माघ २७,
ग्लोबल आवाज
बुटवल । त्रिकोणात्मक प्रेम कथामा अधारित नेपाली चलचित्र ‘ लभ डायरीज’ प्रणय दिवसका दिनबाट प्रदर्शनमा आउँदैछ । फेबू्रअरी १४ (फागुन २) गते भ्यालेण्टाइन दिवसको अवसरमा देशभर प्रदर्शनमा आउने चलचित्रको प्रचार–प्रसारमा देश दौडाहामा निस्केको चलचित्रको टोली सोमबार बुटवल आएको हो ।
चलचित्र पत्रकार संघ,रुपन्देहीको अयोजनामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै चलचित्रका निर्माता र मुख्य कलाकारहरुले चलचित्र बारे जानकारी दिएका हुन् । सो अवसरमा निर्माता मोती कार्कीले करिब सवा करोडमा बनेको चलचित्र समय सापेक्ष रहेको दावी गरे । त्यसैगरी चलचित्रका मुख्य नायक सुशिल श्रेष्ठले प्रेममा आधारित चलचित्र भएको बताउँदै चलचित्रले सामाजिक सन्देश र युवालाई दायित्वबोध गराउने बताए । चलचित्रकी नायिका रुबिना थापाले चलचित्रले युवायूवती बीचको प्रेम मात्र नभई समग्र वर्ग बीचको प्रेम र सामाजिक सम्बन्धलाई समेटेको बताउँदै दर्शकको साथको अपेक्षा गरिन् ।
चितवन,पोखरा,काठमाण्डौं र मनाङमा छायांकन गरिएको चलचित्रमा अर्का कलाकार विश्वजित रिमालको पनि मुख्य भूमिका रहेको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्र ‘लभ डायरीज’को कथा मधु बास्कास्तोलाले लेखेका हुन् भने विनोद सापकोटा मुख्य निर्माता रहेका छन् । पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ,रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र सचिव मोहन न्यौपानेको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया