तिलोत्तमा । खाने बानीमा सुधारका लागि स्थानीय रुपमा उत्पादन तथा स्थानीय तहमा उपलब्ध हुने परम्परागत र पोषिला खानाका बारेमा जानकारी गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमामा खाद्य मेलाको आयोजना हुने भएको छ । ‘परम्परागत पोषिलो एवम् स्थानीय खाद्यय पदार्थको प्रवर्द्धन गरौं, असल खानाका लागि खाने बानीमा सुधार गरौं’-भन्ने मूल नाराकासाथ आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म ३ दिन मेला सञ्चालन हुने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग रुपन्देहीको आयोजनामा हुने मेलामा खाद्य सम्बन्धि ६० वटा स्टल रहने छन् ।
तिलोत्तमा १५ स्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने मेलाका लागि निःशुल्क प्रवेश तथा स्टलहरुका लागि समेत निशुल्क सहभागिता हुन पाउने व्यवस्था गरिएको कार्यालय प्रमुख विमल कुमार दाहालले जानकारी गराए । खाद्य प्रविधी तथा पोषणको क्षेत्रमा अनुसन्धान एवम् विकास भएका खाद्य परिकारहरुको पहिचान तथा प्रवर्द्धन गर्ने, खाद्य उद्यमी तथा व्यवसायीहरुद्वारा उत्पादित खाद्य बस्तुहरु र उनीहरुले विकास गरेका प्रशोधन एवम् तयारी प्रविधी बारे प्रचार प्रसार गर्न सहयोग गर्ने मेलाको मूख्य उद्देश्य रहेको छ । मेला बारे जानकारी गराउन शुक्रबार तिलोत्तमा नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यालय प्रमुख दाहालले स्थानीय स्तरमा उत्पादन हुने पौष्टिक महत्वका कृषि उपजबाट विकास एवम् तयार गर्न सकिने खाद्य परिकारहरुको विकास, व्यवसायीकरण तथा उपभोग अभिवृद्धी गर्ने र खाद्य पदार्थको उत्पादक, प्रशोधनकर्ता, संचयकर्ता एवम् उपभोक्ताहरुलाई एकै थलोमा राखेर नविनतम् खाद्य प्रविधि, पोषण र स्वच्छताबारे ज्ञान विस्तार गर्ने उद्देश्यहरु तय गरिएको बताए ।
२० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको मेलाको मूख्य आर्कषणका रुपमा स्थानीय कृषिजन्य खाद्य उद्योगहरुको प्रदर्शनी, अल्प प्रचलनमा रहेका स्थानीय उपजहरुको प्रदर्शनी, मौलिक सँस्कृती झल्कने होमस्टे तथा खाद्यय व्यवसाय, विभिन् जातजातिका परम्परागत खानेकुरा तथा खाद्य तथा पोषणसँग सम्बन्धित शिक्षण संस्थाहरुले तयार पारेका खानाहरु रहने छन् । विभिन्न साँस्कृतिक कार्यक्रमहरुसहित आयोजना गरिने मेलाका उत्कृष्ट स्टलहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । मेला आयोजनाका सन्दर्भमा बोल्दै तिलोत्तमा नगरका मेयर वासुदेव घिमिरेले अल्प प्रयोगमा भएका तथा पौष्टिक आहारका बारेमा जनताले जान्ने अवसर प्राप्त गर्ने बताए । नगरभित्र रहेका मौलिक होमस्टे तथा परम्परागत खानाका परिकारहरुलाई समेत सहभागीता जनाउनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले मेला सफलताको शुभकामना व्यक्त गरे ।
पशुपती माध्यमिक विद्यालय सहयोगी संस्थाको रुपमा रहेको मेलामा अन्नमा आधारित अनरसा, भक्का, चटामरी, च्याख्ला, चिउरा, ढिंडो, गोलफुकी, खट्टे, लावा, सेलरोटी, सयाबजी तथा योगरीको स्वाद लिन पाइने छ भने दलहनमा आधारित किनेमा, क्वाटी, मस्यौरा, सातु र टोफुको स्वाद लिन पाइने छ । यसैगरी फलफूलमा आधारित अचार, खल्प, चुक, माडा, निम्की, तितौरा, तेलहनमा आधारित फिलिङ्गे, घिउ दुधमा आधारित दही, मही, घिउ, गुँदपाक, पुष्टकारी तथा माछा मासुमा आधारित सुकुटी, छोयला, कचिला, मोमो, सिद्रा, सुकाएको माछा लगाएतका परिकारको स्वाद लिन पाइने आयोजकले जानकारी गराएको छ ।
प्रतिक्रिया