ताजा अपडेट »

एकल लगानीमा हाट-बजार, सिसि टिभी क्यामेरासहित पार्किङ

शनिबार, १७ फागुन २०७६

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ अवस्थित मणिग्राम ४ नम्बरका जनता घर नजिकै हाट-बजार सञ्चालनमा आएपछि खुशी भएका छन् । व्यस्थित पार्किङसहित १५ कट्ठा क्षेत्रफलमा सुरक्षाका लागि विभिन्न पाँच ठाउँमा सिसि टिभी क्यामेरासहित हाटबजार सञ्चालन भएपछि त्यस क्षेत्रका जनतालाई दैनिक उपभोग्य बस्तु किनमेलका लागि सहज भएको हो । स्थानीय स्तरमा उत्पादन भएका कृषि उत्पादनको बजारिकरण गर्दै कृषि उद्योग सञ्चालन र कृषि सहकारीसमेत सञ्चालन गर्ने गरी ६ वर्षको गुरुयोजना निर्माण गरी बजार सञ्चालनमा ल्याइएको छ ।

न कुनै सरकारी अनुदान, न त कुनै सामूहिक पहलको प्रयास्, यसरी व्यवस्थित बजार सञ्चालनमा ल्याउने योजनाकार तथा लगानीकर्ता हुन् तिलोत्तमा-८ का युवा दिपेन्द्र अधिकारी । अधिकारीले आफैले सञ्चालन गरेको योग लक्ष्मी एग्रो प्रा.लि.द्वारा व्यवस्थित बजार सञ्चालन गर्नका लागि १० करोड लागतमा ६ वर्षमा काम पुरा गर्नेगरी काम अगाडी बढाएको जानकारी गराए । निर्माणको काम जारी रहेको यस बजारमा अहिले हप्ताको दुई दिन बजार सञ्चालन हुन्छ । कृषि उत्पादन र खाद्य उत्पादनलाई प्राथमिकता दिइने बजारमा स्थानीय उत्पादन विक्रिका लागि लुम्बिनी क्षेत्र, नवलपरासी, पाल्पा, भैरहवा, बुटवल लगायतका व्यपारीहरु आउने गरेको बताउँदै अधिकारीले करिब १ सय ५० बढी स्टल सञ्चालनमा रहेको जानकारी दिए । किनमेलका लागि मणिग्राम, नयाँमिल, मँगलापुर, रोहिणी खोला लगायतका क्षेत्रबाट उपभोक्ताहरु आउने गरेको उनले बताए । हप्ताको शनिबार र बुधबार गरी दुई दिन बजार सञ्चालन गर्दा १० हजार बढी उपभोक्ता किनमेलका लागि आउने गरेको अधिकारीले बताए । साताको दुई दिनगरी ५० लाख बढीको कारोबार हुने बजारमा करिब ३ सय क्वीन्टल फलफूल तथा सागसब्जी व्यापार हुने गर्दछ ।

बजार स्थलमा भौतिक संरचना तयार भैसकेपछि बजारलाई दैनिक सञ्चालनमा ल्याउने योजना रहेको छ । सुविधासम्पन्न कोल्ड स्टोर, पार्किङ, स्टलका लागि व्यवस्थित ट्रस्ट, ट्वाइलेट, खानेपानी तथा बजारको बीच भागमा बाटीकासहितको संरचना तयार गरिने सञ्चालनक अधिकारीले योजना सुनाए । योजनावद्ध कार्यहरु अगाडी बढेको बताउँदै ६ वर्षभित्रमा भौतिक संरचना निर्माण तथा अन्य व्यवस्थापनका लागि करिव १० करोड लगानीको खाँचो रहेको उनले बताउछन् । आफ्नै पुर्ख्यौली जग्गालाई सदुपयोग गर्दै कृषिको बजारीकरण, कृषि उद्योग सञ्चालन र कृषि सहकारी समेत सञ्चालनमा ल्याउने योजना बनाएका अधिकारीले यसका लागि सामूहिक लगानी र सहकार्यका लागि अन्य साथीभाईहरुलाई समेत आह्वान गरेको बताए ।

‘बाउ बाजेको सम्पत्तिलाई अण्डिकरण गर्न मनले मानेन त्यसैले यस्तो योजनाना बनाएको हुँ ’-आफ्नो योजना सुनाउँदै उनले भने ‘मेरो भावना सबैले मिलेर कृषिमा केही गरौं भन्ने हो, स्थानीय उत्पादनलाई आधुनिकिकरण गदै उत्पादन वृद्धि गर्ने सोच छ ।’ सहकार्यका लागि अन्य साथीहरुले चासो नदेखाएको बताउँदै उनले भने ‘सायद घाटा लाग्छ भन्ने सोचले पनि हुन सक्छ, मिलेर लगानी गरी योजनाबाद्ध जाउँ भन्दा साथीहरुले चासो देखाउनु हुन्न ।’ प्रारम्भीक चरणमा सञ्चालनमा आएको बजारमा प्रतिस्टल १० रुपैयाँ देखि सय रुपैयाँ सम्म शुल्क लिने गरेका पोखरेलले बजारलाई सुन्दर र सफा राख्नका लागि ठाउँ-ठाउँमा डस्विन राख्नुका साथै बजार वरिपरी ३ लाख बढीको लागतमा १ सय ५० बढी विरुवा लगाएका छन् । ५० वटा सटर निर्माण गरी खुद्रा व्यापारका लागि व्यवस्थित सय स्टल निर्माण गर्ने योजना बनाएका उनले आफैले कृषि उत्पादन तथा उद्योग सञ्चालनमा ल्याउने योजनासमेत बनाएका छन् ।

शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हाट बजारको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेल उद्घाटन गर्दै उनको प्रसङ्शा गरेका छन् । कृषिको आधुनिकीकरण, बजारीकरण र औद्योगीकरण आवश्यक रहेको बताउँदै उनले व्यवसायी अधिकारीको कामप्रति प्रसङ्शा व्यक्त गरेका हुन् । साथै उनले बजारलाई प्लाष्टिक मुक्त, सफा र स्वच्छ राख्न आग्रह गरे । बजारमा व्यवसायी तथा व्यापारीहरुबाट हुनसक्ने अवैध, अखाद्य तथा म्याद गुज्रेका खाद्यय सामाग्री विक्री वितरणलाई अनुगमन गरी उपभोक्ताको स्वास्थ्यमा ख्यान राख्न आग्रह गरेका छन् ।