ताजा अपडेट »

काेराेनाले ज्यान गुमाउनेकाे सङ्ख्या ३ हजार १२५ पुग्याे

मंगलबार, २० फागुन २०७६

बुटवल । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मर्नेको संख्या ३ हजार १ सय २५ पुगेको छ। पछिल्ला दिन कोरोना भाइरसको संक्रमित संख्या चीनमा घट्दै गएको छ भने दक्षिण कोरिया, इरान, इटाली, अमेरिकामा लगायतका देशमा बढ्दै गएको छ। मानव बसोबास रहेका सबै महादेशमा कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

पछिल्लो रिपोर्ट अनुसार मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ४४ पुगेको छ। यस्तै, दक्षिण कोरियामा ३४, इटालीमा ५२, इरानमा ६६, जापानमा ६, फ्रान्समा ३, अमेरिकामा ६, हङकङमा २ र थाइल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो, र फिलिपिन्समा एक-एक जनाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ। सोमबारमात्र ६ सय २ जना मा कोरोना भाइरसका संक्रमण देखिएको छ। विश्वभरि हालसम्म ९० हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जसमध्ये ३ हजार १ सय २५ जनाको मृत्यु भएको हो। हालसम्म संक्रमितमध्ये ४८ हजार १ सय २९ जना उपचार पश्चात स्वास्थ्य लाभ गरेका छन्।

हालः विश्वभर ३९ हजार ६ सय ६६ जना कोरोना भाइरसका संक्रमित विश्वका विभिन्न अस्पतालमा उपचारत छन्। यीमध्ये ३२ हजार ५ सय ७२ जनाको अवस्था सामन्य छ भने ७ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ। हालसम्म विश्का ७६ देश तथा भूभागमा कोरोना भाइरसका बिरामी भेटिएका छन्। सन् २०१९ डिसेम्बरको अन्तिम साता कोरोना भाइरस पहिलो पटक चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो । त्यसपछि यो भाइरस विश्वभर फैलने क्रममा रहेको छ।- एजेन्सी