ताजा अपडेट »

तिलोत्तमा अन्तर वडा कप : वडा नम्बर १ र १४ बीच उपाधी भिडन्त

विहीबार, ०८ फागुन २०७६

फागुन ८,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ चपहट्टीमा जारी तिलोत्तमा अन्तर वडा कप फुटबल प्रतियोगिमा वडा नम्बर १४ र १ फाइनल प्रवेश गरेका छन् । तिलोत्तमा फुटवल एकेडेमीको आयोजनामा जारी विहिबार भएको सेमिफाइनल खेलमा जित दर्ता गर्दै उनिहरुले आगामी फागुन १० गते शनिबार उपाधि भिडन्तका लागि यात्रा तय गरेका हुन् ।

आज भएको पहिलो खेलमा वडा नम्बर १४ ले वडा नम्बर ६ लाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजीत गर्दै फाइनल यात्रा तय गरेको हो । खेलको १८ औं मिनेटमा वडा नम्बर ६ का रोहित सुनारले गोल गर्दै सुरुवाती अग्रता लिए पनि आफनै खेलाडीको कम्जोरीका कारण खेलको ६१ औं मिनेटमा समान अंकमा समेटिएको हो । वडा नम्बर ६ का राजकुमार चौधरीले आत्मघाति गोल गर्दा वडा नम्बर १४ सँग समान १ एक गोल भएपछि खेल निर्णय ट्राइवेकरबाट लिनु परेको थियो । प्रतियोगितामा गौरव बुढाथोकी म्यान अफ दि म्याच घोषित भएका थिए । यसैगरी वडा नम्बर ९ र १ बीच भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर एकले आफ्नो निरन्तर दवाव कायम गर्दै ३ शून्य गोल अन्तरको जित दर्ता गर्न सफल भएको थियो । टिमका लागि नितेश पुनले खेलको १२ तथा ३२ औं मिनेटमा गरी दुई गोल गर्न सफल भएका थिए भने सञ्जय कुँवरले खेलको ६० औं मिनेटमा थप एक गोल गरेका थिए । वडा नम्बर १ अगाडी निरिह सावित भएको वडा नम्बर ९ ले खेल अवधिभर प्राप्त उत्कृष्ट मौकालाई चुकाउँदा हार वेहोर्नु परेको हो । वडा नम्बर ९ का खेलाडी दावावका बीच ४/ ५ पटक उत्कृष्ट प्रहार गरे पनि बलले जालि चुम्न सकेन । यता वडा नम्बर १ का खेलाडीहरुले पनि गोल बाहेक आधा दर्जन बढी उत्कृष्ट प्रहार गरेका थिए ।

खेलमा नितेश पुन म्यान अफ दि म्याज घोषित भएका छन् । एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल आगामी फागुन १० गते हुने छ । प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताए । प्रतियोगितामा तिलोत्तमाका १७ वटै वडाबाट सहभागिता रहेको खेल संयोजक सुर्य चापागाईले जानकारी दिए ।