लामो तयारी र तामझामपछि नेपाल भ्रमण वर्ष–२०२० मनाउन थालिएको छ । पर्यटनलाई समृद्धिको आधार बनाउनको लागि धेरैभन्दा धेरै पर्यटकलाई नेपालमा ल्याउने, टिकाउने र त्यसबाट लाभ लिने उद्देश्यले भ्रमण वर्ष कार्यक्रम ल्याइएको हो । भ्रमण वर्ष–२०२० को अवधिमा २० लाख पर्यटकलाई नेपाल भित्राउने र सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक भित्र्राउने महत्वाकांक्षी लक्ष्यसहित सन् २०२० देखि २०३० लाई ‘पर्यटन दशक’समेत घोषणा गरेको छ । १० वर्षमा कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतभन्दा बढी बनाउने योजना सरकारले बनाएको छ । भ्रमण वर्षमा चिनिया पर्यटकलाई लक्षित गरेर कार्यक्रमहरु तय गरिएको थियो ।
सरकारले यो वर्ष कम्तिमा साढे तीन लाख चिनिया पर्यटकहरुलाई नेपाल ल्याउने लक्ष्य राखेको थियो । तर ,नेपालमा भ्रमण वर्ष शुरु हुनासाथ चीनमा कोरोना भाइरसको महामारी फैलियो । चिनिया पर्यटकहरु नेपालमा आउने क्रम त लगभग ठप्प भएको छ नै अन्य मुलुकबाट समेत पर्यटकहरु आउने क्रम घटेको छ । एअरलाइन्स र होटलका बुकिङ धमाधम रद्द भैरहेको खबरहरु सञ्चार माध्यमहरुमा आइरहेका छन् । यस्तो अवस्थाले नेपालको पर्यटन क्षेत्रलाई नराम्रो धक्का पुगेको सहज महसुस गर्न सकिन्छ ।
दक्षिण एशिया चिहाउने सहज बाटो नेपाल भएकोले मात्र हैन गौतम बुद्धको जन्मस्थल नेपाल भएकाले चिनियाहरू नेपाल भ्रमण गर्ने चलन शताब्दियौ पुरानो हो । नेपालको कला सस्कृति र परम्पराको अध्ययन गर्न र बौद्ध तीर्थाटन गर्नको लागि चिनियाहरू नेपाल आउने गरेको पाइन्छ । विगतमा केहि अध्येता र बौद्ध धर्मावलम्बिहरु मात्र नेपाल आएपनि पछिल्लो दशकमा व्यापारिक, अनुसन्धान र मनोरन्जन उद्दश्ेयले चिनियाहरू नेपाल आउने गरेका छन् । सन् २००९ मा नेपाल आएका विदेशी पर्यटकहरु मध्ये ६.३ प्रतिशत अर्थात ३२ हजार २७२ जना चिनिया पर्यटक नेपाल भित्रिएकोमा सन् २०१५ मा यो संख्या ६४ हजार ६७५ (१२ प्रतिशत) पुगेको थियो. सन् २०१५ यता भने चिनिया पर्यटकहरुको संख्यामा द्रुतगतिमा वृद्धि भैरहेको छ । सन् २०१६ मा एक लाख ४ हजार जना र सन् २०१८ मा एक लाख ५३ हजार ६३३ जना र सन् २०१९ मा एक लाख ६८ हजार ५४३ जना चिनिया पर्यटकहरु नेपाल आएको पर्यटन मन्त्रालयको तथ्यांकहरुले देखाउँछन् । यो वृद्धिबाट उत्साहित भएको नेपाल सरकारले भ्रमण वर्षमा साढे तीन लाख चिनिया पर्यटक भित्राउने लक्ष्य राख्नुलाई स्वाभाविक मान्नुपर्छ ।
तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा १७२ मुलुकका पर्यटक भित्रिएका छन् । देशको संख्यालाई हेर्दा यो राम्रो संख्या हो तर पर्यटकको संख्यालाई हेर्दा धेरै देशका पर्यटकहरु आए भने मख्ख पर्नु बेकार हुन्छ । सन् २०१९ मा नेपाल आएका ६८.