ताजा अपडेट »

भारतीय गायक सोनु निगम अस्पताल भर्ना

मंगलबार, ०७ फागुन २०७५

काठमाडौं । भारतीय गायक सोनु निगम थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । मंगलवार दिउँसो १ः३० बजे गायक सोनु अस्पताल भर्ना भएका हुन् ।

गीतको भिडियो सुटिङका लागि नेपाल आएका निगमका ढाडमा पीडा हुन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । 

उनको ‘रक्तजाँच तथा एक्स रे’ गरिएको छ भने ‘एमआरआई’ पनि गरिने उपचारमा संलग्न चिकित्सकहरुले जनाएको छ । गायक निगमलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल भर्ना भएका गायक निगमलाई होटल फर्काउने कि अस्पतालमै राख्ने भन्ने कुरा ‘एमआरआई’को रिपोर्ट हेरेपछि थाहा हुने उपचारमा संलग्न चिकित्सकले बताए । अस्पताल स्रोतले भन्यो,‘तर उहाँको अहिलेको स्थिति हेर्दा एक रात अस्पतालमै राख्ने सम्भावना देखिएको छ ।’