फागुन १०,
ग्लोबल आवाज
बुटवल । तिलोत्तमानगरमा सम्पन्न तिलोत्तमा अन्तर वडा कप फुटवल प्रतियोगिता २०७६ को उपाधि वडा नं. १ ले हात पारेको छ । तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा भएको फाईनल खेलमा वडा नं १४ लाई सडेन डेथमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै वडा नं. १ ले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं. १४ नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । चपरहट्टी खेलमैदानमा भएको फाईनल खेल निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि पेनाल्टी शुट आउटमा गएको थियो । पेनाल्टीमा पनि खेल बराबरी भएपछि सडेन डेथमा निर्णय लिईएको थियो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर वडा नं १ का बिक्रम राना, उत्कृष्ट डिफेन्स वडा १४ का बिनोद राना, उत्कृष्ट मिड फिल्डर वडा १४ का गौरब बुढाथोकी र उत्कृष्ट फरर्वाड वडा नं १ का बिजय थापा घोषित हुँदै पुरस्कृत भएका छन् ।
एक समारोहका बिच वडा नं ७ का वडा अध्यक्ष दुर्गाप्रसाद पाण्डे, वडा नं ३ का सदस्य तेज बहादुर गुरुङ, एकेडेमीका अध्यक्ष तिलक नेपाली, तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी पाँच नम्बर प्रदेशका उपाध्यक्ष मिनप्रसाद पोखरेल, खेल संयोजक सुर्य चापागाईले विजेता, संयोजक सुर्य चापागाईले उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै भाईचारासँगै युवा प्रतिभा प्रष्फुटन गराउने गरि प्रतियोगिता सफल भएको बताए । नगरमा एकेडेमी मार्फत उमेर समुहका खेलाडी उत्पादन गर्ने तयारी गरेको अध्यक्ष तिलक नेपालीले बताए । फुटबल खेल र खेलाडी विकास गराउने लक्ष्यसहित प्रशिक्षण र प्रतियोगितालाई निरन्तर दिने उनले बताए । दोस्रो मेयर कप गराउने तयारीसमेत भएको उनले बताए ।
कार्यक्रममा वडा नं ७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले नगरका सबै खेलकुद संघहरुलाई ब्यवस्थापन गर्न विकास समिति गठन गरिएको बताए । प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा टिम उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । यसैबिच आयोजक तिलोत्तमा फुटबल एकेडेमी र पत्रकारका बिच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम विजेता भएको छ । शनिबार विहान भएको खेलमा पत्रकारको टिम ट्राईबेकरमा ४–२ गोलले विजयी भएको थियो ।
प्रतिक्रिया