ताजा अपडेट »

बुटवल उपमहानगरले थाल्यो कोरोना विरुद्ध विशेष तयारी

बुधबार, ०५ चैत्र २०७६

बुटवल । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणको लागि बुटवल उपमहानगरपालिकाले तयारी थालेको छ । यसअघि विज्ञहरुसँग छलफल गरेको उपमहानगरले बुधबार सरोकारवाला निकाय, व्यवसायिक संघ संस्था, सरकारी निकाय, प्रदेश सरकारका प्रतिनिधिहरुसँगको विशेष बैठक बसेको हो । बुटवल उपमनगरपालिकामा आयोजना गरिएको बैठकमा बोल्दै सरोकारवाला सबैले सम्भावित कोरोना भाईरसको जोखिम न्यूनीकरण गर्नको लागि आ–आफ्नो क्षेत्रबाट पुर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनीहरुले यसको लागि नीजी स्वार्थ भन्दा माथि उठेर विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बैठकमा प्रदेश ५ सरकारका स्वाथ्य निर्देशनालय प्रमुख डा. विनोद कुमार गिरीले सरकारले प्रदेशका ५ स्थानमा अस्थायी प्रकृतिको आईसोलेसन अस्पताल निर्माण गर्ने तयारी तिब्र पारिएको जानकारी दिए । उनले अस्थायी प्रकृतिको प्रयोगशाला स्थापना गर्नको लागि समेत तयारी थालिएको जानकारी दिए । कोरोनाबाट अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नभएको भन्दै यसको लागि पुर्व तयारी भने आवश्यक रहेको उल्लेख गरे । बैठककमा बुटवल उपमानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा रहेका अस्पतालहरुबाट हाल सम्म ३४ वटा बेड आईशोसेलनको लागि तयार राख्नेगरी प्रतिवद्धता आएको भन्दै यसलाई पूर्णरुपमा कार्यान्यन गर्नको लागि सबैले साथ दिनुपर्ने बताए । नीजी अस्पताल सञ्चालक संस्था(अफिन) का प्रदेश ५ संयोजक रामप्रसाद खरेलले आवश्यक परेको अवस्थामा पुरै अस्पतालनै आईशोलेसन गर्ने गरी काम गर्नको लागि समेत नीजि अस्पतालहरुले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले यसको लागि प्रदेश ५ का सबै नीजि अस्पतालहरु त्यार रहेको जानकारी दिए ।

बैठकमा बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष हरि प्रसाद अर्यालले सबैको साथ र सहयोग आपत विपत परेको बेलामा भएको भन्दै यसको लागि उद्योगी व्यवसायीहरुले पूर्णरुपमा साथ दिने जानकारी गराए । पश्चिम नेपाल बस व्यवसायी प्रालिका उपाध्यक्ष नारायण प्रसाद घिमिरेले बस व्यवसायीहरुबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता रहेको जानकारी दिए । यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले विपत्ती रोक्नको लागि पुर्वतयारी संस्थाले राम्रैसँग गरेको भन्दै यसको लागि सबैले साथ र सहयोग दिनुपर्नेमा जोड दिए ।

औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले नेपालमा कोरोना उपचारको लागि आवश्यक पर्ने प्रारम्भीक औषधीहरु निर्माण गर्ने कच्चा पादर्थ ६ महिना सम्मको लागि स्टक रहेको कारण आत्तीनुपर्ने अवस्था नभएको बताए । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, चिकित्सक डिबी खत्री, लगायतले सबैको साथ र सहयोगमा कोरोना रोकथामाका लागि पुर्व तयारी गर्न आवश्यक रहेको भन्दै यसमा साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।