अन्ततः वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चल्ने भएको छ । आम आदमी पार्टीले सरकार चलाइरहेको दिल्ली सरकारले दिल्ली प्रहरीलाई कन्हैयाविरुद्ध देशद्रोहको मुद्दा चलाउन अनुमति दिएको हो ।
जहावरलाल नेहरु विश्वविद्यालयमा छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’ लाग्दै आएको छ । भारतको कानूनअनुसार देशद्रोहको मुद्दा चलाउन सम्बन्धित राज्य सरकारको अनिवार्य अनुमतिको प्रावधान छ । यसअघि दिल्ली सरकारले दिल्ली प्रहरीलाई उक्त मुद्दा अगाडि बढाउन अनुमति दिएको थिएन । मुख्यमन्त्रीको निर्वाचन सकिएसँगै अरविन्द केजरीलाल नेतृत्वको सरकारले यस्तो अनुमति दिएको हो । यसअघि भाजपा नेतृत्वको केन्द्रीय सरकारले कन्हैयाविरुद्ध मुद्दा चलाउन अनुमति नदिएको भन्दै आपको आलोचना गर्दै आएको थियो। यसअघि नै देशद्रोहको आरोपमा दिल्ली प्रहरीले कन्हैयाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले कन्हैया कुमार, उमर खालिद, अनिर्बानका अलावा सात जनालाई अभियुक्त बनाउँदै दिल्ली प्रहरीले मुद्दा दायर गरेको हो ।
गत हप्ता मात्रै दिल्ली प्रहरीले मुख्यमन्त्री केजरीवाललाई पत्र लेखेर कन्हैयासहितका विद्यार्थी नेतालाई मुद्दा चलाउने अनुमति दिन आग्रह गरेको थियो । हालसालै मुख्यमन्त्री केजरीवाललाई केन्द्रीय गृहमन्त्री अमित शाहले भेटेका थिए । सन् २०१६ को फेब्रुअरी ९ मा जवाहरलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको आरोप लागेको थियो । आरोप लागेको चार वर्षपछि कन्हैयासहित अन्य विद्यार्थीविरुद्ध अदालतमा देशद्रोहको आरोपमा मुद्दा चल्ने भएको छ। विभिन्न कार्यक्रमका लागि झारखण्डको राँचीमा रहेका कन्हैयाले भने दिल्ली सरकारको पछिल्लो निर्णय राजनीतिक रुपले प्रेरित भएको प्रतिक्रिया दिएका छन् ।
उनी पछिल्लो समय कन्हैया कुमारले बिहारमा विभिन्न ठाउँमा नागरिकता संशोधन कानुनको विरोधमा ‘जन गण मन यात्रा’ सञ्चालन गरिरहेका छन् । मोदीलाई पछि पार्दै टाइम्सको वर्षव्यक्तिको सूचिमा पर्न सफल कन्हैयाको राजनीतिमा उदयलाई भाजपाले प्रमुख चुनौतीको रुपमा लिँदै आएको छ ।-साझापोष्ट
प्रतिक्रिया