बुटवल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएमा घरमै बसेर सामान्य उपचारपछि निको हुनेहुँदा आतङ्कित नहुन विज्ञहरुले सुझाब दिएका छन् । नेपालमा हालसम्म देखा नपरेको कोरोना संक्रमण भएमा ८० प्रतिशत विरामीको रोग सामान्य उपचारबाट नै निको हुनेहुँदा आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रदेश ५ अस्पताल विकास महाशाखा प्रमुख उमाशंकर प्रसाद चौधरीले बताए । पहिलो पटक चिनमा देखा परेको कोरोना भाइरसको संक्रमण विभिन्न यूरोपेली राष्ट्रहरुमा महामारीको रुपमा फैलिरहेको अवस्थामा भारतमा पनि देखा परेपछि नेपालमा थप चिन्ता बढेको हो । कोरोना संक्रमण नेपालमा छिर्न नदिनका लागि भारतीय सिमानाकासँग जोडिएका विभिन्न ठाउँहरु तथा विमास्थलहरुमा समेत स्वाथ्य शाखा स्थापना गरी परिक्षणको काम जारी रहेको निर्देशक चौधरीले जानकारी दिए । महाशाखाको तथ्याङ्क अनुसार विहिबारसम्म देशभर ९ हजार ४ सय ३४ जनाको स्वास्थ्य परिक्षण गर्दा कुनै पनि संक्रमित भेटिएका छैनन् । यसैगरी प्रदेश ५ भित्र सोही मितिसम्म २ हजार ८ सय जनाको स्वास्थ्य परिक्षण गर्दा कुनै पनि संक्रमित व्यक्ति फेला नपरेको चोधरीले जानकारी गराए ।
प्रदेश ५ स्वास्थ्य विभाग निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले बजारमा हल्ला फैलिए जस्तो नेपालमा कोरोनाको जोखिम नभएको बताएका छन् । कोरोना भाइरस हावाको माध्यमबाट नफैलिने हुँदा सिमा क्षेत्र, विमान स्थाल लगायतका ठाउँहरुमा सतर्कता अपनाए सजिलै बच्न सकिने बताए । कोरोना भाइरसका संक्रमितहरुमा देखिने प्रमुख लक्षणहरु श्वासप्रश्वासमा समस्या हुने, उच्च ज्वरो आउने तथा सामान्य रुँघा खोकिको जस्तै लक्षण देखा पर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनाल बताउछन् । संक्रमित व्यक्तिको उपचारका लागि ८० प्रतिशत विरामीलाई घरमा नै राखेर सामान्य उपचारपछि निको हुने, १५ प्रतिशत विरामीलाई अक्सिजन थेरापी गराएपछि निको हुने तथा ५ प्रतिशत विरामीलाई मात्रै भेन्टिलेटर थेरापी गर्नुपर्नेहुँदा कोरोना लागे पनि आत्तिहाल्नु पर्ने अवस्था नआउँने उनले बताए । हालसम्म नेपालमा कोरोना संक्रमितको आशंका गरिएका १ जनाको उपचारपछि निको भैसकेको तथा एक जनाको कोरोना नै हो भन्ने एकिन नभएकोहुँदा सशंकित हुन जरुरी नभएको उनले उल्लेख गरे ।
यसैगरी प्रादेशीक अस्पतालकै फिजिसियन डा. सुदर्शन थापाले हावाको माध्यमबाट रोग नफैलनेहुँदा निरोगी व्यक्तिहरुले मास्क लगाउनै पर्ने जरुरी नभएको सुझाव दिएका छन् । ‘हाम्रो हातमा यदि किटाणुहरु छन् भने हामीले आँखा, मुख तथा नाकमा हात लैजाँदा मात्रै उनिहरु हाम्रो शरिरमा प्रवेश गर्ने हुन् ।’–उनले अगाडी भने ‘निरोगी व्यक्तिहरुले मास्क नलगाएको नै राम्रो हुन्छ, मास्क लगायौं भने बारम्बार हाम्रो हात झन बढी मुखमा जान्छ जसले गर्दा संक्रमण हुने झन बढी सम्भावना हुन्छ ।’ संक्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजाने, स्यानेटाइजरको प्रयोग गरी बारम्बार हात धोईराख्ने तथा कसैसँग पनि हात नमिलाउन उनले सुझाब दिए । प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका मन्त्री सुदर्शन बरालले पनि नेपालमा हालसम्म कोरोना देखा नपरेका कारण सबै जनतालाई नआत्तिन आग्रह गरेका छन् । नेपालमा कोरोना भित्रिन नदिनका लागि आवश्यक सम्पूर्ण तयारी र सजगता अपनाइएको बताउँदै उनले सशंकित नहुँन सबैलाई सुझाव दिएका हुन् ।
प्रतिक्रिया