ताजा अपडेट »

दाङमा भिषण वर्षासहित असिना, लाखौंको बाली नोक्सान

शनिबार, ०१ चैत्र २०७६

तुलसीपुर । दाङमा शनिवार भिषण पानी र असिना परेको छ । पश्चिमी वायुको प्रभावले देश भरीकै मौसम बदली भएको अवस्थामा दाङमा शुक्रबारदेखि हिउँदे बर्षा सुरु भएको हो । जिल्लामा शुक्रबार हल्का वर्षा भए पनि शनिवार दिउँसो भारी बर्षा हुनुको साथै असिना परेको थियो । बेमौसमी बर्षासँगै आएको असिनाले किसानहरुले लगाएको बालीनालीमा क्षति पुगेको छ ।

तुलसीपुर क्षेत्र सहित जिल्लाका विभिन्न स्थानमा भिषण असिना परेको छ । जसले गर्दा किसानहरु पिडित बनेका छन् । तुलसीपुर उपमहानगरपालिका ४ नम्वर वडाका विभिन्न स्थानमा भिषण बर्षा भएकोे छ भने एक फुट सम्मको असिना परेको बताईएको छ । कोईलाखानी टोल विकास संस्थाका अध्यक्ष धनसिंह पुनले शनिवार दिउँसो आएको भिषण असिना पानीले बालीनालीमा ठूलो क्षति पुर्याएको बताएका छन् । उक्त टोल अन्तरगत रहेका झन्डै ५०/६० किसानले विघौ जग्गामा लगाएको बालीनालीमा क्षति पुगेको उनले बताएका छन् । भेरीखोर, तरुले, सिस्नेकुटी, सिमलखोरिया लगाएतका क्षेत्रमा किसानले लगाएको गहुँ, मसुरोमा ठूलो क्षति पुगेको उनले बताएका छन् । यस्तै तरकारी खेतीहरु टमाटर, काउली, खुर्सानीमा पनि ठूलो क्षति पुगेको उनले बताए । त्यस क्षेत्रमा एक फुट सम्मको असिना परेको अध्यक्ष पुनले बताएका छन् ।

यस्तै मुल्कोटमा पनि असिना पानीले बालीनालीमा क्षति पुगेको मुल्कोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले जानकारी दिएका छन् । उनका अनुसार स्थानीय किसानले खेती गरेको टमाटर, खुसार्नी, मसुरो, गहुँँ, केराउमा असिनापानीले क्षति पुगेको छ । जिल्लाका विभिन्न स्थानीमा पानीसँगै आएको असिनाले कृषिबालीमा क्षति पुगेको हाे । शनिबार बर्षायाम झै भिषण वर्षा भएको हो । यस्तै जिल्लामा वितेको २४ घण्टाको अवधिमा ९ मिलिलिटर पानी परेको जल तथा मौसम फिल्ड कार्यालय घोराही दाङले जनाएको छ । यो प्रणाली कमजोर भएपछि आइतबारदेखि मौसम खुल्दै जाने मौसमविदको अनुमान छ ।

करोडौ ईट्टामा क्षति

यसैविच पटकपटक आएको हिउदे पानीले दाङमा करोडौँ मूल्य बरावरको ईट्टामा क्षती पुर्याएको छ । विभिन्न समयमा भएको बेमौसमी बर्षाका कारण करोड मूल्य बराबरको क्षती पुर्याएको ईट्टा ब्यवसायीहरुले जनाएका छन् । विभिन्न समयमा भएको हिउँदे बर्षाको कारण जिल्लाका ब्यावसायीका लाखौ मुल्यका काँचो ईटा नोक्सान भएको व्यवसायीले बताए ।

यसअघि पनि ईट्टामा नोक्सानी भएको भन्दै उनिहरुले १३ रुपैयाँ प्रति गोटा पर्ने ईट्टालाई प्रतिगोटा १६ रुपैयामा विक्रि गर्ने गरी मुल्य बढाएका थिए । दाङमा मात्र यो हिउँदे बर्षाले ३ करोड ईट्टा नोक्सान भएको र प्रदेश ५ मा करिब १५ करोड ईट्टामा क्षती पुगेको दाङ देउखुरी ईट्टा ब्यवसायीका महासचिव एवं प्रदेश ५ का कोषाध्यक्ष प्रेमनाथ योगीले बताए । ईट्टाको विमा नहुँदा पानीका कारण ब्यवसायीहरुले ठुलो क्षती ब्यर्होनु परेको उनले गुनासो गरे । सरकारसँग धेरै पटक विमामा लैजान माग गर्दा पनि कुनै सुनुवाई नभएको उनले बताए ।