ताजा अपडेट »

प्रथम गैडहवा महोत्सव सुरु : प्रमुख पर्यटकिय गन्तव्य बनाउन जोड

विहीबार, ०१ फागुन २०७६

फागुन १,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको गैडहवा ताललाई प्रदेशकै प्रमुख पर्यटकिय गन्तव्य बनाउन त्यस ठाउँसम्म पुग्ने सडकलाई फराकिलो र धुलो रहित बनाउन प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले सुझाब दिएका छन् । ताल वरिपरि निर्माण गर्न थालिएको साढे तीन किलोमिटर सडकलाई १२ मिटर चौडाईको बनाउन सुझाव दिंदै मुख्यमन्त्री पोखरेलले सो सडकको कालोपत्रे प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए ।

‘गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष, २०२० सफल पारौं, बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैंडहवा ताल महोत्सव २०७६ सफल पारौं, हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो शान’–भन्ने नारा सहित आयोजना गरिएको गैडहवा महोत्सवको बिहिबार उद्घाटन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । जिल्लाकै ठूलो गैडहवा ताललाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन विकास गर्नका लागि तालको दिगो संरक्षण र प्रचारप्रसार गर्न आवश्यक रहेको पोखरेलले बताए । तालको क्षेत्रफल र जलाशय नघटाई पूर्वाधार बनाउन सुझाव दिंदै मुख्यमन्त्रीले भैरहवाको अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकलाई गैडहवा तालसम्म आकर्षित गर्न ताल क्षेत्रमा स्तरीय होटल र रिसोर्टमा लगानी गर्न सुझाए । रुपन्देही ५ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले गैडहवा तालको पर्यटन विकासका लागि संघीय सरकारले ४१ करोड रुपैयाँको गुरुयोजना बनाएको र चालु आर्थिक वर्षमा ४० लाख वजेट विनियोजन भएको बताए । आन्तरिक र वाह्य पर्यटकलाई तालसम्म आउने सडकको पहुँच बढाउन सडकका योजनालाई प्राथमिकतामा राखेको उनले बताए ।

गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षको अवसर पारेर ताल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक ताल महोत्सव आयोजना गरिएको बताए । तालको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले ३० लाख बजेट छुट्टाएर महोत्सव आयोजना गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने बताए । महोत्सव उद्घाटनमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेश सभा सदस्य फखरुद्दिन खान, सन्तोष पाण्डे, भूमिश्वर ढकाल, विष्णु पोखरेल र मोहम्मद इस्लामले गैडहवा ताललाई प्रदेश ५ कै नमूना पर्यटकीय स्थल र रुपन्देहीको ‘फेवा ताल’ बनाउन सकिने भन्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयमा काम गर्न सुझाव दिए । दश दिन भन्दा बढी चल्ने महोत्सवमा एक लाख दर्शकलाई अवलोकन गराउने र एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबारको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमरेले बताए ।