भैरहवा । रुपन्देहीको भैरहवामा जारी अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा राइनोज क्रिकेट क्लब काठमाण्डौं र वेस्टर्न क्रिकेट क्लब बुटवल विजयी भएका छन् । राइनोजले सहारा क्रिकेट क्लब हैदराबाद (भारत) लाई ११४ रनले पराजित ग¥यो ।
त्यस्तै सोमबार हुने भनिएको अल्फा वारियर्स मुम्बई र वेस्टर्न क्रिकेट क्लब बुटवलबीचको दोस्रो खेल अल्फा वारियर्सका अधिकाशं खेलाडीहरु अस्वस्थ भएको र खेल्न असमर्थ हुने जानकारी गराएपछि वेस्टर्न क्रिकेट क्लब बुटवललाई विजयी घोषणा गरिएको छ । पहिलो खेलमा टस हारेर व्याटिङको निम्तो पाएको राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रनको योगफल बनायो । उसका लागि रोहित कुमार पौडेलले ८९, सुनिल चन्दले ३० र गजेन्द्र बोहराले २५ रनको योगदान गरे । बलिङमा सहारा क्रिकेट क्लबका बाबुले २ तथा अब, राज र अखिलले १/१ विकेट लिए । जवाफमा सहारा क्रिकेट क्लबले १६ दशमलव ४ ओभरमा १० विकेटको क्षतिमा ८५ रन बनायो । उसका लागि साईदुर्गाले २३, किरनले १७ र राजले १० रनको योगदान गरे । बलिङमा राइनोजका मन बहादुर थापाले ३, कमलसिंह ऐरी र धिरज शाहीले २/२ तथा रमेश कुर्मी र गजेन्द्र बोहराले १/१ विकेट लिए । खेलमा राइनोजका रोहित कुमार पौडेल म्यान अफ द म्याच घोषित भए ।
मंगलबार सेमिफाइनलका लागि समूह बीबाट राइनोज क्रिकेट क्लब काठमाडौँ र शंकरनगर क्रिकेट क्लब रुपन्देही तथा सहारा क्रिकेट क्लब हैदरावाद (भारत) र गुजरात लायन्स पाकिस्तानबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । समूह ए बाट वेस्टन क्रिकेट क्लब बुटवल र असरक क्रिकेट क्लब बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने समुह बी बाट मंगलबार हुने खेलबाट सेमिफाइनलमा जाने टिमको निर्णय हुनेछ ।
भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ ।
प्रतिक्रिया