फागुन ४,
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका हुन् ।
“हामी सबै एउटै तरिकाले लाग्नु पर्दछ, नकी एक्ला एक्लै,” उनले जोड दिएर भने । उनले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुेमा पनि जोड दिए । रोगको महामारी विरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गरे । उनले त्यसका लागि लगानी गर्नु पर्ने बताए । विश्वमा आतङ्कवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उनले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गरे । महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनु पर्ने खाँचो रहेको उनको भनाइ छ । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका रहेका छन् । थप मृत्यु भएका मध्ये १३९ जना हुवेइ प्रान्तका रहेका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना रहेका छन् । चिनियाँ स्वास्थ्य आयोगका अधिकारीहरुले शनिबार मात्रै थप १९ सय १८ जना नयाँ सङ्क्रमणको आशंका गरिएको छ । सङ्क्रमितमध्ये २१९ जना शनिबार थप गम्भीर विरामी भएका छन् भने १३ सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् ।
कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या अहिलेसम्म ६५ हजार ५०० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ११ हजार २७२ जनाको अवस्था सुधार उन्मुख रहेको पनि बताएका छन् । त्यसैगरी ८ हजार २२८ जनामा आशंका गरिएको छ । सङ्क्रमित भएर उपचार गराइएका मध्ये अहिलेसम्म ९४ हजार १९ जना उपचारपछि घर फर्किएका छन् । आयोगले ५ लाख २९ हजार ४ सय १८ विरामी नियमित सम्पर्कमा रहेको जनाएको छ ।यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।- सिन्ह्वा
प्रतिक्रिया