भारतबाट घोराहीस्थित आफ्नो घरमा आएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । एक चिकित्सकले ती किशोरमा कोरोनाको आशंका गर्न मिल्ने उच्च ज्वरो, कफ, डाइरिया लगायतसमस्या रहेको जानकारी दिए । अहिले उनलाई प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यद्यपि उनी कोरोना संक्रमित हुन वा होइनन् यसै भन्न नमिल्ने बताइएको छ । काठमाडौं बाहेक अरू ठाउँमा कोरोना भाइरस जाँच हुदैँन । काठमाडौ बाहेक सबै ठाउँबाट बिरामीको स्याम्पल जाँचका लागि काठमाडौ पठाउनु पर्ने बाध्यता छ । यसैबीच, स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर (पर्सनल प्रोटिक्टिभ इक्यूपमेन्ट) प्रतिष्ठानमा एउटा मात्रै रहेकाले समस्या भएको छ । जनश्वास्थ्य कार्यालयले उपलब्ध गराएको पर्सनल प्रोटिक्टिभ इक्यूपमेन्ट बिना चिकित्सक पनि बिरामीको स्याम्पल लिन मानिरहेका छैनन् ।
प्रतिष्ठान स्रोतका अनुसार विरामीको स्याम्पल लिन समेत चुनौती छ ।

अर्काै तर्फ विरामीको स्याम्पल लिएपछि त्यो बोक्न आवश्यक पर्ने भाईरल ट्रान्सफर क्यारियर (भिपी क्यारियर) पनि प्रतिष्ठानमा छैन । त्यो स्पेशल क्यारियर बिना विरामीको स्याम्पल पठाउन सम्भव हुँदैन । अहिले जोखिम मोलेर चिकित्सकले बिरामीको स्याम्पल लिए पनि त्यो पठाउने क्यारियर नभएको हुँदा स्याम्पल तुरुन्तै काठमाडौ पठाउन सक्ने अवस्था नरहेको प्रतिष्ठान प्रशासन स्रोतले जानकारी दिएको छ । प्रदेश सरकार र संघीय सरकार कसैले पनि दाङमा हालसम्म कोरोना भाइरसको स्याम्पल बोक्ने भिपी क्यारियर नपठाएको उपचारमा खटिएका चिकित्सकले जानकारी दिए । आशंका गरिएका विरामीलाई अहिले आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।