ताजा अपडेट »

कोरोनाको त्रास : दाङका ठूला होटेल ठप्प, साना व्यवसायी धरापमा

मंगलबार, ०४ चैत्र २०७६

घोराही । विश्वव्यापी रुपमा फैलिंदै गएको कोरोना भाईरसको उच्च जोखिममा नेपाल पनि पर्ने विश्व स्वास्थ्य संगठनको निष्कर्षपछि सरकारले सार्वजनिक कार्यक्रमहरुमा रोक लगाउँदा दाङमा होटल व्यवसायलगायत अन्य ब्यवसाय पनि धरापमा छ । करोडौ लगानी गरेर खुलेका जिल्लाका ठूला होटल तथा लजहरु अहिले सुनसान जस्तै बनेका छन् । सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रमहरु हुने सिजन फागुन चैत्र भए पनि कोरोनामा त्रास फैलिएपछि होटलहरु सुनसान बनेका हुन् ।

दाङको घोराहीस्थित होटल माला इन हिजोआज सुनसान छ । कार्यक्रमहरु ठप्प छन् भने बाहिरबाट कुनै पनि मानिसहरु आएका छैनन् । माला इनमा बास बस्नका लागि ५१ वटा कोठाहरु छन तर हिजोआज ४ वटा पनि भाडामा जान मुस्कील रहेको र कुनै पनि कार्यक्रम नआउँदा होटल चलाउँनै मुस्किल भएको सञ्चालक ओविन्द्र महराले बताए । विभिन्न निकायहरुले बुक गरेका कार्यक्रमहरु पनि सबै रद्ध भएका उनको भनाई छ । ३५ जना कर्मचारी रहेको माला इनलाई उनिहरुलाई पारिश्रमिक कहाँबाट ल्याएर दिने भन्ने चिन्ता थपिएको उनले बताए । होटलको किस्ता र ब्याज तिर्न पनि कठिनाई हुने देखिएको महराको भनाई छ । ३० जना कर्मचारी रहेको भिङग्रेली भिलेज रिसोर्टले तलब कसरी दिने भन्ने चिन्ता बढेको सञ्चालक निरन्जन राज भण्डारीले बताए । बुकिङ भएका सबै कार्यक्रमहरु रद्द भएका छन् यसरी सबै काम चौपट भएपछि ४ देखि ५ लाखसम्म तिर्नु पर्ने कर्मचारीको तलब ब्यवस्था गर्न नसकिने उनको भनाई छ ।

यस्तो त्रास लामो समयसम्म रह्यो भने होटलनै बन्द गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कर्मचारीलाई नै बिदा दिनुपर्ने अवस्था आएको पनि सञ्चालक भण्डारीले बताए । ‘२३ वटा सुत्ने कोठा छन्, तर हिजोआज २ वटासम्म भाडामा जाने अवस्था छैन ।’ पिडा पोख्दै होटलका म्यानेजर प्रकाश पौडेलले भने ‘व्यापार चौपट भयो अब तलब के गरि खाने र कर्मचारीको जागिर कसरी बचाउने भन्ने चिन्ता लागेको छ ।’ ठूला होटलका ब्यवसाय धरापमा भएपछि साना ब्यवसायी मासु, तरकारी, डेरी, खाद्यान्नलगायतका ब्यवसायीहरुलाइ पनि मार परेको छ । सामानहरु बढिमात्रामा होटेलमै खपत हुने भएकाले आफूलाई समस्या भएको घोराहि १५ दाङमा मासु ब्यवसायी गर्दै आएका ब्यवसायी रोशन खड्काले बताए । नेपालमा कोरोना भाइरस अझैसम्म नभएको तर सामाजिक सञ्जालमा ब्यापक रुपमा त्रास भएको हुँदा पनि आफ्नो ब्यावसाय धरापमा परेको खड्काले गुनासो पोखे । यस्तै घोराहि–१५ दाङमा तरकारी ब्यवसाय गर्दै आएका विशाल पुनको गुनासो पनि यस्तै छ ।

‘१ दिन नेपाल बन्द हुँदा त हामीलाई कति मर्का पछ, झन यस्तो अवस्थामा हाम्रो ब्यवसयको अवस्था कस्तो होला ?’ प्रतिप्रश्न गर्दै उनले भने ‘यस्तो अवस्थामा सरकारले सहयोगको गरिदियोस भन्ने मेरो भनाई हो ।’ यसैबिच दाङ देउखुरी होटल व्यवसायी संघले कोरोनाको त्रासका कारण होटल व्यवसाय चौपट भएको बताएको छ । संघका अध्यक्ष रुद्रबहादुर डाँगीका अनुसार जिल्लामा भएका एक सय बढी लजहरु अहिले सुनशान रहेका छन् । बाहिरबाट मान्छेहरुको आवतजावत शून्य रहेको उनको भनाई छ । होटल सञ्चालन मै अप्ठेरो परेको भन्दै उनले कमाउने कुरा त परकै भयो कर्मचारीलाई तलब कसरी खुवाउने भन्नेमा व्यवसायीहरु चिन्तित् रहेको बताए ।