ताजा अपडेट »

ईयू नेताहरूले पनि कोरोनाबारे भिडियो कन्फ्रेन्स गर्ने

मंगलबार, ०४ चैत्र २०७६

ब्रसेल्स । नोवेल कोरोना (कोभिड १९) भाइरस संक्रमण र थप फैलिनबाट रोक्ने र संक्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यले मंगलबार यूरोपेली यूनियनका नेताहरूबीच भिडियो कन्फरेन्स हुने भएकाे छ । विश्वभर  कोरोना भाइरस फैलिएको अवस्थामा ईयूले भिडियो कन्फरेन्स गर्न लागेको हो ।

‘भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस संक्रमण र औषधीबारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने सम्भावित नतिजालाई सिमित तुल्याउन सम्मेलनले विशेष छलफल गर्नेछ ।’ यूरोपेली परिषद् प्रमुख  मिसेलले ट्वीटमार्फत जानकारी गराएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका नेताहरूबीच यस्तै सम्मेलन गत आइतबार भएको थियो भने सोमबार क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका (जी–७ राष्ट्र) का उच्च तहका नेताहरूबीच भिडियो सम्मेलनमार्फत कोरोना नियन्त्रणबारे छलफल भएको थियो । परिषद्का प्रमुख मिसेलले सम्मेलनको आह्वान गरेका हुन् ।विश्व स्वास्थ्य संगठनले अहिले यूरोपलाई कोरोना भाइरसको संक्रमण केन्द्रका रूपमा घोषणा गरेको अवस्थामा ब्रसेल्सले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण प्रयासलाई थप सशक्त पार्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताएको छ । सुरूमा चीनबाट पत्ता लागेको कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बन्दै गएको सन्दर्भमा विभिन्न मुलुक तथा क्षेत्रले एकतर्फीरूपमा आफ्ना सीमाबाट आवागमनलाई बन्द गर्ने तथा सिमानामा कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका कडा उपायहरू अवलम्बन गरेको अवस्थामा ईयू प्रमुखहरूले पनि ईयूको साझा धारणा बनाउने उद्देश्यका साथ छलफलका लागि सम्मेलनको आयोजना गर्न लागेको हो ।