ताजा अपडेट »

स्ववियु निर्वाचन एक महिना सर्ने

मंगलबार, २८ माघ २०७६

माघ २८,

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ । निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्वनिर्धारित कार्यतालिकामा निर्वाचनको सम्भावना टरेको हो ।

यस बीचमा विश्वविद्यालयले निर्वाचन तयारीका विषयमा मातहत क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यार्थी सङ्गठनसँग छलफल गरे पनि निर्वाचनका लागि वातावरण बन्न सकेन । नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले रिक्त पदाधिकारी नियुक्ति गरेर अगाडि बढ्न विद्यार्थी सङ्गठनले माग गरेको बताए । नेविसंघ केन्द्रीय समिति गठन भइसकेको अवस्थामा निर्वाचनमा जान आफूहरूलाई कुनै समस्या नहुने उनको भनाइ छ । नयाँ मिति तय गरेर निर्वाचनमा जान संघ तयार रहेको उनले जानकारी दिए ।

अनेरास्ववियुका संयोजक ऐन महरले पनि सबै क्याम्पसमा निर्वाचन हुने तर पूर्व निर्धारित कार्यतालिका भने झण्डै एक महिना पर सर्ने अवस्था रहेको बताए । नेविसंघले एक महिना हाराहारीको समय तयारीका लागि चाहिन्छ भनेकाले चैत दोस्रो सातातिर निर्वाचन हुने संयोजक महरको भनाइ छ ।

उनले सहमतिका आधारमा कार्यतालिकासहितको स्ववियु निर्वाचन मिति घोषणा गरिने र विश्वविद्यालयसित केही दिनमा नै यस विषयमा सहमति हुने बताए । नेविसंघको नयाँ केन्द्रीय समितिसँग यस निर्वाचनको विषयमा छलफल भएको उनले उल्लेख गरे । -गोरखापत्र