ताजा अपडेट »

लिभरपुललाई २५ अंकको अग्रता

आइतबार, ०४ फागुन २०७६

फागुन ४,

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले २५ अंकको अग्रता बनाएको छ । शनिबार राति लिग लिडर लिभरपुलले नर्विचलाई १–० ले हराएसँगै फराकिलो अग्रता बनाएको हो । लिभरपुलको जितमा साडियो मानेले निर्णायक गोल गरे । मानेले कप्तान जोन हेन्डेरसनको पासमा गोल गरेका हुन् ।

लगातार १७ औं जित हात पारेको लिभरपुलको यस सिजनको यो २५ औं जित हो । यस सिजन एकमात्र बराबरी खेलेको लिभरपुलले २६ खेलबाट ७६ अंक जोडेको छ । लिभरपुललाई अब उपाधि पक्का गर्न बाँकी रहेको १३ मध्ये ५ खेल जिते पनि पुग्छ । दोस्रो स्थानको सिटीको २५ खेलबाट ५१ अंक मात्र छ ।