३ प्रतिशत पर्यटकहरु भारत, चीन, अमेरिका, बेलायत लगायतका १० वटा देशका मात्र थिए ( हेर्नुहोस तालिका) । दक्षिण कोरिया, मलेशिया र जापानका पर्यटकको संख्या कूल पर्यटकको संख्याको ९ प्रतिशत हुने गरेको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरु एशियाली देश नै बढी हुने गरेको देखिएको छ । एशियाली मुलुकका पर्यटकहरु नेपाल भ्रमणमा आउनुको मुख्य कारण लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ जस्ता धार्मिक क्षेत्रको भ्रमण हुने गरेको छ । सन् २०१९ को तथ्यांकलाई केलाउदा सार्क राष्ट्रका २९.४ र सार्क राष्ट्र बाहेकका अन्य एशियाली राष्ट्रका २९.२ प्रतिशत पर्यटकहरु नेपाल भ्रमण गरेको देखिन्छ ।
ओसेनिया, युरोप र अमेरिकाबाट स्तरीय पर्यटकहरु आउन सक्ने भएपपनि त्यो संख्या निकै कम हुने गरेको छ । सिमित राष्ट्रहरुका पर्यटकमा मात्र नेपालको पर्यटन बजार अडिएकोले नेपालको पर्यटन उद्योगले सधै धोका खाने गरेको छ । एकै खाले पर्यटकमा भर पर्दा नेपालको पर्यटन लक्ष्यहरु पुरा हुन सकेका छैनन् । सन् १९९८ मा पहिलोपटक नेपाल भ्रमण वर्ष मनाउदा ५ लाख पर्यटक भित्र्राउने लक्ष्य राखिएपनि ४ लाख ६४ हजार पर्यटक आएका थिए । सन् २०११ मा पर्यटन वर्ष मनाउदा १० लाख पर्यटक भित्राउने लक्ष्य थियो । तर, ७ लाख ३६ हजार मात्रै आए । यहि प्रवृत्ति अहिलेपनि दोहोरिने संकेत देखिएको छ ।
दश वर्ष चलेको माओबादी द्वन्दको चपेटामा परेर नेपालको पर्यटन क्षेत्र नराम्ररी खस्किएको थियो । पर्यटनले केहि गति लिन लागेको बेलामा भूकम्पको धक्काले फेरी पर्यटनलाई निकै कमजोर बनाएको थियो । अहिले चीनमा देखिएको कोरोना भाइरसले भ्रमण वर्षलाई धक्का दिएको छ । अहिले चिनिया पर्यटक मात्र रोकिएका छैनन्, चीनसँग नजिक भएको कारणले अन्य राष्ट्रबाट समेत पर्यटकहरु नेपाल आउन डराइरहेका छन् । पर्यटकहरु चीन् र भारत हुदै नेपाल आउने भएकोले नेपालको अवस्था सामान्य रहेपनि चीन् र भारतको सामाजिक, राजनैतिक र वातावरणिय अवस्थामा कुनै समस्या देखिनासाथ नेपालमा पर्यटकीय गतिविधिहरुमा तत्कालै प्रभाव पर्दछ । सिमित देशहरुबाट मात्र पर्यटकहरु नेपालमा आउँदा ति देशहरुमा नेपालको बारेमा कुनै नकारात्मक सूचना प्रवाह हुने बित्तिकै नेपालमा पर्यटकको संख्या ह्वात्तै घट्ने गरेको छ । नेपाल भ्रमणमा आउने परम्परागत पर्यटकहरुको विकल्प राम्रोसँग खोजि गर्न नसकेको कारणले गर्दा छिमेकी देशहरुमा पर्यटकहरुको संख्या बढिरहँदा नेपालमा भने पर्यटन सम्बन्धि सामान्य लक्ष्यहरु पूरा हुन पनि कठिन भैरहेको छ ।
पर्वतारोहण तथा पदयात्रा, पर्यापर्यटन र साँस्कृतिक तथा धार्मिक पर्यटन नेपालको पर्यटनका मुख्य स्वरुपहरु हुन् । नेपाल पर्यटन सूचकांक २०१८ का अनुसार नेपाल आउँने पर्यटकहरु मध्ये ६० प्रतिशत घुमफिर र मनोरन्जनका लागि, १६ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि, १४.४ प्रतिशत तिर्थाटनका लागि र ९.६ प्रतिशत अन्य उद्धेस्यले आउने गरेका छन् । तथ्यांक अनुसार पदयात्रा र पर्वतारोहणका लागि आउनेहरु मध्ये ७९.३३ प्रतिशत पर्यटक सार्क राष्ट्रहरु भन्दा बाहिरका छन् । युरोप र अमेरिकाबाट ठुलो संख्यामा पदयात्रा र पर्वतारोहणको लागि पर्यटकहरु आउने गरेको भएपनि नेपालकै छिमेकी देशबाट यस्ता पर्यटकहरु कम आउने गरेका छन् । दक्षिण एशिया बाहेकका मुलुकका पर्यटकहरु ससाना कुराहरुमा संबेदनशील हुने र यात्रा त्याग्ने भएकोले नेपालले बेलाबेलामा पर्यटनमा धोखा खाने गरेको छ ।
