ताजा अपडेट »

बालबालिका र इलेक्ट्रोनिक ग्याजेट

मंगलबार, १३ फागुन २०७६

मेरो तीन वर्षको नानी/बावुले आइफोन मज्जासँग चलाउन सक्छ । ल्यापटपमा गेम खेल्छ, यूट्यूबमा गीत हेर्छ…,आदि भन्दै आजकल हामी हाम्रा छोरा–छोरीहरुको प्रशंसा गर्दै गौरव गर्छौ । तर, डर के छ भने कतै ति कलिला बालबालिकाले स्मार्टफोन लगाएतका अन्य ग्याजेटहरुलाई नै आफ्नो दोस्रो घर त ठान्ने होइनन् ? उनीहरुलाइ भविष्यमा बास्तविक घर पो नचाहिने हो की ? कवि/लेखक बुद्घिसागर बाल्यकालको स्मरण गर्दै एउटा गीतमा लेख्छन्-

त्यो मोजाको फुटबल
त्यो हरियो चउर
त्यो बालुवाको घर
चुँडिएको चङ्गा
पातको फिर फिरे …
न्यू इअरको कार्डमा रङ्गिन अक्षर …

तर, हाम्रो वर्तमानका बालबालिकाहरुका लागि यो अनुभव त मिठो कल्पना मात्र होला । मोबाइल,आइप्याड र ल्यापटप जस्ता बस्तुहरुमा जतिबेला पनि झुण्डिएर बस्दा उनीहरु एकाङ्की बनिरहेछन् । परिवारका अन्य सदस्यहरुसँग अन्तरक्रिया नहुँदा महत्वपूर्ण व्यवहारिक जीवनका सिकाई छुटिरहेका छन् । सहपाठीहरुसँग खेलेर रमाउने कुरा छुटेको छ । हुर्किदै गरेका केटाकेटीहरु यसरी प्राविधिक र अवास्तविक (भर्चुअल) संसारमा अव्यस्त हुने र रमाउने कुरा गलत हो । त्यस्ता उपकरणहरु मात्र उनीहरुका साथी बनाइनु कुरा गलत अवधारणा हो । त्यस्ता उपकरणहरु मात्र उनीहरुका साथी बन्दा लत वा अझ भनौं कुलतको दुरगामी र नकारात्मक प्रभाव रहन्छ । यसो किन भनिएको हो भने जीवनको प्रारम्भिक कालदेखि नै मानिसका शाारिरिक, मनोबैज्ञानिक, सामाजिक र आध्यात्मिक आवश्यकताहरुको पूर्ति हुन्छ । तब मात्र बालबालिकाको सर्वाङ्गिण विकास हुन्छ । जब बच्चा शैसव अवस्थाबाट केटाकेटी अवस्थामा विकसित हूँदै जान्छ,उसको सबैभन्दा आधारभूत आवश्यकता भनेको राम्रो र स्थिर पारिवारिक वातावरण हो । जहाँ उसले दरिलो अभिभावकिय माया र स्वीकार्यता प्रप्त गर्न सक्दछ ।

अर्कोतर्फ किशोरावस्थाको चरणमा कूरा बुझिदिने परिवार र सहयोगी नजिकका साथी-समुह आवश्यक पर्दछ । किनकि यो उमेर मानिसको जीवनको महत्वपूर्ण सङ्क्रमणकाल हो जतिबेला शरिरमा उत्पादन हुने हर्मोनका कारणले तीब्र शारिरिक र मनोबैज्ञानिक परिवर्तन भैरहेको हुन्छ । हो यसै सन्दर्भमा मोबाइल र ल्यापटप जस्ता आधुनिक उपकरणहरुको उपयोग र दुरुपयोग बारे यहाँ चर्चा गरिएको छ । के परिवार र साथी सङ्गतलाई यस्ता सामग्रीले बिस्थापीत गर्दा एउटा बच्चा कसरी स्वस्थ्य वयष्कको रुपमा हुर्किएला र ? सूचना र प्रविधिले सिर्जना गरिरहेको साँघुरो र भर्चुअल संसारले उनीहरुलाई खुसी र सन्तुष्टि दिन कदापि सक्दैन । उनीहरु त वास्तवमा खुशीको भ्रान्तिमा मात्र बाँच्ने हुन्छन् । यो विषय समकालिन विश्वको निकै गहन र चासोको विषय हो । कलिलो उमेरमा नै प्रविधिमैत्री जीवन जिउँदै गरेका बालबालिकामा असल मानवीय सम्बन्धको विकास हुन सक्दैन । आमा बावु र परिवारका अन्य सदस्यहरुको बिचमा हुर्किनुपर्ने बालबालिकाहरु जब टि.भी, कम्प्यूटर र मोबाइल फोनको बिचमा रहँदा उसमा मानविय सम्बन्ध र संवेग कसरी विकास हुन सक्छ र

लेखक बुद्धिसागर चर्चित उपन्यास ‘कर्नाली ब्लुज’ मा बा सँगको संस्मरणमा भन्छन् । ‘बाले हिँडायो भनेर चित्त नदुखाएस् …आफूू हिडेको बाटो चिनोस् भनेर हिँडाको हुँ बुझिस् ?’मानवीय संगत र अनुभवलाई मेशिनले प्रतिस्थापित गर्दा यान्त्रिक बन्ने खतरा हुन्छ । बच्चा भौतिक सामग्रीमा मात्रै अभ्यस्त भैरहँदा उसले मानवीय सम्बन्धको भेद छुट्याउन सक्दैन । उसका लागि प्रविधिसँगै रमाउनु सामान्य बन्दै जान्छ । के यसरी नै हाम्रा बालबालिका हुर्किनु पर्ने हो त ? भर्चुअल संसार र सामाजिक सञ्जालमा जिम्मेवारपूर्ण ढुङ्गले विचरण गर्न तीनका राम्रा गुण र नराम्रा अवगुणको बारेमा जानकारी गराउन अभिभावकको प्रत्यक्ष निगरानी र गाइडेन्स आवश्यक हुन्छ । त्यसो गर्न सकिएन भने अबको हाम्रो पूस्ता पूर्णतया यन्त्रिक र एकाङ्की हुनेछ । सामाजिक सञ्जाल र विद्युतिय उपकरणहरुको अवास्तविक दुनिया नै उसको वास्तविक घर हुनेछ । यस्तो वातावरणमा हुर्किने व्यक्ति अधैर्यवान र असहिष्णु हुन्छ । यद्यपी उनीहरुको बौद्धिक क्षमतामा प्रश्न गर्ने ठाउँ त रहँदैन किनकी त्यहाँ सूचना र ज्ञानको अथाह भण्डार हुन्छ तर, सामाजिक र पारिवारिक सम्बन्धहरु भने निकै सतही र अकल्पनीय हुन्छन् ।

यस्तो सामाजिक-सांस्कृतिक परिवेशमा ब्यक्तिगत जीवन र अधिकारलाई ‘लाइक्स’ र ‘कमेन्ट््स’ नै नयाँ सौतेली आमा–बुवा हुनेछन् । लाइक, कमेन्ट र फोटोहरुले मान्छेका खुशीलाई प्रभावित गर्दछन् । परिवारसँगै बसेर खाना खाने , गफ गर्ने कुरामा अवरोध हुन्छ । सामाजिक सञ्जाल र स्मार्ट फोनका अनगिन्ती फाइदा त छन् । हाम्रो जीवन र जगतमा यिनीहरुको प्रभावलाई हामी नजर अन्दाज गर्न त सक्दैनौ । तर, अभिभावकको रुपमा र शिक्षकको रुपमा हामी सबैले कलिला मन-मष्तिष्कमा परिवार, गहन सम्बन्ध, विश्वास, गोपनियताजस्ता गुणहरु भर्न सक्नुपर्दछ ।बालबालिकाको मन र मस्तिष्कको सहि विकास गराउन सकियो भने बल्ल उनीहरुलाई असल मानव बनाउन सकिन्छ । मात्र दुई दशक अघिसम्म हाम्रा बाल्यकालका दिनहरु भिन्न थिए । डिजिटलाइजेसन र ग्लोबलाइजेसनले छोइ नसकेको त्यो परिवेशमा बालबालिकाहरु दिनभर बाहिर खेल्थे । बालुवामा धुलोका घर बनाउँथे, चोर पुलिस खेल्थे, भाँडाकुटी खेल्थे , प्रशस्त घुमफिर गर्दथे । चकचके थिए । तिनिहरुको चेतना प्रकृतिमा आधारित अति सरल खालको थियो।

