माघ २९,
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा एक सय जनाभन्दा धेरैमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि गाउँपालिकाका एक सय जनाभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
भाइरल ज्वरोको प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली बिरामीका लागि आवश्यक पर्ने औषधि र माक्स बोकेर आज त्यसतर्फ जाँदैछ । ‘एकजना बिरामी पर्ने वित्तिकै पुरै परिवारमा फैलिरहेको छ, ‘कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाले पनि स्थानीय त्रसित भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।’ विरामीहरुमा टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी, श्वास प्रश्वासमा कठिनाईलगायतका समस्या देखिएको श्रेष्ठको भनाइ छ ।
यस्तै गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य परीक्षणको लागि विशेषज्ञसहितको टोली पठाउन अनुरोध पनि गरिसकेको छ । मन्त्रालयले बुधबार यसबारेमा थप छलफल गर्ने भएको छ । बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन पनि सबैसँग अनुरोध गरेका छन् ।
प्रतिक्रिया