नेपाल गौतम बुद्ध र पशुपतिनाथको देश हो । यहाँ भएका तिर्थस्थलहरु हिन्दु र बौद्ध धर्माबलम्बिहरुको आस्थाका केन्द्रहरु हुन् । लुम्बिनी, स्वयम्भुनाथ, बौद्धनाथ बौद्धमार्गीका धार्मिक गन्तव्यहरु हुन् । सन् २०१८ मा लुम्बिनीमा १९२४१० जना भारतीय र १६९१८० जना अन्य मुलुकमा पर्यटकहरु लुम्बिनी भ्रमण गरेका थिए । बौद्ध धर्मावलम्बीहरु धेरै भएका राष्ट्रहरु श्रीलंका, थाइल्याण्ड, म्यानमारबाट सामान्य संख्यामा पर्यटकहरु लुम्बिनी आएपनि चिन, दक्षिण कोरिया, जापान, सिंगापुर, ताइवान, कम्बोडिया जस्ता बौद्धमार्गी धेरै भएका राष्ट्रबाट निकै कम संख्यामा पर्यटकहरु लुम्बिनी आउने गरेका छन् । नेपालले लुम्बिनिलाई विश्व पर्यटनको केन्द्र बनाउने गफ गर्न लागेको ६ दशक पुगेपनि बौद्धमार्गी धेरै भएका मुलुकका पर्यटकहरुलाई नेपालसम्म ल्याउन सकिरहेका छैनौ । श्रीलंका र भारतले ठुलो संख्यामा बौध्दमार्गी तिर्थयात्रिहरुलाई ल्याएपनि लुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदहले निकै कम संख्यामा यस्ता पर्यटकहरुलाई स्वागत गर्न पाएको छ । पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाईकुण्ड जस्ता तिर्थस्थलले हिन्दु तिर्थयात्रिलाई भित्र्राउन सकेका छैनन् । दक्षिण एशियामा एक अर्ब जति हिन्दु र बौद्ध धर्मावालाम्बिहरु रहेका छन् । त्यसैगरि इन्डोनेशिया, मलेशिया, सिंगापुर, बेलायत, अमेरिका र रुसमा हिन्दु धर्मावलम्बीहरुको संख्या उल्लेख्य भएपनि सन् २०१८ मा भारत बाहेकका मुलुकबाट जम्म १६३३११ जना तीर्थयात्री मात्र पशुपतिनाथ पुगेको देखिन्छ । देशका अन्य तीर्थस्थलमा भारतीय पर्यटकहरू आइरहने भएपनि त्यस्ता पर्यटकहरु नेपालमा बसेर खर्च गर्न खोज्ने नभएकोले पर्यटन क्षेत्रले त्यसबाट लाभ लिन सकेको छैन । युरोप , अमेरिका, क्यारेबियन मुलुक र अन्य एसियाली मुलुकमा नेपालको हिन्दुत्व र हिन्दु तिर्थस्थललाई प्रभावकारी ढंगले पस्कन सक्ने हो भने भारतमा आउने करोडौ हिन्दु तिर्थयात्रीहरु नेपालमा पनि आउन सक्ने थिए र यसबाट नेपालले दिगो रुपमा पर्यटकहरु प्राप्त गरिरहन सक्ने थियो ।
