ताजा अपडेट »

अमेरिका र तालिवान सम्झौता हुँदै, नेपालको स्वागत

शनिबार, १७ फागुन २०७६

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य अफगानिस्तानको दीर्घकालीन शान्तिका लागि शनिबार अमेरिका र तालिवानबीच दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुँदै छ । अमेरिकाले अफगानिस्तानमा तत्कालीन तालिवान सरकारविरुद्ध युद्ध थालेको १८ वर्ष चार महिनापछि सम्झौतामा हस्ताक्षर हुन लागेको हो । सार्क अध्यक्षका रूपमा नेपालले शान्तिका लागि थालिएको कदमको स्वागत गरेको छ ।  

सम्झौतामा हस्ताक्षर भएसँगै अफगानिस्तानको काबुलमा पनि अमेरिका र अफगान सरकारबीच संयुक्त घोषणा हुँदै छ । अमेरिका–तालिवान सम्झौताको दश दिनपछि अफगानिस्तान सरकार र तालिवानबीच संवाद सुरु हुनेछ । काबुलमा संयुक्त घोषणा सार्वजनिक गर्न अमेरिकी रक्षामन्त्री मार्क एस्पर र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जिन्स स्लोटेनबर्ग शनिबारै काबुल पुग्दै छन् । उनीहरू र अफगानिस्तानका राष्ट्रपति असरफ घानीबीच संयुक्त घोषणापत्र सार्वजनिक हुनेछ । अमेरिका र नेटोले अफगानिस्तानको शान्तिका लागि सुरु हुने घरेलु शान्ति प्रक्रियामा सघाउने वचनबद्धता जनाउनेछन् । शान्ति सम्झौताका कारण अफगानी राष्ट्रपति असरफ घानीको शपथ ९ मार्चका लागि सरेको अफगानिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ । शपथ शुक्रबारका लागि तय भएको थियो ।

तालिवानका १४ जना वार्ता टोली सदस्य र अफगानिस्तानको शान्तिका लागि अमेरिकाद्वारा नियुक्त विशेषदूत जालमेई खलिलजादबीच कतारमा भएको वार्तापछि २२ फेब्रुअरीमा सातदिने अस्थायी युद्धविराम भएको थियो । तालिवानका तर्फबाट कतारस्थित तालिवानको कार्यालयका उपप्रमुख मुल्लाह अब्दुल घानी बरादाले नेतृत्व गरेका छन् ।  शुक्रबार अपराह्नसम्म ३० देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि अमेरिका–तालिवान सम्झौता समारोहमा सहभागी हुन दोहा पुगेका छन् । अमेरिका र तालिवानबीच १० फागुनमा एकसाताका लागि युद्धविराम भएको थियो । सम्झौता समारोहमा सहभागी हुन भारतबाट विदेश सचिव हर्षवद्र्धन शृंगला र पाकिस्तानबाट परराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसी दोहा पुगिसकेका छन् । 

सम्झौता समारोहमा सहभागी हुन अफगानिस्तानका राष्ट्रपति घानीका तर्फबाट ६ जना प्रतिनिधिमण्डल शुक्रबार दोहा पुगेका छन् । अफगानिस्तान सरकारका प्रतिनिधि र तालिवान प्रतिनिधिबीच शनिबार नै प्रत्यक्ष संवाद हुनेछ । उनीहरूबीच अफगानिस्तानका विभिन्न जेलमा रहेका करिब पाँच हजार तालिवान कार्यकर्ता रिहाइका विषयमा छलफल हुनेछ । 

दोहा सम्झौतापछि के हुन्छ ? 

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका पूर्वसल्लाहकार  नस्रतुल्लाह हेवादवालका अनुसार १० मार्चमा काबुलमा सरकार र उच्च राजनीतिक नेताबीच छलफल हुनेछ । नस्रतुल्लाहले काबुलबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘सम्झौतामा हस्ताक्षर भएको १० दिनपछि अफगानिस्तानभित्र संवाद सुरु हुनेछ । सम्भवतः मार्च १० मा अफगानिस्तानभित्रै संवाद सुरु हुन्छ  ।  अफगानिस्तान सरकारका प्रतिनिधि र १५ जना उच्च नेताबीच सुरुको चरणमा छलफल हुनेछ ।’ 

