ताजा अपडेट »

कोरोनाको डरका बावजूद नेपाली राष्ट्रिय क्रिकेट टाेली थाइल्याण्ड जाँदै

विहीबार, १५ फागुन २०७६

बुटवल । एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गतको खेल खेल्न नेपाली टोली आज बिहीवार थाइल्यान्ड जाँदैछ। एसियन कपको रोडम्यापका रुपमा लिइएको प्रतियोगितामा सहभागी हुने टोलीलाई बुधवार नेपाल क्रिकेट संघ क्यानले बिदाइ गरेको छ। नेपाली टिमको लक्ष्य प्रतियोगिताको च्याम्पियन बन्ने भए पनि कुनै टिमलाई अबमुल्यन नगरेको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले बताए।

‘टी-२० मा प्रतिद्वन्दीलाई कमजोर आक्न मिल्दैन। जे पनि हुन सक्छ। ओमनकै उदाहरण दिने हो भने पनि टी-२० मा कुनै पनि कुरालाई कमजोर आँक्न नहुने देखिन्छ। हाम्रो ब्यालेन्स राम्रो छ। त्यही अनुसार प्रदर्शन गर्छौं भन्ने छ’, मल्लले नेपाली टिमको तयारीबारे भने, ‘तयारी राम्रो भयो। अलि फरक फर्म्याटमा भयो। एकदिवसीय खेलिरहेका थियौं। टी २० मा खेल्नुपर्ने भयो। जहाँसम्म लाग्छ खेलाडीहरु पनि तयार छन्। लक्ष्य क्वालिफाई हुने नै हो।’

नेपाली टिमका प्रशिक्षक जगत टमाटाले अहिले टिममा युवा खेलाडीको बाहुल्यता रहेको बताउँदै अनुभव र नयाँ जोसको मिश्रण रहेकोले टिम राम्रो रहेको प्रतिकृया दिए।

डर कोरोनाको

एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटको तालिका परिमार्जन भएको छ। क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार पछिल्लो समय चीनबाट शुरु भएको कोरोना भाइरसको प्रभावले प्रतियोगिता नै हुने या नहुनेमा अन्योल थियो। तर, पछिल्लो समय एसिसीले स्वास्थ्यसम्बन्धी समन्वय गरेरै खेल गराउने निर्णय गरेको प्याकुरेलले बताए। नेपाली टिमले होटल र मैदान बाहेक अन्त जान नपर्ने हुँदा असुरक्षित नहुने भन्दै एसिसीले प्रतियोगिता निर्धारित मितिमै गर्ने निर्णय गरेको उनले बताए।

चीन, थाइल्यान्ड, भुटान, म्यानमार, मलेसिया, हङकङ, सिंगापुर र नेपालले इस्टर्न रिजन पुरुष टी-२० खेल्ने तालिका रहे पनि अन्तिम समयमा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने बताएका थिए। यी देशहरुले सहभागिता नजनाउनुको कारण कोरोना भाइरसको प्रकोप भएको बताइएको छ।

एसिसीले अघिल्लो हप्ता जारी गरेको नयाँ तालिका अनुसार नेपालले २९ फेब्रुअरीमा पहिलो खेल मलेसियासँग खेल्नेछ। त्यस्तै मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्यान्ड र मार्च ६ मा सिंगापुरसँग खेल्ने तय भएको छ। प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।