नेपालको भौगोलिक वनावट र जैविक विविधता विस्वमै आकर्षक मानिन्छ । यिनै प्राकृतिक सम्पदाहरुमा लाखौ पर्यटकहरुलाई आकर्षण गर्न सक्ने शक्ति लुकेको छ । अहिलेपनि नेपाल आउने धेरै पर्यटकहरु यहाँको प्राकृतिक सुन्दरताले लट्ठिएर आउने गरेका छन् । अहिले पोखरा सेरोफेरो र चितवन राष्ट्रिय निकुन्जमा पर्यटकहरु धेरै जानुको कारण यहाँको प्राकृतिक सुन्दरता हो । विस्वमा पर्यापर्यटनमा वृद्धि भएपनि नेपालमा भने यस्तो फाइदा प्राप्त हुन सकेको छैन । चितवन राष्ट्रिय निकुन्ज बाहेक अन्य राष्ट्रिय निकुन्जमा नगण्य मात्रामा पर्यटकहरु पुग्ने गरेका छन् । अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालका सबै प्राकृतिक सम्पदाहरुलाई ब्रान्डीङ्ग गर्न नसक्न्दा नेपाल घुमेर गएका पर्यटकहरुको सिफारिसमा आउने पर्यटकहरु परम्परागत ढंगले परिचित स्थानमा मात्र दोहोरिएर पुग्ने गरेका छन् । नेपालको जस्तो प्राकृतिक सम्पदा देख्न नपाउने अरब राष्ट्रमा नेपाललाई परिचित बनाउन सक्ने हो भने नेपालका सबै ठाउँमा बाह्रै महिना पर्यटकहरुलाई ल्याउन सकिने छ ।
विश्वमा पर्यटनका नयाँनयाँ स्वरुपहरु विकसित भैरहेका छन् । केहि देशले यौन व्यापारलाई पर्यटक आकर्षित गर्ने उपाय मानेका छन् । नेपालमा अघोषित रुपमा यौन पर्यटन संचालन भएको चर्चा चलिरहेपनि यसलाई समाज र सस्कृतिले नस्विकार्ने भएकोले यौन पर्यटन नेपालको पर्यटन क्षेत्र मान्न सकिदैन । केहि देशले जुवा पर्यटनलाइ पनि मुख्य पर्यटन उद्योग बनाइरहेका छन् । नेपालमा काठमाण्डौं, पोखरा, भैरहवा, नेपालगंजका केहि होटेलहरुले क्यासिनो संचालन गरेर भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । यसलाई व्यवस्थित गर्न सकेमा पर्यटन क्षेत्रले लाभ लिन सक्छ । नेपालमा साहसिक पर्यटनको राम्रो सम्भावना छ । ¥याफ्टिङ्ग, पाराग्लैडिंग, बन्जी जम्पिंग जस्ता खेलमा नेपाली युवाहरुको सहभागिता बढिरहेको भएपनि विदेशी पर्यटन बजारमा यसले निकै कम हिस्सा ओगट्न सकेको छ । गल्फ र हात्तीपोलोले केहि चर्चा दिलाएपनि त्यो नाममात्रको छ । अन्तर्रािष्ट्रय प्रतियोगिताहरु सञ्चालन गरेर भएपनि विदेशीहरुलाई यी खेलतर्फ आकर्षित गर्न सकियो भने हामीहरुले एकै किसिमका पर्यटकको भरमा बस्नुपर्ने हँुदैन ।
पर्यटन नीति २०६५ ले चलचित्र पर्यटन, कृषि पर्यटन, स्वास्थ्य पर्यटनलाइ पर्यटन उद्यमको रुपमा पस्कने रणनीति अघि सारेको छ । तराइृका सिमावर्ती क्षेत्रमा भारतीय बिरामीहरु उपचारको लागि आउने गरेको भएपनि उनीहरुको संख्या भन्दा स्तरीय उपचारको लागि भारत र तेश्रो मुलुकमा जाने नेपालीहरुको संख्या धेरै भएकोले स्वास्थ्य पर्यटन गफ मात्र भएको छ । स्तरीय योग, आयुर्वेद र प्राकृतिक स्वास्थ्य उपचार र अध्ययन केन्द्रहरु संचालन गर्न सकेमा कम्तिमा पनि दक्षिण एशियाली राष्ट्रका मानिसलाई ल्याउन सकिने सम्भावना छ । छिमेकी भारतको उत्तराखण्डले जस्तै नेपालमा चलचित्र सुटिंग गर्न आउने विदेशिहरुलाई छुट र सुविधा सरल ढंगले प्रदान गर्ने हो भने वैकल्पिक पर्यटकहरु प्राप्त हुन्छन र नेपालको पर्यटनको प्रचार पनि हुन् पाउँछ ।