अफगानिस्तानमा हुने सरोकारवालाहरूबीच तालिवानसँग भावी संवाद, नयाँ सरकारको समावेशी संरचनालगायतका विषयमा छलफल हुने उनले बताए । कतारको दोहामा हस्ताक्षर समारोहमा अफगानिस्तान सरकारका ६ जना प्रतिनिधि सहभागी हुनेछन् । तर, अमेरिका र तालिवानबीच हस्ताक्षर हुनेछ । नस्रतुल्लाहका अनुसार अमेरिका र तालिवानबीच भएका वार्तामा अफगानिस्तान सरकार सहभागी छैन, तर अमेरिकी प्रतिनिधिले वार्ताका सबै प्रक्रियाबारे जानकारी गराउँदै आएका छन् ।  तालिवानले अफगानिस्तानका पछिल्ला सरकारलाई अमेरिकी कठपुतली भन्दै मान्यता नदिने घोषणा गर्दै आएको थियो । तर, तालिवानले हिंसा त्याग्ने सर्तमा अफगानिस्तानबाट विदेशी सुरक्षा फौज फिर्ता लैजाने वचनपछि तालिवानले अफगानिस्तान सरकारसँग भविष्यमा वार्ता गर्न सहमत भएको नस्रतुल्लाहले बताए । 

सन् २००१ अक्टोबर ७ मा अफगानिस्तानमा अमेरिकाले तालिवानविरुद्ध युद्ध थालेको थियो । सोही वर्ष सेप्टेम्बर ११ मा अमेरिकाको पेन्टागनस्थित ट्विन्स टावरमा भएको हमलापछि अमेरिकाले अलकायदाका नेता ओसामा बिन लादेनलाई बुझाउन तत्कालीन तालिवान सरकारलाई आग्रह गरेको थियो । लादेनलाई बुझाउन तालिवान सरकारले अस्वीकार गरेपछि अमेरिकाले युद्ध थालेको थियो । त्यसको दश वर्षपछि २०११ मे २ मा अलकायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानको अबोटाबादमा अमेरिकी सेनाको आक्रमणमा मारिएका थिए । अमेरिकाले पुनर्निर्माण, अफगानिस्तानको रक्षा तथा सुरक्षा फौजको सुदृढीकरणलगायतका लागि हालसम्म १३७ अर्ब अमेरिकी डलर खर्च गरेको छ । पचास हजारभन्दा बढी अफगानिस्तानका नागरिक मारिएका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफ्ना कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि सेप्टेम्बर २०१८ मा  विशेषदूत नियुक्त गरेपछि तालिवानसँग वार्ता सुरु भएको थियो । खलिलजादले कतारस्थित तालिवान प्रतिनिधि, अफगानिस्तान सरकार तथा छिमेकको पाकिस्तानसँग चरणबद्ध वार्ता गरेका थिए । उनकै प्रयासमा तालिवानसँग सम्झौता हुन लागेको हो । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भनेका छन्, ‘हिंसाको अन्त्य मेरो चाहना हो । तालिवान हिंसा अन्त्य गर्न चाहन्छ कि चाहँदैन भन्ने कुराले अफगानिस्तानमा शान्तिको भविष्य सुनिश्चित गर्नेछ ।’

नेपाल दोहा समारोहमा सहभागी हुँदै

सम्झौता समारोहमा नेपालसहितका कूटनीतिक अधिकारी सहभागी हुँदै छन् । ‘अफगानिस्तानको शान्ति, स्थायित्वका लागि चालिने प्रयासलाई नेपालले सकारात्मक रूपमा लिएको छ, र स्वागत गर्दछ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘यो क्षेत्रको द्वन्द्व अन्त्य होस्, अफगानिस्तानले शान्ति र स्थायित्व हासिल गरोस् भन्ने हाम्रो शुभेच्छा छ । यो प्रयास सकारात्मक छ ।’ दोहामा हुने सम्झौतामा नेपालका तर्फबाट कतारका लागि राजदूत डा. नारदनाथ भारद्वाज सहभागी हुनेछन् । ‘शान्ति सम्झौतामा हस्ताक्षर हुने समारोहमा निमन्त्रणा गरिएको छ, नेपालका तर्फबाट म सहभागी हुँदै छु,’ राजदूत भारद्वाजले दोहाबाट नयाँ पत्रिकासँग भने ।

नेपालमा सम्झौताको प्रभाव 

भू–राजनीतिक अध्येता एवं नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले दोहा सम्झौताको क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा प्रभाव पर्ने बताए । ‘अमेरिका र तालिवानबीच हुन लागेको ‘गुडविल एग्रिमेन्ट’को भू–राजनीतिक तथा अन्तर्राष्ट्रिय रणनीतिक प्रभाव हुनेछ । दक्षिण एसियाको राजनीतिमा सम्झौताको क्षेत्रीय सुरक्षा परिणामको असर देखिनेछ,’ बस्न्यातले नयाँ पत्रिकासँग भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा अमेरिकाले अन्तर्राष्ट्रिय शान्ति र क्षेत्रीय स्थायित्वमा भारतको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरेको छ । यो सम्झौताको असर अमेरिकाका प्रतिस्पर्धी चीन र रुसको सीमा क्षेत्रमा पनि देखिनेछ ।’ नेपालले आफ्नो भूभागमा हुने अतिवादी गतिविधिहरूमा अतिरिक्त चनाखो र सतर्कता अपनाउनुुपर्ने उनको सुझाब छ ।-नयाँ पत्रिका