ताजा अपडेट »

बेपत्ता पारिएका व्यक्तिकाे छानबिन राेल्पाबाट

बुधबार, १४ फागुन २०७६

काठमाण्डाैं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिएको रोल्पाबाटै बेपत्ता व्यक्तिको विस्तृत छानबिन थाल्ने भएको छ। आयोगले फागुन अन्तिममा अनुसन्धान अधिकृत र विशेषज्ञ लिएर टोली रोल्पा जाने निर्णय गरेको छ। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको अभिलेख अनुसार द्वन्द्वकालमा रोल्पामा ९७ जना बेपत्ता भएका थिए।

आयोगमा छानबिनको मागसहित तत्कालीन विद्रोही पक्ष, राज्य पक्ष र सर्वसाधारणका पीडित परिवारबाट ३ हजार तीन सय नागरिक बेपत्ता पारिएको उजुरी छ। झन्डै ३ हजार उजुरी परेका छन्। ‘फागुन अन्तिममा रोल्पा जाने निर्णय भएको छ। आयोग पदाधिकारीसहितको टोली जाने तय भइसकेको छ’, आयोग सदस्य विश्वराज भण्डारीले भने, ‘अनुसन्धान अधिकारीसहित विस्तृत छानबिनका लागि त्यहाँ जान लागेका हौं।’

रोल्पापछि अन्य जिल्लामासमेत तीब्र छानबिन अघि बढाउने रणनीति आयोगको छ। द्वन्द्वकालमा सबैभन्दा बढी बर्दियामा दुई सय ५७, बाँकेमा एक सय २०, दाङमा एक सय १७, रोल्पामा ९७, बैतडीमा ७१, सुर्खेतमा ६८, काभ्रेमा ४०, रुकुममा ४९, जाजरकोटमा ३१, अछाममा ४७, कैलालीमा ५५, कञ्चनपुरमा ८५, डडेल्धुरामा ४३, स्याङ्जामा ४७, कास्कीमा ४३, गोरखामा ३०, सल्यानमा ५६, कालिकोटमा ३६ र उदयपुरमा ४१ नागरिक बेपत्ता भएका छन्। राज्यद्वारा बेपत्ता पारिएका पीडित परिवारको रेकर्ड अनुसार १ हजार १५ जना तत्कालीन सरकारद्वारा बेपत्ता पारिएका थिए । ५६ वटा जिल्लामा विस्तृत अनुसन्धान कार्य गर्न बाँकी छ। -अन्नपूर्ण पाेष्ट