समकालिन विश्व परिवेशमा विकसित प्रविधि (एडभान्स टेक्नोलोजी) को फाइदाको बारेमा कसैको पनि बिमती वा बहस हुन त सक्दैन नै । तर विद्युतीय उपकरणसँगको कनेक्सनले गर्दा, बालबालिकालाइ दिइनुपर्ने उच्च प्राथमिकता कतै अलग्गिने त होइन ? टि.भि मा कार्टुन हेर्न दिएर ल्यापटप वा मोबाइलमा गेम खेल्न दिएर हामी हाम्रो काममा अभ्यस्त हुँदा बालबालिकाहरुले पाउनुपर्ने न्यानो अंगालो, सामिप्यता र दोहोरो सम्वाद छुट्ने हुन्छ । यसले गर्दा बालबालिका र अभिभावक बीचको सम्बन्धमा गहिरो खाडल र समस्या बढ्छ । जुन हामीले सुधार गर्न पाउँदैनौ । किनकि समयले हामीलाई पर्खिदैन । अमेरिका र क्यानडा जस्ता देशहरुमा अहिले प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामा मोटोपन र मधुमेह जस्ता रोगहरु महामारीका रुपमा फैलिरहेका छन् । अटिज्म, अस्पष्ट बोली , सिकाइमा समस्या, चिन्ता,डिप्रेसन, निद्रामा गडबडी जस्ता कुराहरु पनि प्रविधिको बढ्दो प्रयोगसँगै डरलाग्दो रुपमा देखा पर्दैछन् ।

हुर्किदै गरेका बालबालिकाका लागि कम्तिमा ३-४ घण्टाको मनमौजी खेलकुद आवश्यक पर्दछ । स्वस्थ बाल-विकासका लागि गतिशिलता, स्पर्श, मानवियता, प्रकृतिसँगको सामिप्यता जस्ता तत्वहरु महत्वपूर्ण हुने कुरा विज्ञहरुले सुझाएका छन् । विभिन्न खाले स्मार्ट ग्याजेटले घेरिएका बच्चाको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ त ? सामाजिक र भावनात्मक विकासमा असर, बच्चाहरुको शब्द भण्डार कमजोर हुन्छ । रचनात्मकतामा असर गर्छ। स्वतन्त्र सोचलाई प्रभावित गर्छ । उपकरणहरुको प्रयोगले आमरुपमा बच्चाहरुमा निम्न समस्या देखिन्छन्:

कुनैपनि चीजमा ध्यान केन्द्रित गर्न नसक्नु
पढाई–लेखाइमा मन नजानु
दिमाख एकाग्र नहुनु
कुनै कुरा चाँडैनै भुल्ने बानी लाग्नु
सहि र गलत छुट्याउने क्षमता कमी हुनु
जिद्दि हुनु र आमा–बाबुले भनेको नमान्नु

सामाजिक सञ्चारको प्रयोगले बालबालिकाहरुको मात्र होइन हामी सबैमा इन्टरनेट लत (एडिक्सन) बढाउँछ । उत्पादकत्व घट्छ । त्यसैले अहिले विकसित देशहरुमा यसको लत छुटाउने उपचार शुरु भएको छ । एक अध्ययनका अनुसार औषतमा एकजना प्रयोगकर्ताले ५ वर्ष ४ महिना सामाजिक सञ्जालमा बिताउने रहेछ । प्रविधिको अत्यधिक प्रयोग र लतले विभिन्न खाले स्वास्थ्य समस्या जन्माउँछ । निद्रामा गडबडी ल्याउछ, आँखामा दबाब हुन्छ, दृष्टिमा समस्या देखिन्छ र सँगसँगै माइग्रेन गराउँछ । मनोवैज्ञानिक स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । व्यक्ति व्यक्तिहरु बीचको सम्बन्धमा नकारात्मक असर गर्छ । त्यसैले अहिले अमेरिकामा करिब ६० प्रतिशत फेसबुक प्रयोगकर्ताहरु सामाजिक सञ्जाल प्रयोगको लत छुटाउने उपचारमा लागेका छन्।