नेपालका हरेक गाउँहरु मौलिकताले भरिपूर्ण छन् । ग्रामिण क्षेत्रमा फरक फरक पर्यटकीय स्वाद पाउन सकिन्छ । अहिलेसम्म पर्यटन शहर केन्द्रित र शहर निर्देशित छ । नेपाल सरकारको पर्यटन नीतिले ग्रामिण पर्यटन प्रवर्द्धन गर्ने, ग्रामिण क्षेत्रमा पर्यटकीय लाभ पु¥याउने र स्थानीय उत्पादनको बजारीकरण गर्ने रणनीति अघि सारेको छ । नेपालीहरु शहर केन्द्रित भएकोले नेपाली बालबालिका र युवाहरुको लागि ग्रामिण परिवेश रमाइलो र नौलो हुने गरेको छ । नेपालीहरु ग्रामिण क्षेत्रमा घुम्न जाने प्रवृति बढेपनि विदेशी पर्यटकलाई गाउँघरमा पु¥याउन सकिएको छैन । रमणीय गाउँहरुमा होमस्टे संचालन गर्ने, सहज आवागमनको व्यवस्था गर्ने, ग्रामिण वस्तीहरुमा पर्यटकीय शिक्षा प्रदान गर्ने हो भने नेपाली पर्यटकहरुलाई ग्रामिण क्षेत्र पु¥याएकै भरमा नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउन सकिनेछ ।
नेपाल सरकारको पर्यटन नीति २०६५ ले यसले आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको एक सहायक अङ्गको रूपमा विकास गर्ने लक्ष्य लिएको छ . नेपालभित्रै घुम्न चाहने नेपालीहरुको संख्या निकै बढिरहेको भएपनि नेपालको पर्यटन उद्योगले आन्तरिक पर्यटकलाई वेवास्ता गरेको कारणले अहिलेपनि नेपालमा वर्षेनी ठूलो संख्यामा नेपालीहरु भ्रमणको लागि विदेशमा पुग्ने गरेका छन् । पछिल्ला वर्षहरुमा वर्षेनी ७ लाख नेपालीहरु औपचारिक माध्यमबाट पर्यटक भिषामा घुम्नको लागी विदेश जाने गरेका बताइन्छ । बिदेशमा काम गर्न गएका नेपालीहरुले नेपालबाट आफन्तहरलाई उतै बोलाएर घुमफिर गराउँदा पनि ठूलो धनराशी खर्चने गरेका छन् । राष्ट्र बैंकका अनुसार यस वर्ष साउन देखि असोजसम्मको ३ महिनामा विदेश घुम्न जाने नेपालीले २५ करोड (२ लाख अमेरीकी डलर खर्च गरेका छन् । जवकि सोहि अवधिमा नेपालमा विदेशी पर्यटकहरले १३ करोड ७७ लाख खर्चिएका छन् । विदेशी पर्यटकहरुको हाराहारीमा नेपाली पर्यटकहरुले पनि खर्च गर्ने भएकोले आन्तरिक पर्यटकहरुलाई प्रोत्साहित गर्ने हो भने नेपालमा पर्यटकहरुको कमि हुनेछैन ।
नेपालको पर्यटन क्षेत्र परम्परागत छ । सिमित देशबाट एकै किसिमका पर्यटकहरु नेपाल भ्रमणमा आउने गरेकोले नेपालका सबै पर्यटकीय सम्भावनाहरुले पर्यटक देख्न पाएका छैनन् र अन्तराष्ट्रिय क्षेत्रमा देखा पर्ने सामान्य घट्नाक्रमले पनि नेपालको पर्यटन क्षेत्र ओरालो लाग्ने गरेको छ । नेपालमा निरन्तर रुपमा पर्यटकहरु भित्राइरहनको लागि अहिले पर्यटक आउने देशहरुमा मात्र नभएर नयाँ पर्यटकीय बजारमा पनि पर्यटकको खोजि गर्नुपर्छ । हिमाल र गैडा मात्र हेर्ने पर्यटकहरु भन्दा नेपालका उपलब्ध सबै सम्पदाहरूमा रमाउन चाहने पर्यटकहरुलाई ल्याउने प्रयास गर्नुपर्छ । विदेशमा प्रचार गरेर मात्र पर्यटकहरुलाई आकर्षित गर्न सकिदैन । आन्तरिक पर्यटनलाइ जोड दिने हो भने उनीहरु मार्फत नै बाह्य बजारमा नेपालको प्रचारप्रसार हुन् सक्छ । दक्षिण एशिया, मध्यपुर्व र आन्तरिक पर्यटकलाइ महत्व दिने हो भने अन्तराष्ट्रिय घटनाक्रमले पनि नेपालको पर्यटन क्षेत्रलाई कमजोर बनाउन सक्नेछैन ।
प्रतिक्रिया