फागुन १,
ग्लोबल आवाज
बुटवल ।बुटवलमा एकैदिन झण्डै सात हजार जनालाई दादुरा–रुबेला खोप तथा पोलियो थोपा खुवाइएको छ । आठवटा केन्द्रहरुमा गरी यो संख्यामा खोप र पोलियो थोपा खुवाइएको बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाले जनाएको छ । तीन हजार सात सय जनालाई दादुरारुवेला र तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइएको छ ।
पहिलो दिनको अभियानमा नै उत्साहजनक सहभागिता आएको छ । बुटवलका प्रमुख शिवराज सुवेदीले बुटवल ११ देवीनगरस्थित नवीन माविमा रहेको केन्द्रमा खोपको सामग्री हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका थिए । त्यसअवसरमा उनले प्रभावकारी र सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिए । बालबालिकालाई स्वास्थ्यकर्मीहरुसंगै प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा तथा शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले पोलियो विरुद्धको औषधि खुवाए । उनीहरुले बालबालिकाको स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिंदै होसियारीक साथ सेवा प्रदान गर्न आग्रह गरे । बुटवलमा सुरु भएको यो अभियानमा ४० जना तालिमप्राप्त स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरुसंगै ३० जना स्वास्थ्य स्वयमसेविका र टोलविकास संस्थाका सदस्यहरुले सहकार्य गरेको स्वास्थ्य शाखाका कर्मचारी गीता पाण्डेयले बताए ।
रुपन्देहीमा तीन चरणमा एक लाख नौ हजार ७९९ बालबालिकालाई दादुरा–रुबेला र एक लाख ३० हजारलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ । फागुन १ देखि ९ गतेसम्म सात पालिका, फागुन १३ देखि १७ एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म आठ पालिकाका ८१४ खोपकेन्द्रमा पोलियो थोपा तथा खोप लगाइने बताइएको छ । त्यसका लागि ९२८ कर्मचारी र एक हजार ६२८ स्वयंसेवक परिचालन भएको स्वास्थय कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।
प्रतिक्रिया