ताजा अपडेट »

भ्रमण वर्ष २०२० : काेराेनाका कारण स्थगित

सोमबार, १९ फागुन २०७६

काठमाण्डौं । सरकारले 'नेपाल भ्रमण वर्ष २०२०' स्थगित गर्ने निर्णय गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको बताइएको छ।

यो वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित 'नेपाल भ्रमण वर्ष २०२०' को शुभारम्भ जनवरी १ मा विशेष समारोहबीच काठमाडौंको दशरथ रङ्‌गशालाबाट गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गरेकी थिएन्। नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्‌कल्पसहित सरकारले भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको थियो। नेपाल पर्यटन बोर्डको तथ्याङ्‌कअनुसार सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यसैगरी, सन् २०१९ मा १२ लाख विदेशी पर्यटक नेपाल घुम्न आएका थिए।

सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख बजेट स्वीकृत गरिसकेको थियो। पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येकाे एक बनाउने सरकारको योजना बनाएको थियो। पर्यटनबाट नेपालको कूल गार्हस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ। सरकारले १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म यस्ताे याेगदान १० प्रतिशत पुर्‌याउने लक्ष्य राखेको छ।