फागुन ४,
सुमन केसी / ग्लोबल आवाज
दाङ । पछिल्ला वर्षहरुमा परम्परागत पेशा अपनाउन र स्वेदेशमै केही गर्नुभन्दा पनि विकसित मुलुकमा गई अध्ययन गरी उतै स्थापित हुन अधिकांश युवाहरु लालयित हुने गरेका छन् । तर, केही युुवाहरु भने प्रतिष्ठित पेशा र विकसित मुलुुकमा भन्दापनि स्वदेशमै कृषि पेशा लगाएत अन्य क्षेत्रमा केही गर्ने सोँचका साथ लागेको उदाहरणहरु सार्वजनिक हुने गरेका छन् ।
त्यस्तै उदाहरणहरु मध्ये पश्चिम नेपलमा अत्याधुनिक लोकल कुखुुरा उत्पादन गर्ने ह्याचरी सञ्चालन गर्ने दुई यूवाको जोडी एक हो । उनीहरुले दाङको तुलसीपुर–१३ फूलबारी दमारगाउँमा पश्चिम नेपालमै पहिलो पटक लोकल कुखुराको अत्याधुनिक ह्याचरी उद्योग सञ्चालन गरेका छन् । ब्रोइलर कुखुराका चल्ला उत्पादन जिल्लामा भएको भएपनि लोकल कुखुराको चल्ला उत्पादनको लागि भने दाङमा धेरै चल्ला उत्पादन गर्ने यो पहिलो ह्याचरी उद्योग भएको उनीहरुले बताएका छन् । रुकुम रुमुसीकोटका २६ वर्षिय राजन के.सी. र काभ्रेका २८ बर्षिय रामकुमार अधिकारी मिलेर २ करोड १५ लाखको लगानीमा लोकल कुखुरा उत्पादन गर्न ह्याचरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
लोकल कुखुराको माग अत्याधिक रहेको र व्यवसायिक रुपमा उत्पादन कमै मात्रामा हुने भएकाले आफूूहरुले एक वर्षको अनुसन्धानपछि दाङमा उद्योग सञ्चालन गरेको सञ्चालक के.सी.ले बतााए । के.सी.ले आफू डाक्टर पढ्दा–पढ्दै यो व्यवसाय तिर लागेको समेत बताए । २ वर्ष डाक्टर कोर्ष पढ्नको लागि फिलिफिन्स बसेको भएतापनि डाक्टरभन्दा पनि व्यवसायबाट नै राम्रो हुने भएकाले आफ्ना भिनाजु अधिकारीसँग मिलेर उद्योग सञ्चालन गरेको उनले बताए । ‘एमबिबिएसको अध्ययन गरेर लोकल कुखुरा उत्पादनको लागि ह्याचरी उद्योगमा लागेको छु’ उनले भने ‘युवाहरूले व्यवसायमा हात हाल्दा सकारात्मक सन्देश जाने छ ।
एमविविएस पढेर फर्किदा उनलाई चिकित्सक हैन किसान बन्ने सोंच भएपछि भिनाजुसँगको सहकार्यले पश्चिम नेपालकै नमुना र एकमात्रै लोकल कुखुरा उत्पादन केन्द्र स्थापना गरेको बताए । जिल्लामा पहिलो पटक स्थानीय जातका कुखुरा उत्पादनको लागि २ करोड १५ लाखको लगानीमा ह्याचरी र लोकल कुखुरापालन फर्म खोलेको अर्का सञ्चालक अधिकारीले बताए । करिब एक वर्ष अघिदेखि ‘राइसा ह्याचरी एण्ड पोल्ट्री फर्म’ सञ्चालनमा ल्याइएको उनले बताए ।
हप्तामा अहिले ५ हजार नयाँ चल्ला उत्पादन गर्दै आएको र माग बढि आएमा दैनिक पनि चल्ला निकाल्ने योजना रहेको उनले बताए । उनले आवश्यकता अनुसार लोकल कुखुराका सबै जात र प्रकारको उत्पादन एक थलोबाट गरिने बताए । उनले आफ्नो यो उद्योग चितवन पश्चिममा एकमात्र रहेको बताए । यसबाट केही महिनादेखि आम्दानीसमेत सुरू भएको उनले बताए । फर्ममा स्थानीय जातको न्यूहेम्सायर रातो, अष्ट्रोलयर कालो, साकिनी क्रस, ग्रामीण रैथाने लोकल, कटकनाथ, फाइटर, टर्की, लौकाठ, बट्टाईका साथै विदेशी विभिन्न प्रकारका कुखुराहरू रहेका छन् । त्यस्तै गरेर साकिनी, प्याँख उल्टे, घाँटी खुइलेलगायतका रहेका छन् ।
कुखुरापालन र उत्पादन त्यो पनि स्थानीय जातको योजनासहित उद्योग सञ्चालनमा ल्याएको र युवाहरूको सक्रियता भएपछि कृषिमा आफूले प्रेरणा थपि दिएको राजनका बुवा नैन के.सीले बताए । उनले कृषिमा छोराको रूची बढेपछि एमबिबिएस पढेर यो व्यवसायमा लाग्न सहमति भएको बताए । पारिवारिक लगानीसहित बैंकको लगानीमा उद्योग सञ्चालनमा आएको उनले बताए । ह्याचरीबाट उत्पादित चल्लाहरू प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा जाने गरेका छन् । स्थानीय उत्पादनलाई जोड दिने उद्देश्यले लोकल कुखुरा उत्पादन सुरू गरेको उनीहरुले बताए ।
प्रतिक्रिया