ताजा अपडेट »

कहिले सुध्रिन्छ परीक्षा नियन्त्रण कार्यालय ?

सोमबार, ०५ फागुन २०७६

बि.स. २०१६ सालमा स्थापना भएको नेपालको सबैभन्दा पूरानो र ठूलो विश्वविद्यालय हो, त्रिभुवन विश्वविद्यालय । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाँचवटा प्राविधिक शैक्षिक संस्था र चारवटा साधारण संकाय सञ्चालित छन् । यसले पचासवटा प्राविधिक शीर्षकमा प्रमाण–पत्र तहको शिक्षा दिइरहेको छ । त्यस्तै १०७९ शीर्षकमा स्नातक तथा १ हजार शिर्षकमा स्नातकोत्तर शिर्षकमा शिक्षा प्रदान गरिरहेको छ । यसका साथै यसले पीएचडीका लागि समेत विभिन्न शिर्षकमा प्राविधिक तथा संकायस्तरीय शिक्षा दिइरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ९३१ वटा निजी क्याम्पसले सम्बन्धन लिएका छन् । साथै देशभर यसका ६० वटा आङ्गिक क्याम्पसहरु रहेका छन् ।

नेपालकै सबैभन्दा जेठो र बढी विद्यार्थी संख्या भएको विश्वविद्यालयमा हामी सबैले सुन्दै र भोग्दै आएका धेरै समस्या रहेका छन्। त्यसमध्ये सबै जसो विद्यार्थीलाई परीक्षा नियन्त्रक कार्यालय बल्खुबाट सधै सास्ती हुने गरेको छ । कार्यालय भित्र च्याउ झैं रहेका कर्मचारिको व्यवहार मानौं कि सेवाग्राही विद्यार्थीहरु शत्रु हुन जसरी हुने गर्दछ। कर्मचारीहरु मानौं कि मालिक हुन जसरी प्रस्तुत हुने गर्दछन्। आफ्नो काम नै विद्यार्थीहरुको काम मा सहजता ल्याउनु हो भन्ने समेत हेक्का नगरी सोधपूछ तथा अन्य शाखामा कार्यरत कर्मचारीहरुमा नम्रता भन्ने व्यवहार नै छैन।दैनिक हजारौं विद्यार्थीहरुलाई सेवा दिन बसेका कर्मचारीको व्यवहार दशकौंदेखि उस्तै रहँदै आएको छ । परीक्षा नियन्त्रण कार्यालयले आफैले गरेको गल्ती समेत सच्याउन महिनौं अल्झाइदिने गर्नाले टाढा–टाढाबाट आउने विद्यार्थीहरु निकै समस्यामा पर्ने गर्दछन्।

विद्यार्थीको प्रवेश पत्रमा रजिस्ट्रेशन नम्बर रजिस्ट्रेशन स्लिप बमोजिम नै उल्लेख गरि परीक्षा आवेदन फाराम भरिएकोमा परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका कारण स्नातक तहका विद्यार्थीहरुको प्रथम,दोश्रो ,तेस्रो र चौथो खण्डका एउटा बाहेक सबै लब्धांक पत्रमा रजिस्ट्रेशन नम्बर गलत गराई नतिजा प्रकाशन गरियो। विद्यार्थीलाई त्यो कुरा थाहा भएन। स्नातक तह उत्तीर्ण भई ट्रान्स्क्रिप्टको लागि आवेदन दिई अन्तिम चरणमा ट्रान्स्क्रिप्ट पेन्डिङ्ग भनी पुनः लब्धाङ्क पत्रको प्रतिलिपी लिनु पर्ने भनी सास्ती दिइयो। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले गल्ती आफूले गर्ने अनि रजिष्ट्रेशन र लब्धाङ्क पत्र सच्चाउने नाममा एकातिर मोफसलका बिद्यार्थीलाई दुःख दिने र अर्कोतिर आर्थिक हानी। यो समस्याको समधान कहिले हुने? के परीक्षा नियन्त्रक कार्यालय विद्यार्थीको नतिजा प्रकाशन र प्रमाणपत्र सहज रुपमा प्रदान गर्न गठन भएको संस्था होइन र?

लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको देशकै अग्रणी र जिम्मेवार निकायको ढिलासुस्ती र लापरवाहीले विद्यार्थीलाई सास्ती मात्र होइन उनीहरुको शैक्षिक जीवनमा पनि असर पर्ने गरेको छ । यसतर्फ सरोकारवाला गम्भिर भई जिम्मेवार हुन आवश्यक छ । विश्वविद्यालय परीक्षा नियन्त्रक र सरोकारवाला निकायले यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ। विद्यार्थीको हक–हितका लागि भनेर गठन भएका विद्यार्थी संगठनहरुले यसतर्फ कहिले ध्यान दिएको देखिदैन । माउ पार्टीको पुच्छर होइन,विद्यार्थीको काममा सहजता ल्याउन विश्वविद्यालय परीक्षा नियन्त्रकमा हुने बेथिति अन्त्यका लागि विद्यार्थी संगठनहरुले ध्यान दिउन्। परीक्षा नियन्त्रकको लापरवाहीको अन्त्य होस् ।